फ्राइडे रिलिज ः ‘परिणाम’, ‘रामजाने’ र ‘थ्रि मंकिज’ भिड्दै
3-February-2017

२१ माघ ।  आज शुक्रबारबाट ‘परिणाम’, ‘रामजाने’ र ‘थ्रि मंकिज’ गरि तीन चलचित्र प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजको परम्परा धान्दै यी चलचित्र प्रदर्शनमा आएका हुन् । देशभर एकसाथ ब्यवसाहिक प्रतिस्पर्धामा उत्रिएका तीन चलचित्र मध्ये ‘परिणाम’ हरि पराजुलीले निर्देशन गरेका हुन् भने ‘रामजाने’ र ‘थ्रि मंकिज’ क्रमश जनक खकुरेल र भाइराम श्रेष्ठको निर्देशनमा बनेको हो ।
.....
‘परिणाम’
नारायण घिमिरेको लेखन तथा मुकेश ढकाल, सारिका घिमिरे, झरना रिसाल, किसन सुनार लगायत कलाकारको अभिनय रहेको ‘परिणाम’ लक्ष्मी बेन्कटेस सिनेमेकर्स प्रालिको ब्यानरमा बनेको हो । यसमा निर्देशक पराजुलीकै लगानी रहेको छ ।
हरेक युवती आफुले स्वयम् आफैँलाई कसरी सुरक्षित गर्ने भन्ने बिषय चलचित्रले देखाउन खोजेको छ । 
....
‘राम जाने’
रक्षन्दा फिल्मस् प्रोडक्सनले निर्माण गरेको ‘राम जाने’ प्रेमकथा बनेको चलचित्र हो । रजनि शर्मा, खिमु श्रेष्ठ र दिनेश शर्माले मिलेर बनाएको चलचित्रमा दिनेश शर्मा, रोहीत रुम्वा, निशा नेपाल, विशाल लामा, रिया चन्खद, नमूना थापा, राम महर्जन, शम्भु बस्नेत, बुद्ध लामा लगायतको अभिनय देख्न सकिन्छ ।
.....
‘थ्रि मंकिज’
‘थि मंकिज’ हिमाल, पहाड र तराई प्रदेशमा बिभाजनको बिषय उठाएको चलचित्र हो । रेशम फरिरि, सरोज केसी, दिलिप तामाङ र नव नायिका सरिना बयलकोटीलगायतको अभिनय रहेको चलचित्रको कथा सरोज केसीले लेखेका हुन् ।
.......................

 

