अभिनेताहरुसँग ३-० ले फुटबल हारे नेताहरु
7-June-2015

भूकम्प पीडितहरूको सहयोगार्थ नेपाली कलाकार र शीर्ष राजनीतक दलका नेताहरूबिच भएको मैत्रीपूर्ण फुटबलमा शीर्ष नेताको टोली ३–० गोलले पराजित भएको छ।‍ नेताहरुको टोलीले पहिलो हाफको ३८ औं मिनेटमा पहिलो गोल खाएको थियो भने बाँकि दुई गोल दोस्रो हाफको ३९औ र ४१औं मिनेटमा खाएका थिए। नेताहरू हरियो जर्सीमा मैदानमा उत्रेका थिए भने कलाकारहरुले रातो जर्सी लगाएका थिए।

कलाकार टोलीका तर्फबाट पहिलो गोल मनराजा श्रेष्ठले गरेका थिए भने दोस्रो र तेस्रो गोल क्रमशः रोशन श्रेष्ठ र नविन केसीले गरेका थिए।शीर्ष नेताको नेतृत्व प्रधानमन्त्री सुशील कोइरालाले ‍गरेका थिए भने कलाकारको नेतृत्व कलाकारद्वय महजोडीले गरेका थिए। फुटबलको पहिलो हाफ पूरै हेरेका राष्ट्रपति रामबरण यादबले दुबै टोलीका कप्तानलाई बल हस्तानतरण गर्दै खेलको उद्घाटन गरेका थिए।

पहिलो हाफमा उमेर र मोटोपन बढी भएका नेताहरुको संख्या बढी हुँदा शीर्ष नेताको टोली कमजोर देखिएको थियो भने खेल सुरू भएको लामो समय बितिसक्दा पनि मैदानमा आफ्नो पक्षमा बल नआउँदा कलाकारतर्फबाट गोलकिपर बसेका सुनिल थापालाई गोलपोष्ट नजिकैको कुर्सीमा बस्नुपरेको थियो। प्रधानमन्त्री सुशिल कोइराला करिब २५ मिेनट मैदानमा रहेका थिए।

 

‍बाबुराम भट्टराई, झलनाथ खनाल, केपी ओली लगायतका नेता कम समयमै बाहिरिएपनि प्रधानमन्त्री तथा टोलीका कप्तान सुशील कोइराला भने २५ मिनेटसम्म मैदानमा रहे। फुटबल खेलिरहेका कोइरालालाई खेल्दा गार्हो भयो भन्ने ठानेर फुटबल खेलिरहेका कांग्रेस नेताहरुले 'मैदान छाड्ने हो?' भनेर पटक पटक सोध्दा कोइरालाले 'खेल्छु' भन्दै मैदानमा सबैको अपेक्षा विपरीत लामो समय फुटबल खेलेका थिए। 

पहिलो हाफको मध्यसम्म उमेर तथा मोटोपन भएका नेताको प्रदर्शनमा दर्शकले प्रशस्त मनोरञ्जन लिएका थिए भने युवानेताहरूको प्रवेशले खेलमा थप रोमाञ्चकता थपेको थियो।

कलाकारहरुको टोलीले नेताहरुको टोलीलाई खेलको अन्तिम समयसम्म दबाबमा राखेका थिए। हाँस्य कलाकारहरु जीति नेपाल र केदार घिमिरेले कमेडी शैलीमा फुटबलको कमेन्ट्री गरेर फुटबल हेर्न हलचोक मैदानमा उपस्थित दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गरे।

 

खेल अवधिभर शीर्ष नेताको तर्फबाट गगन थापा, सूचना तथा सञ्चारमन्त्री डा. मिनेन्द्र रिजाल, वर्षमान पुन, बिमल केडीया, महेश बस्नेत, टोपबहादुर रायमाझीलगायत नेताले प्रशस्त उर्जा देखाएका थिए। कलाकारको तर्फबाट भने सलोन बस्नेत, निश्चल बस्नेत, धिरेन शाक्य, निर्जल श्रेष्ठ, नबिन केसी लगायतको प्रदर्शन राम्रो थियो ।

सिताराम कट्टेल, शंकर बिसी, बद्री पंगेनी, रोशन श्रेष्ठ, केदार घिमिरे, कुमार कट्टेल, जितु नेपाल लगायत कलाकारले  पनि आफ्नो क्षमता देखाएका थिए। कलाकारहरूले धेरै गोल मात्र गरेनन् प्रशस्तै प्रहार पनि चुकाउनु परेको थियो।

खेल अवधि सकिएपछि कलाकारहरुले जनतामा नेताहरू एकता पनि गर्न सक्छन् भन्ने दह्रो उदाहरण आजको खेलले दिएको बताएका थिए। यस्तै नेताहरुले कलाकारहरुको उर्जाको प्रशंसा गर्दै देशका सबै पक्ष मिलेर काम गरे जस्तै विपत्तिमा पनि देश विकास हुन समय नलाग्ने बताएका थिए।

 

प्रधानमन्त्री कोइरालाले कलाकारलाई उत्कृष्ट खेल प्रदर्शन गरेकाले बधाई दिँदै सबै पक्षबीच खेलमा जस्तै सद्भाव र सौहार्दपूर्ण वातारण बने विपत्तिबाट चाँडै पार लाग्ने विश्वास आफूमा भएको र आधुनिक नेपालको निर्माण हुन समय नलाग्ने बिचार व्यक्त गरेका थिए।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि खेलमा जस्तै नेताहरुमा एकता हुनै पर्ने जोड दिएका थिए। एमालेकै पूर्वअध्यक्ष झलनाथ खनालले खेलबाट सम्पूर्ण नेपालीहरुमा सद्भावको सन्देश जाने बताए।

खेलको संयोजन नयाँ पत्रिका दैनिकले गरेको थियो। नयाँ पत्रिका दैनिकले फुटबलसँगै देशका विभिन्न सहरमा हाँस्य तथा साँगितिक कार्यक्रम गर्दै भूकम्प पीडितको सहयोगार्थ नगद सहयोग जुटाउने बताएको छ।

 

source:http://kala.setopati.com/news/1209/