लुट २ मा नाच्ने मात्र हो कि अरु भूमिका पनि छ? : ‘ठमेल बजारकी सुन्दरी’ उर्फ एलिसा राई
14-November-2016

 घिन्ताङ...।
 
मादल होस् या अरु बाजा। जब यी बाजा तालमा रन्किन थाल्थे, उनको हातखुट्टाले पनि आफ्नै लय समात्न थाल्थे। शरीर लच्किन सुरु भइहाल्थ्यो।
 
कुन उमेरबाट नाच्न थालिन्? ‘ठमेल बजारकी सुन्दरी’ उर्फ एलिसा राईलाई ठ्याक्कै थाहा छैन। उनी अनुमानचाहीँ लगाउन सक्छिन्, टेलिभिजनमा देखाइने नृत्यले उनलाई सानै उमेरमा लोभ्याएको थियो। उनले टेलिभिजनकै सिको गरिन्। र, अन्दाजी ६÷७ वर्षदेखि चल्न सुरु भए पैताला। लच्किन थाल्यो शरीर। कुनै गीत बजोस् या बाजा, उनका शरीर यसै–यसै चलमलाउन थाल्थे।
 
राई समुदायमा जन्मिएकी, काठमाडौंमा हुर्किए पनि किराती सँस्कृतिले उनलाई सानै उमेरमा ग्वाम्लाङ्ङै अँगालो हालेछ। काठमाडौंमा किरात सँस्कृतिको जगेर्नाका लागि बिभिन्न समुह खुलेका थिए। उनी कसो–कसो त्यस्ता समुहमा घुलिन पुगिन्। किराती पर्व होउन् या सामाजिक सेवाका लागि सहयोग रकम उठाउन गरिने देउसी–भैलो। छरितो नृत्य गर्न जान्ने एलिसा त्यस्ता समुहको पासोमा परिन्। जहाँ जाँदा पनि त्यस्ता समुहले एलिसालाई उम्किन दिन्थेनन्। यसरी नाच्दानाच्दा उनलाई नृत्यको औपचारिक कक्षाको खाँचो पनि परेन। तैपनि उनी देशका चल्तीका लोकनाचमा आफ्नो शरीरलाई जता पनि ढाल्न सक्छिन्।
यसरी समुहमा नाच्दा पछि त यस्तोसम्म बानी बसेछ कि, एक्लै त नाच्नै नजान्ने। ‘एक्लै नाच्नै आउँदैन अहिले त,’ युट्युबमा ठमेल बजार गीत रिलिज भएको केही दिनपछिको भेटमा एलिसाले भनिन्, ‘सानोमा नाच्दा अरुको ताली र स्यावासी नपाएसम्म नाचेको धित नै मर्दैनथ्यो। नाच्दा वरीपरी दुई/चार जना हुनैपर्छ। कि मान्छेको सट्टा अगाडि–पछाडि क्यामरा भए पनि हुन्छ।’

 

अचेल समुहमा कम, उनी क्यामरामै अभ्यस्त भइसकेकी छन्। झन्डै पाँच दर्जन म्युजिक भिडियो र युट्युबका लागि बनाइएका दुई दर्जन सर्ट फिल्ममा उनको अभिनय र नृत्य कैद भइसकेको छ। उनी युट्युबबाटै चर्चित भइसकेकी थिइन्, ब्लकबस्टर फिल्म ‘लुट’को सिक्वेलको क्यामरा उनका चारैतिर तेर्सिए। र, वर्षौंदेखि खारिएको उनको नृत्य कौशलतालाई ‘आइटम गीत’ सँग घुलाएर युट्युबबाट खन्याइयो।
 
अहिले त उनलाई क्यामराले नै बढी प्रेम गर्न थालेछ। कसरी भने, स्क्रिनमा देखिने र वास्तविक एलिसामा निकै भिन्नता पाइन्छ। ठमेल बजारमा याद गर्नुभयो होला, उनी निकै ‘बोल्ड’ लाग्छिन्। वास्तविकतामा उनको अनुहार बच्चाको जस्तो कलिलो लाग्छ। त्यसैले म्युजिक भिडियो निर्देशकहरु पहिलो भेटमा अपत्यारिलो भावमा भन्दा रहेछन्, ‘बच्चै रहेछ्यौ त। हामीलाई अलि बोल्ड क्यारेक्टर चाहिएको हो।’ जब  क्यामरामा कैद भएर स्क्रिनमा देखिन्छिन्, पहिले यसो भन्ने निर्देशक छक्क पर्दै भन्दा रहेछन्, ‘बाफ रे!’

