तेरिया जन्मिदा खुशी थिएन परिवार !
23-January-2017

सन् २००२ मा रुपन्देहीको रुद्रपूरमा जन्मेकी तेरिया फौजा मगरले भारतको चर्चित रियालिटी सो झलक देखला जा सिजन ९ को उपाधी हात पारेपछि थप चर्चामा छिन् । तेरियाले भारतमा मात्रै हैन आफ्नो कलाबाट विश्वमै नेपालको शान बढाएको भन्दै धेरै नेपाली गर्व गरेका छन् ।

त्यस्तै उनको परिवार पनि तेरिया जस्तो सन्तान पाएर निकै खुशी छ । तेरियासँगै झलकमा पुगेकी उनकी आमा अनिताले जीवनमा  तेरिया जस्तो छोरी पाएर आफूलाई निकै भाग्यमानी ठानेको बताइन् । उनले तेरिया जन्मदाको पल सम्झदै भनिन्, ‘तेरियालाई हामीले चाहेर जन्माएको हैन । उसको ठाउँमा हामीले छोरा चाहेका थियौं । किनकी तेरियाकी एक दिदी रिक्मा भइसकेकी थिई । त्यसकारण परिवार र आफन्तले तेरियाको ठाउँमा छोराको जन्म होस् भन्ने चाहेको थियो । मैलै पनि त्यही नै चाहेको थिएँ । उ जन्मेपछि केही हदसम्म परिवारसँगै म पनि  दुःखी भएको थिएँ ।’ 

‘तर अहिले उसले गरेको काम र उसमा भएको ट्यालेण्ट देखेर आफूलाई निकै गर्व लाग्छ । उसले गर्दा नै म अहिले धेरैवटा देश घुमिसकेँ । उसकै कारण म आज संसार घुम्ने मौका पाईरहरेको छ । तेरियाले जे गरिरहेकी छ, तेरियाबाट जुन खुशी मैलै पाईरहेको छु सायद उसको ठाउँमा छोराको जन्म भएको भएपनि मैलै पाउँदिनथेँ होला ।’

तेरियाले दुई जना प्रतिस्पर्धीलाई पछि पार्दै झलकको उपाधि हात पारेकी हुन् । झलक जितेकी उनले उपहार स्वरुप तीस लाख भारतीय रुपैयाँ, कार र ट्रफी पाएकी छन् । उनले यसअघि सन् २०१४ मा जि टिभीको डान्स इन्डिया डान्स लिटिल मास्टरको उपाधि जितिसकेकी छन् । 

तेरियाले आफू झलकको विजेता बनेपछि यसको श्रेय आफ्ना शुभ चिन्तक र सारा नेपालीहरुलाई दिएकी छिन् । सामाजिक सञ्जाल फेसबुक मार्फत उनले आफ्नो जित नै सारा नेपालीहरुको जित भएको भन्दै बिशेष गरि भोट दिएर साथ दिने नेपालीहरुलाई धन्यबाद दिएकी हुन् । 

उज्यालो अनलाईन बाट 

Write a Comment

Events
Random Picks