पोखरामा माउन्टेन फिल्म फेस्टिभल हुने
15-December-2016

 पोखरामा यस वर्ष पनि अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने भएको छ । पोखरा फिल्म सोसाइटीको आयोजनामा पुस ६ गतेदेखि ८ गतेसम्म दोश्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव हुने भएको हो ।

पोखरा सभागृहमा हुने महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ५० भन्दा बढी चलचित्रहरुको प्रदर्शन गरिने सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेले जानकारी दिए ।

महोत्सवमा वृतचित्र, लघु चलचित्र, कथानक चलचित्र, प्रयोगात्मक चलचित्र र एनिमेसन चलचित्रलाई समेटिने लामिछानेले बताए । महोत्सवका लागि पोखरामा बनेका ३ चलचित्रलाई छनोट गरिएको छ ।

पोखराबाट छनौटमा परेको चलचित्रमा विष्णु गौतमको ‘मिरर’, महेश श्रेष्ठको ‘नयाँ झुल’ र मनोज घर्तीमगरको ‘भर्तीको राजनीति’ छनोटमा परेको महोत्वस संयोजक सरोज सापकोटाले बताए ।

महोत्सवमा सहभागिताका लागि १ सय देशका ६ सय बढी चलचित्रहरुले आवेदन दिएको सापकोटाले जानकारी दिए । पर्वत वा हिमाली क्षेत्र आसपासका संस्कृति, जनजीवन, परम्परा, जैविक विविधता र पर्यावरणको सम्वर्द्धन र प्रवर्द्धनका विषयवस्तु समेटिएका चलचित्रलाई महोत्सवमा समावेश गरिने सोसाइटीका माह-सचिव विष्णु गौतमले बताए ।

महोत्सवको अवसरमा ‘नेपाली चलचित्र’ विषयक छलफल तथा अन्तर्क्रिया कार्यक्रमहरु पनि हुने उनले बताए । उनका अनुसार जोमसोम, घान्द्रुक, घलेगाउँ र मनाङमा छनोटमा परेका चलचित्र केही समयपछि प्रदर्शन गरिनेछ ।

महोत्सवले पर्वतीय क्षेत्रको अधिकार सुनिश्चितता गर्दै पर्यटनको प्रवर्द्धन गर्ने आयोजकको विश्वास छ । प्रतियोगितात्मक विधा नभएकाले महोत्सवले सबै वर्गलाई आकर्षण गर्ने अध्यक्ष लामिछानेले जिकिर गरे ।

महोत्सवको मुख्य कार्यक्रम बाहेक हरेक साँझ पोखरा आसपासका केही प्रमुख स्थानहरुमा निःशुल्क चलचित्रहरुको प्रदर्शन समेत गरिने लामिछानेले बताए ।

महोत्सव सम्पन्न गर्नका लागि करिब ५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ । यसअघि २०१४ को डिसेम्बरमा अन्तर्राष्ट्रिय पर्वत संग्रहालय र फिल्म सोसाइटी फेडरेसन नेपालसँगको सहकार्यमा सुरु भएको थियो ।

Write a Comment

Events
Random Picks