 

खैर, वास्तविकतामा निकै फरक ‘लुक्स’ भएर पनि एलिसाले ‘ठमेल बजार’बाट लाखौंलाई लठ्याइसकेकी छन्। पचासौं म्युजिक भिडियो, दर्जनौं सर्ट फिल्मबाट हिट भइसके पनि एउटै गीतबाट उनको परिचय फेरिएको छ, ‘ठमेल बजारकी सुन्दरी।’
उनै ठमेल बजारकी सुन्दरी उर्फ एलिसा कुनै समय ‘एकादेशकी सुन्दरी’ थिइन्। तर, यी सुन्दरी ठमेलका चम्किला बारकी नृत्यांगना थिइनन्, किराती किंवदन्तीअनुसार आदिम सभ्यताको संघर्षकी एक पात्र। न यो क्यामराले बनाएको थियो न त कुनै फिल्म या म्युजिक भिडियो निर्देशकले नै। उनलाई कल्पनाको संसारको एकादेशकी सुन्दरी बनाइदिएकी थिइन् उनकी बुढी हजुरआमाले।
 
एकादेशमा...
 
एलिसाका बाआमा काममा व्यस्त हुँदा उनी रोएको बेला बोजुले (हजुरआमा) कथा हालेर फुल्याउँथिन्। मानिसले यथार्थ जीवनमा देखेभन्दा परको संसारमा डुलाउन लैजान्थिन्। एकादेशमा... भन्दै सुरु हुने कथामा देवता–दैत्यको युद्ध, राक्षस र मानिसबीचको द्वन्द्वका कुरा हुन्थे। बोजुको वर्णन नै यस्तो थियो कि, उनलाई लाग्थ्यो, ती कथा काल्पनिक होइनन्। वास्तवमै घटेका हुन् र बोजु त्यस घटनाको साक्षी हुन्।
 
यसरी कथा हाल्ने क्रममा बोजुले किराती सभ्यताको कथा सुनाउन थालिन्। धर्तीमा मानिसको उत्पत्ति कसरी भयो, उनीहरुले बाँच्नका लागि के–कस्तो संघर्ष गरे? यस्तै यस्तै। यस्तै कथामा थियो, ‘बिनायो’ शीर्षकको कथा।
 
पूर्वी पहाडको लोकप्रिय बाजा बिनायोसँग जोडिने यो कथा किराती किंवदन्तीअनुसार मानिसको संघर्षकै कथा हो। दुई दिदीबहिनी र एक दाइको कथा। हजुरआमाले सुनाएको कथामा ‘खुसे’ नामकी कान्छी बहिनी चुलबुले, टाठी, अलिअलि जिद्दी, जिज्ञासु स्वभावकी थिइन्। सँगै सुन्दर पनि।
 
हुर्किंदै जाँदा एलिसा आफूलाई सुन्दर मान्न थालिसकेकी थिइन्। दिमागमा हजुरआमाको कथाको प्रभाव थियो। एलिसालाई लाग्न थाल्यो, बिनायो कथाकी कान्छी बहिनी त मैै हुँ। ‘सानैदेखि नै मेरो स्वभाव नै कथाकी खुसेको जस्तै थियो,’ एलिसाले सुनाइन्, ‘हो कि, कथाको प्रभावले म त्यस्तो भएँ? कहिलेकाहीँ सोचिबस्छु।’
 
कथा सुनाउँदै गर्दा जीवन–जगतका यस्ता रहस्यमयी कुराहरु सुन्ने चासो नातिनीमा पाएपछि उनकी बोजुले कथामा संस्कारका कुरा पनि घुलाउन थालिन्। र, विस्तारै राई भाषा, सँस्कृति पनि। आफ्नो पुर्खाको थातथलो नदेखिकनै उनले पुर्खाको भाषा सिकिन्। बोजु भन्ने गर्थिन्, ‘आफ्नो संस्कृतिलाई माया गर्नुपर्छ कान्छी। आफ्नो संस्कृतिलाई माया गर्न जान्नेले सबैलाई माया गर्न जान्दछ।’ उनका बाआमा पनि यसै भन्थे।
 