१० त्यस्ता नेपाली गायक जो विदेशमा बसेर सनसनीपूर्ण गीत बनाउँछन् । 
माघ २२ ।
नेपालको के कुरामा गौरव लाग्छ ? यो प्रश्नको उत्तरमा तपाईंमध्ये धेरैले सगरमाथा भन्नुहोला, कसैले बुद्धको भूमि भएका कारण अथवा कतिले वीर गोर्खालीका कारण गौरव लाग्छ भन्नुहोला । हामीलाई सोध्नुहोस्, यसको जवाफमा हामी  ‘संगीत’ भन्छौं । त्यसो हो भने हाम्रो संगीतमा के विशेष छ त ? नेपाली संगीत निकै धनी छ र यसमा विविधता छ ।
नेपालमा भएका संगीतकर्मीलगायत नेपाल बाहिर पनि नेपालीमूलका यस्ता थुप्रै व्यक्तित्व छन् जसले निरन्तर नेपाली संगीत क्षेत्रमा योगदान दिइरहेका छन् । नियोस्टफ्सले यस्ता १० कलाकारको सूची तयार गरेको छ जो शारिरिक रुपमा नेपालमा नभएपनि संगीतमार्फत आफ्नो जन्मभूमिसँग नजिक छन् । 
यो सूचीमा नेपालमा स्थापित भएर विदेश गएका संगीतकर्मीको नाम समावेश गरिएको छैन ।
१. अंकित श्रेष्ठः
अंकित श्रेष्ठले कभर गीतसँगै आफ्नो गीतहरु पनि सार्वजनिक गरिसकेका छन् । उनले ‘फिन्जर एण्ड फेबल्स’ नामक एउटा एल्बम पनि निकालिसकेका छन् । अमेरिका बस्ने यी गायकको ‘द अन्डरवाटर सङ्ग’ निकै चर्चित छ । उनी ‘प्लान आफ्टरम्याथ’ नामक ब्याण्डका सदस्य पनि हुन् ।
२. आस्था तामाङ मास्केः
आस्था टोरोन्टोमा बस्ने गायिका, गीतकार र अडियो इन्जिनियर हुन् । उनले अहिलेसम्म तीनवटा एल्बम रिलिज गरिसकेकी छिन् जसमा ‘सबै ठिकै हुन्छ’, ‘म एक सपना’, ‘११ः११’ रहेका छन् । यसका साथै, उनले विभिन्न एकल गीत गाएकी छिन् ।
३. बर्तिका राईः
बर्तिका सन् २०१६ मा निकै चर्चित भइन् । ‘बिम्बाकाश’ नामक एल्बमको गीत ‘खोइ’ले उनलाई चर्चाको शिखरमा पुर्यायो । उनी सन् २०१३ की मिस नेपाल युएस पनि हुन् । उनी गीतकार र गायिका हुन् । उनले अमेरिकामा अनेकौं लाइभ प्रस्तुती दिइसकेकी छिन् ।
४. दिवस गुरुङः
दिवस गुरुङले ‘झरना शहर’, ‘आधुनिक’ र ‘रातो माटो’ नामको तीनवटा एल्बम निकालिसकेका छन् भने अन्य थुप्रै गीतमा स्वर भरेका छन् । अमेरिकामा बस्ने दिवसले ‘फोक रक’ गीत बढि गाउने गर्दछन् ।
५.जे अथरः
स्टेजमा जे अथर भनेर चिनिने रञ्जे गुरुङ बेलायतका आर एण्ड बी कलाकार हुन् । ‘ओन्ली केयर’, ‘फर यु’, ‘सिल्भर लाइनिङ’ उनका निकै चर्चित गीत हुन् ।
६. जेरुशा राईः
बेलायतमा बस्ने जेरुशा राईले ‘अ डार्क प्लेस टु थिंक’ नामक एल्बम निकाल्नुका साथै विभिन्न गीतमा स्वर भरेकी छिन् ।
७. निक्की कार्कीः
अमेरिकामा बस्ने निक्की कार्की कभरमार्फत चर्चित भएकी हुन् । यसका साथै उनले आफ्नो विभिन्न गीतमा स्वर भरेकी छिन् भने अमेरिकामा आयोजना हुने विभिन्न कार्यक्रममा प्रस्तुती दिने गर्द्छिन् ।
८. सज्जन राज वैद्यः
अमेरिकामा बस्ने सज्जन राज बैद्यले ‘हवाईजहाज’, ‘अनौठो मुटु’, ‘आज मात्र’, ‘मुस्कान’ जस्ता गीत गाएका छन् भने विभिन्न गीतको कभर गरेका छन् । उनको भिन्न स्वरले उनलाई भीडबाट अलग्गिन सहयोग गरेको छ ।
९. विजय घिमिरे, प्रितीः
विजय घिमिरे र उनकी श्रीमती प्रितीले केही उत्कृष्ट कभर गीत गाएपनि मानिसहरुले उनलाई निकै रुचाए । कभर गीतका साथै बेलायतमा बस्ने यो जोडीले आफ्नो एल्बम ‘पेन्ट मि लभ’ पनि सार्वजनिक गरिसकेको छ ।
१०. सनम गुरुङ ‘योद्धा’ः
‘मलाई बाल’ का र्यापर सनम गुरुङ ‘योद्धा’ बेलायतमा बस्छन् । विदेशमा बस्ने थुप्रै नेपाली र्यापर छन् तर योद्धा यो सूचीको पर्नुको एउटै कारण छ, किनभने उनी भिन्न छन् । उनले आफ्नो गीतको शब्द निकै गम्भीरपूर्वक छनोट गर्छन् । उनले एउटा एल्बम ‘आत्मा विवाद’ निकालेका छन् ।

Write a Comment