एउटा टोपी जसले जोड्दैछ ५० लाख नेपालीलाई
25-October-2016

डाँफे, लालिगुँरास, चन्द्र, सूर्य, सगरमाथा र धरहरा अंकित नेपालको पहिचान दिलाउने क्याप टोपीले विदेशी भू–भागमा श्रम गरिरहेका ५० लाख नेपालीलाई जोड्दैछ । यो कमालको क्याप यतिबेला पूर्वप्रधानमन्त्री, प्रधानमन्त्री देखि उच्च ओहोदाता व्यक्तिको शिरमा परिसकेको छ ।

आइतबार भने यहि टोपी रंग पत्रकारको शिरमा लगाइयो । हो, ‘परदेशीको उमंग’ नामक फिल्मले यतिबेला एउटा अभियानै सुरु गरेको छ । नेपाल र नेपालीको प्रतिनिधित्व गर्ने यो क्याप टोपी केही समय पहिले अष्ट्रेलियामा फिल्मको प्रिमियर गर्दा समेत बाँडिएको थियो ।

विदेश बस्ने नेपाली युवाको संघर्षको कथालाई पर्दामा चित्रण गर्न खोजेको यो फिल्मले नेपाल प्रदर्शन अगावै अष्ट्रेलियाबाट सकारात्मक प्रतिक्रिया बटुलेको छ । साथै निर्माण यूनिटले विदेशका हरेक शोजहरुमा फिल्म सँगै नेपालको चिनारी दिलाउने क्याप टोपी वितरण गर्ने कार्यक्रम राखेको छ । सिड्नीमा गरिएको प्रिमियर पछि मेलबर्नबाट समेत फिल्मको माग बढेको निर्माण यूनिटले प्रेस मिटमा बताएको थियो । मेलबर्नमा नोभेम्बर २८ तारिखमा यो फिल्म प्रदर्शन गरिने भएको छ ।

कात्तिक १२ देखि नेपाल प्रदर्शन थाल्ने यो फिल्म तिहार लक्षित फिल्म हो । अधिकांश सुटिङ दुबईमा गरिएको फिल्मको अर्को सबल पक्ष भनेको गीत संगीत पनि हो । कुमार विसीले आफू विदेश जादा भोगेको सत्य घटनालाई फिल्ममा प्रस्तुत गरेका छन् । आफ्नै कथामा बनेको फिल्ममा उनी आफै शीर्ष भूमिकामा देखिएका छन् । विदेश जानु पूर्व एक नेपालीले मन भरि उमंग लिएर उडान भरे पनि अरुको देशमा पुग्दा सोचे अनुरुपको काम र स्वतन्त्रता ज्यादै न्यून पाउने कुरालाई फिल्मले उठान गरेको छ । नृत्य निर्देशनमा पारङ्गत शिव शर्माले फिल्मको निर्देशन गरेका हुन् ।

Write a Comment

Events
Random Picks