काठमाडौंका किराती संघ–संगठनका साँस्कृतिक कार्यक्रमतिरको झुकाव  पनि परिवारबाटै बसेको रहेछ। सुरुमा टेलिभिजनमा आउने नाचगानबाट मोहित भएपनि पछि कार्यक्रममा नाच्न थालेपछि नेपालका प्रायः लोकनाच जान्दछिन्।
 

सानो छँदा के बन्ने भन्ने ठोस सपना नभएपनि टेलिभिजनको प्रभावले उनको लक्ष्य टेलिभिजनमा कार्यक्रम चलाउने भन्नेचाहीँ बनेको रहेछ। तर, यो क्षेत्रमा उनले चिनेजानेका कोही थिएनन्। तैपनि उनले संघर्ष गर्नै परेन, नाच्न जानेकै कारण एसएलसी दिएकै वर्ष, १६ वर्षको उमेरमा फिल्ममा नायिकाको भूमिका पाइन्। ‘इच्छा भए आफैं बाटो बन्दो रहेछजस्तो लाग्छ अचेल,’ उनले सुनाइन्।
 
एकछिन सोच्नुस् त! जसको कथा सुनेर हुर्कियो, जुन पात्रलाई आफू ठान्छ, फिल्ममा पनि त्यसकै अभिनय गर्न पाउनु कस्तो संयोग होला? कति खुसीको कुरा होला?हो, त्यही बिनायो कथाकी चुलबुले सुन्दर कान्छी बहिनीको भूमिका एलिसालाई मिलेको थियो। किराती किंवदन्तीमाथि बनाउन लागिएको फिल्मको प्रस्ताव आएपछि बाआमाले नाईंनास्ती गरेनन्। भर्खरै हुर्किएकी छोरीलाई सुटिङका लागि खोटाङ पठाइदिए।
 
त्यो ठाउँ थियो, उनकै पुर्खाको थातथलो। हजुरआमाको कथामा पटक–पटक सुनिरहेको त्यो ठाउँमा एलिसा पहिलोपटक पुगेकी थिइन्। सुटिङ थियो, माथि लेकमा। हिँडेर दुई दिनको बाटो। चिसो। न त बिजुली बत्ती नै। यस्तो हुँदा पनि सुरुमा त उनलाई मजा लिँदै गइन्, हजुरआमाले सुनाएका कथाका पात्र ती ठाउँमा खोज्न थालिन्। जब सुटिङ हुने ठाउँ पुगिन्, चारैतिर हरियाली, बादल पनि आफूभन्दा तल देखिने।
 
कुनै फिल्मकी हिरोइनले सल या साडीको फेरो उडाउँदै होस् या दुईहातबीच बाख्राको पाठो च्यापेर खेलाउँदै नाचेजस्तो। एलिसालाई यस्तै गर्न मन हुन्थ्यो। यसो पनि लाग्थ्यो, चिल बनेर तल देखिएका बादलमाथि उडुँ! यी त फगत कल्पना थिए! कल्पनाको उडान त मजै हुन्छ। जब यथार्थको जीवन बाँच्नुपर्ने भयो, सहरमा हुर्किएकी एलिसाका लागि त्यो ठाउँ कम्ति सकसपूर्ण थिएन।
‘जुका कति धेरै पर्ने के,’ एलिसाले भनिन्, ‘सुरुमा त म चिच्याउँथेँ अनि निर्देशक दाइ दौडेर आएर हटाइदिनुहुन्थ्यो। पछिचाहीँ बानी प¥यो, आफैं टिप्न थालेँ।’अर्कातिर जीवनमै पहिलोपटक क्यामराअघि अभिनय गर्न लागेकी एलिसालाई त्यो सुटिङ बच्चा छँदा खेल्ने भाँडाकुटीजस्तो लागेछ। कल्पनामा त खुबै रमाएकी एलिसालाई त्यतिबेला लाग्यो, सोच्नु र गर्नुमा धेरै अन्तर रहेछ।

