पत्याउनुस् नपत्याउनुस्: कुनै समय मुश्किलले ८० रूपयाँ कमाउने यी हुन् बंग्लादेशका सुपरस्टार
20-December-2016

पछिल्लो समय बंगलादेशका एक नागरिक सामाजिक संजालहरूमा चर्चित बनिरहेका छन्। उनको चर्चा विशेषगरी बंगाली समुदायमा ज्यादा रहेको छ। उनी बंगलादेशमा विशेष चर्चित छन्। हेर्दा सामान्य भूईमान्छेजस्ता देखिने ती बंगाली व्यक्तिलाई बंगलादेशका नयाँ सुपरस्टार बनिसकेका छन्। उनले सुपरस्टारको चल्तीको परिभाषालाई चुनौती दिदैं आफ्नो चर्चालाई फरक उचाइमा पुर्‍याउन सफल भएका छन्।
उनी हुन बंगाली मोडल तथा कलाकार आलम उर्फ अलोम बोगरा। उनको चर्चाको दायरा यति ठूलो छ कि फेसबुकमा कयौं संख्यामा उनको फेसबुक फ्यानपेज खोलिएका छन्। उनको लोकप्रियता सबैलाई चकित पार्ने किसिमको छ। मान्छेहरूले उनीसँग सेल्फी लिन तँछाड मछाड गर्ने गरेका छन्।

उनको स्वरूप हेर्दा कुनै कोणबाट सुपरस्टार जस्तो लाग्दैनन्। न हेर्दा उनी ह्यान्डसम छन् न कुनै फिल्मी हिरोको झै हाइट तथा गठिलो शरिर। यस्तो शारिरिक अवस्थाकाबिच पनि उनी बंगालीहरू माझ सर्वाधिक चर्चित छन्। लाखौंले उनको भिडियो हेरिसकेका छन्।
उनी कुनै फिल्मी घरानासँग पनि सम्बन्धित छैनन्। खानलाउन नै दु:ख हुने परिवारमा जन्मिएका यी कलाकारको चर्चा र प्रसिद्धिको यात्रा एकदमै रोचक छ।

 
उनको खास नाम अशरफुल आलम सईद हो। उनी अत्यन्त गरिब परिवारमा जन्मिए। उनका बाबु चनाचुर (चनाको एक परिकार' बेच्ने काम गर्दथे। उनी १० वर्षको हुँदा उनका बाबुले अर्कैसँग विवाह गरे। उनले उनलाई र उनकी आमालाई छोडे। गरिबीका कारण बाबुले छाडेपछि उनले पढाइमा ध्यान दिन सकेनन र सात क्लासमा फेल भएपछि पढाइ अगाडि बढेन।

 
उनले आफैले व्यापार सुरू गरे।उनले क्यासेट तथा सिडी बेच्ने काम गरे। त्यो पनि पछि हुन छाड्यो। त्यसपछी उनी केबल व्यापारमा लागे जसबाट उनले करिब ७०-८० रूपियाँ महिनावारी कमाउँथे। उनी केबल टिबीको नेटवर्किङ गर्थे। यसैबिच उनले बिबाह गरे। उनी  आफ्नो गाउँमा आफ्ना दुई बच्चा र श्रीमतीका साथ खुशी नै थिए।
त्यस्तैमा उनले क्यासेट सिडी बेच्दाबेच्दै उनको नजर क्यासेटमा रहेका मोडलमा पर्‍यो, उनले तिनहरूको तस्विर किन छ बुझे। तत:पश्चात उनले आफू मोडल बन्ने अठोट लिए। उनको यो इच्छालाई धेरैले बकवास र हुन नसक्ने भन्दै हतोत्साहित गरे।

तर उनले अरूको कुरा सुनेनन्। सन् २००८ मा आफैले आफू अभिनित म्यूजिक भिडियो बनाए र स्थानिय केबल टिभी नेटवर्कमा प्रसारण गरे। मानिसहरूले उनको भिडियो मनपराए र विस्तारै उनको लोकप्रियता बंग्लादेशभर फैलिन थाल्यो। उनको भिडियो यूट्यूबमा अपलोड हुन थाल्यो र ती भिडियो भाइरल बने।

तत:पश्चात उनी सामान्य मानिसबाट इन्टरनेट सेन्सेशन बन्न पुगे। उनको भिडियो हेरेका कैयौंले उनलाई उनीहरूको भिडियो खेल्न प्रस्ताव गरे। उनले करिब ५०० भिडियो खेलिसकेका छन्। मिडिया रिपोर्टहरूमा आए अनुसार उनको लोकप्रियतालाई मध्यनजर गर्दै एक सर्ट फिल्म, दुई टिभी श्रृखंला तथा दुई विज्ञापनमा काम गर्ने प्रस्ताव पाइसकेका छन्। उनलाई अमरिकाबाट समेत भिडियो खेल्ने प्रस्ताव आइसकेको छ।
उनको केबल टिभीको व्यापार अझै जारी छ।

सेतोपाटी बाट