कुरो प्रेम भर्सेज गितको
19-October-2016

सफल चलचित्रको रुचाइएका जोडीबीच रिलमा प्रेम भए पनि रियलमा पानी बाराबार हुँदाको बेफाइदा नभएर फाइदासमेत हुँदो रहेछ । गत वर्षको सफल एवं चर्चित प्रेमकथात्मक चलचित्र ‘प्रेमगीत’का प्रेम अर्थात् नायक प्रदीप खड्का र गीत अर्थात् नायिका पूजा शर्माबीच राम्रो सम्बन्ध छैन । सम्बन्ध नराम्रो हुँदा घाटा हुन्छ भनिन्छ, तर त्यसको फाइदा यी दुवैलाई छ । 

‘प्रेमगीत’ का निर्देशक सुदर्शन थापा र निर्माता सन्तोष सेनबीच पानी बाराबार भएपछि सुदर्शनकी नजिक पूजा र सन्तोषका नजिक प्रदीपबीच पनि सम्बन्ध राम्रो छैन । यदि सम्बन्ध राम्रो भएको भए ‘प्रेमगीत टु’मा यी जोडी दोहोरिन्थे होला, तर निर्माता सन्तोषले निर्देशक रामशरण पाठक र नायिका अश्लेषा ठकुरीलाई लिएर ‘प्रेमगीत टु’ घोषणा गरे, जसमा नायक भने प्रदीप खड्का छन्, त्यो पनि ७ लाख पारिश्रमिकका साथ । 

अर्कातर्फ हालै आबुधाबीमा निर्देशक सुदर्शन थापाले नायिका पूजालाई लिएर ‘प्रेमगीत’को शीर्षगीतलाई नै शीर्षक बनाएर चलचित्र ‘यस्तो गीत गाउँछु’को घोषणा गरे जसमा पूजाका नायक पल शाह हुनेछन् । भनेपछि सन्तोष र सुदर्शनबीचको पानी बाराबारले नयाँ नायिका अश्लेषा ठकुरी र नायक पल शाहलाई पो फाइदा भयो । दर्शकले पनि दुई किसिमको प्रेमकथा पर्दामा हेर्न पाउने भए । बरु बाजी पो कसले मार्ने हो ?

Write a Comment

Events
Random Picks