 

सुटिङ के हो भन्ने बुझ्दा–नबुझ्दै, मजा लिन नपाउँदै सुटिङ सकियो। च्यारिटी शोहरु भए। उनका बाआमाले पनि हेरे। फिल्म हेर्दा छेउमै बसेकी आमा सुँकसुकाउन थालिछन्। उनी भने हाँसो थाम्न नसकेर मुखलाई जबरजस्ती ट्याप्प पार्ने जोड गर्थिन्।
 
‘मलाई त साह्रै लाज लाग्यो,’ उनले आफ्नो पहिलो फिल्मको अनुभव साटिन्, ‘सुटिङ गर्दा त मलाई केही नै थाहा थिएन। फिल्म हेर्दा पनि के गरेछु जस्तो भयो।’
 
यो फिल्म खेलेपछि दुई वर्ष विज्ञान विषय लिएर पढ्न थालिन् र फिल्मी दुनियाँबाट टाढै रहिन्। पछि म्युजिक भिडियोमा अफर आउन थाले। युट्युबमा उनले खेलेका ‘लभ इन युएन पार्क’ जस्ता सर्ट फिल्म लाखौंपटक हेरिएका छन्। उनी हिट भइन्। बाटोमा हिँड्दा पनि ‘सेल्फी लिउँ न’ भन्नेहरु भेटिन थाले।
 
एकदिन एक्कासी ब्ल्याक हर्स पिक्चर्सबाट ‘लुट २’ का सहायक निर्देशक अनील खड्काले फोन गरेर सोधे, ‘तपाईं डान्स गर्नुहुन्छ नि, हैन?’ उनले ‘हो’ भनेपछि खड्काले अफिसमा डाके। तर, उनको मन खुसी कम, छटपटी बढेछ। ‘लौ अब कसरी पो भेट्ने होला जस्तो भयो,’ उनले त्यतिबेलाको छटपटी सुनाइन्, ‘दया दाइ, सौगात दाइहरु खेल्ने फिल्मबाट मलाई किन बोलाएको होला जस्तो लाग्यो।’
 
केही दिनपछि बोलाइएको ठाउँमा एलिसा पुगिन्, जहाँ निश्चल बस्नेत भेटिए। बस्नेतले उनको पारिवारिक पृष्ठभूमिदेखि अन्य थुप्रै कुरा खोतले। अनि भने, ‘हामी लुट २ बनाउँदैछौं। त्यसमा एउटा आइटम गीत छ। तिमी नाच्न तयार छौ?’ एलिसाको दिमागमा एक्कासी ‘उध्रेको चोली’ की सुष्मा कार्की नाच्न थालिन्। उनले शंका जनाउँदै संकेतमा अपुरो वाक्य बोलिन्, ‘त्यस्तो केही...?’
 
 
‘आफू कतिसम्म खुल्ने भन्ने तिमीमा पनि डिपेन्ड हुन्छ। हामी तिमीलाई भल्गर देखाउँदैनौ, ढुक्क होउ।’ लुट उनलाई निकै मन परेको फिल्म थियो। निश्चलको बोलीले उनमा विश्वास पलायो। निश्चलले अडिसन लिए। नर, तुरुन्तै पास–फेलको नतिजा भने दिएनन्। अडिसनसँगै उनले एलिसासँग सर्त पनि राखे, ‘भोलि खिचिसकेपछि यो काट, ऊ काट भन्न पाउँदैनौ नि। परिवारलाई मनाउ पहिले।’
 
परिवारले त्यो जिम्मा एलिसाकै भागमा छोडिदियो। लुट २ मा उनी छानिएको खबर पनि आयो। ‘यस्तो हुँदा पनि म खुसी थिइनँ,’ एलिसाले भनिन्, ‘खुसी त थिएँ, तर मनमा के गर्ने, कसो गर्ने जस्ता कुरा खेलेर खुसी भन्ने कुरै हराएको थियो।’
 
लुट २ को गीतका लागि डान्सबारमा नाच्नुपर्ने दृश्य थियो तर, त्यतिबेलासम्म एलिसाले डान्सबार नै देखेकी रहिनछन्। लुटमा पाण्डेको भूमिकाबाट चर्चित बनेका सुशीलराज पाण्डेले ठमेल घुमाउन लगे। ‘मलाई त्यहाँभित्र छिरेपछि तिहार आएजस्तै लाग्यो,’ उनले सुनाइन्, ‘त्यहाँ नाच्नेहरुचाहीँ देउसी–भैलो खेलिरहेजस्ता।’


लुट २ मा नाच्ने मात्र हो कि अरु भूमिका पनि छ?
 
