रिलिज नहुँदै विवादमा ‘रइस’, शाहरुख पत्नी गौरीसहित ६ विरुद्ध मुद्दा
19-December-2016

सुपरस्टार शाहरुख खानको चलचित्र ‘रइस’को ट्रेलर सार्वजनिक भएसँगै चलचित्र विभिन्न किसिमका विवादमा तानिएको छ । चलचित्रमा पाकिस्तानी अभिनेत्री माहिरा खानको विषयलाई लिएर हल्ला भइरहेका बेला चलचित्रको कथावस्तु कसैको जीवनीबाट प्रेरित नभएर काल्पनिक कथा हो भन्ने विषय बाहिर आइरहेको छ । 
शाहरुखको यो चलचित्र रईस अब कानुनी फन्दामा समेत परेको छ । शिया समुदायले चलचित्रका केही दृष्यप्रति आपत्ति जनाएका छन् । यस्तो भनाइ चलचित्र निर्माताहरुबाट बाहिर आएको छ ।
चलचित्रमा शाहरुखको भूमिका गुजरातका ग्याङस्टार अब्दुल लतिफसँग मिल्दोजुल्दो वा प्रेरित हो भन्ने कुरा आएपछि चलचित्र सम्बद्धले यसको खण्डन पनि गरेका छन् । 
केही सञ्चारमाध्यमहरुले चलचित्र ‘रइस’ वास्तविक जीवनको एउटा कथामा आधारित हो भनेपछि शाहरुख, रितेश सिधवानी, फरहान अख्तर र निर्देशक राहुल ढोलकियाले संयुक्त विज्ञप्तिमा चलचित्रको कथावस्तु काल्पनिक हो भनेका छन् । 
उनीहरुले यो कुनै पनि जीवित वा मृत व्यक्तिमा आधारित नभएको समेत स्पष्ट पारेका छन् । उनीहरुले ‘रइस’को ट्रेलरले ल्याएको सकारात्मक र उत्साहजनक प्रतिक्रियाबाट खुसी भएको बताएका थिए । उनीहरुले भनेका थिए, “हामी आशा गर्छौँ कि यो चलचित्रलाई गरिएको माया रिलिज हुञ्जेलसम्म यतिकै रहिरहने छ ।” ‘रइस’ आगामी २६ जनवरीमा रिलिज हुँदैछ । तर, चलचित्रका केही दृष्यलाई लिएर आपत्ति जनाइएको छ । फिल्मको विषय युपी जौनपुरको हो, जहाँ यो मुद्दा दर्ता गरिएको छ । चलचित्रमा विवादित दृष्यलाई लिएर शाहरुख पत्नी गौरीसमेत ६ अन्य व्यक्तिविरुद्ध अदालतमा मुद्दा दायर भएको छ । 

झन्डै साढे २ करोडले हेरे ट्रेलर
‘रइस’को ट्रेलरले अहिलेसम्मकै रेकर्ड तोडेको छ । यो फिल्मको टे«लर बुधबार दिउँसोसम्ममा २ करोड ४६ लाखपटक भन्दा बढी हेरिएको छ । यो ट्रेलर मुलुकभरि ३ हजार पाँच सय स्क्रिनमा देखाइएको थियो । यति बढी स्क्रिनमा ट्रेलर सार्वजनिक भएको यो पहिलो चलचित्रसमेत भएको छ । यो ट्रेलर रिलिज भएको समय शाहरुख भारतका दिल्ली, मुम्बई, बेंगलुरु, हैदराबाद, कोलकाता, जयपुर, मोगा पञ्जाब, इन्दौर र अहमदाबादलगायत क्षेत्रमा एकैपटक भिडियो कन्फ्रेन्सिङका माध्यमद्वारा दर्शकमाझ देखिएका थिए । उनले आफ्ना फ्यानका उत्तर समेत दिएका थिए । 
चलचित्र गुजरातको पृष्ठभूमिमा आधारित
भारतीय सञ्चारमाध्यम आजतक लेख्छ, ‘वास्तवमा यो चलचित्र १९८० को दशकको गुजरातको पृष्ठभूमिमा आधारित छ । यो एउटा रक्सी तस्करको कहानी हो । जसको कारोबार एउटा प्रहरीले चौपट गरिदिएको छ । चलचित्रको निर्माण एक्सेल इन्टरटेन्मेन्ट र चिलिज इन्टरटेन्मेन्टले गरेका हुन् । 
चलचित्रमा शाहरुखसँगै नवाजुद्दीन सिद्दीकीसमेत महत्वपूर्ण भूमिकामा छन् । यही चलचित्रबाट पाकिस्तानी अभिनेत्री माहिरा खान पनि बलिउडमा इन्ट्री गर्दैछिन् । 

प्रदर्शनको अनुमति माग्न खानले राज ठाकरेलाई भटे 
यसैबीच, शाहरुख खानले महाराष्ट्र नवनिर्माण सेनाका अध्यक्ष राज ठाकरेसँग भेटेर उनको रिलिज हुन लागेको फिल्म ‘रइस’ को विषयमा छलफल गरेको एनडिटिभीले जनाएको छ । सो फिल्मामा पाकिस्तानी अभिनेत्री माहिरा खानले काम गरेको हुनाले उक्त पार्टीको अवरोध हुन सक्ने आकलन गर्दै खानले ठाकरेलाई भेटेका हुन् । सो पार्टीले यसअघि भारतीय फिल्ममा पाकिस्तानी कलाकारलाई खेलाएकोमा विरोध गरेको  थियो ।

१२ खरी बाट