कुराकानीका क्रममा धेरै बेर उनी कुरा नखोल्ने र हामी खोस्ने अभ्यासमा लागिरह्यौं। उनले ‘त्यो कुरा सस्पेन्स’ भनिरहँदा हामीले अड्कल काट्यौं। पछि त उनले पनि अड्कलेरै भएपनि कुरा खोलिन्, अरु भूमिका पनि रहेछ।
 
नाच र भूमिकाका लागि चरित्र बनाउन सबैभन्दा बढी सहयोग बुद्धि तामाङले गरेछन्। प्रवीण खतिवडा, दयाहाङ राई, सौगात मल्ल, सुशीलराज पाण्डेको सहयोगले अभिनय गर्न निकै सजिलो भएको उनको अनुभव छ। चरित्रका लागि फिल्महरु हेरिछन्, ठमेल घुमिछन्। यस्तो गर्ने सल्लाह यिनै अभिनेताले दिएका थिए।
 
‘दाइहरुले सहयोग नगर्नुभएको भए मैले त गर्नै सक्थिनँ,’ उनी भन्छिन्, ‘त्यत्रो हिट फिल्मको सिक्वेलमा मैले थोरै मात्र गल्ती गरेँ भने फिल्मलाई नै ठूलो असर पर्छ भन्ने लागिरहन्थ्यो। मलाई बीचमा एकपल्ट छोडौंजस्तो लागेर ममीलाई पनि भनेको थिएँ। ममीले ढाडस दिएपछि मात्र खेलेँ। अहिलेचाहीँ एक्टरले यसरी गम्भीर हुनुपर्ने रहेछ जस्तो लाग्छ।’
 
ठमेलमा तीन दिनको सुटिङ सकिएपछि दयाहाङले म्यासेज लेखेछन्, ‘काम राम्रो भयो फुच्ची।’‘चर्को लाइटले खलखली पसिना आउने, ढाडको ट्याटु मेटिएर हैरान, खुट्टाभरी फोका उठेको थियो,’ उनले सुनाइन्, ‘गीतको भिडियो हेर्दा मलाई मेरो दुःख मात्र याद आउँछ। तर, दया दाइले यसो भनेपछि सबै दुःख बिर्सिएँ।’
 
समय बित्दै जाँदा, एकपछि अर्को भोगाई, नयाँ–नयाँ मान्छसँगको भेटले मानिसमा थप परिपक्वता बढाउँदै लैजान्छ। एलिसा म्युजिक भिडियो या युट्युबकै सर्ट फिल्ममा केन्द्रित भएको भए उनी अहिले के हुन्थिन्? उनले त्यसबारे सोचेकी छैनन्। लुट २ मा खेलिसकेपछि भने उनले करियरका बारेमा भने थप सोच्न थालिसकेकी रहिछन्।
 
जब सौगात मल्ल, दयाहाङ राईजस्ता खारिएका अभिनेताको संगतमा पुगिन्, उनलाई अभिनय सिक्न जरुरी लाग्यो। अहिले सुनील पोखरेलसँग अभिनय सिकिरहेकी उनी ललितकला विषयमा स्नातक गर्दैछिन्। ‘मलाई कसैले किन नाच्छौ भनेर सोध्यो भने खुसी हुन भन्छु,’ उनले भनिन्, ‘नाटक, ललितकला, नृत्य यी सबै घोक्नेभन्दा परका विषय हुन्। आफैंले सोचेर गर्ने विषयले मलाई खुसी दिने रहेछ।’

 सेतोपाटि बाट साभार

Write a Comment