पुरानो कथा, रहरलाग्दो लोकेसन
27-March-2017

नरेश फुयाँल 

ज्यान जोखिममा राखेर फुत्काएको पैसाको लप्पनछप्पन नै चलचित्र ‘लप्पन छप्पन’ को मुख्य विषय हो । ‘धन देख्दा महादेवका पनि तीन नेत्र’ भनेझैं चलचित्रका मुख्य पात्रहरू पैसाका पछाडि दौडिन्छन् ।

‘फाष्ट कट’ प्रविधिमा बनेको मुकुन्द भट्ट निर्देशित चलचित्र ‘लप्पन छप्पन’को सबैभन्दा राम्रो पक्ष नै फरकफरक सुन्दर लोकेसन हो । चलचित्रमा दखिने बेल्जियम, स्विट्जरल्यान्ड, फ्रान्स र हल्यान्डका भव्य महल र सडकले दर्शकलाई लोभ्याउँछन् ।

आधुनिक प्रविधिको प्रयोग गरेर कसरी पैसा लुट्न सकिन्छ भन्ने चक्करमा पूरै अवधि चलचित्रका सुकिला मुकिला पात्रहरूनेपालदेखि युरोप पुग्छन् । अंग्रेजीठाउँठाउँमा बोलिने चलचित्र हेर्दा अंग्रेजी चलचित्रकै झल्को दिने गरी पात्रहरु चिल्ला कार र हेलिकप्टर पनि चढ्छन् ।

ठाउँठाउँमा ग्याङस्टार फाइट पर्छ । बाका (सौगात मल्ल), टंके (दयाहाङ राई), चमेरो (अर्पण थापा) र बेबी (वर्षा शिवाकोटी) मुख्य भूमिकामा छन् । चलचित्रमा मुख्य पात्र सशक्त देखिन्छन् । वर्षाको अभिनय पनि अब्बल छ ।

तरपनि चलचित्रमा दर्शकले सुकिला मुकिला पात्र र चौडा सडकभन्दा नयाँ कुरा खासै केही नपाएको अनुभूत गर्नसक्छन् ।

चलचित्रमा नयाँ विषय छैन । भर्खरै प्रदर्शनमा आएको ‘लुट–२’ को विषयभन्दा पृथक विषय भेटिँदैन । ‘लप्पन छप्पन’ मा भने प्रविधिको प्रयोग गरेर पैसा निकालिन्छ । ‘लुट–२’ का पात्रहरु गल्लिगल्लि दौडिन्छन् । यसमा फराकिलो रहरलाग्दो सडकमा दौडिएको देखिन्छ । फरक यत्ति हो । अघिल्लो महिना हेरेको ‘लुट–२’ को कथा भन्दा खासै भिन्न नलाग्ने ‘लप्पन छप्पन’ ‘ओपन इन्डेड’ छ । कथा खासै नयाँ नलागे पनि छिनछिनमा ट्विस्ट हुने कथाले दर्शकलाई दुई घण्टा भने बाँधेर राख्छ ।

डेब्यू निर्देशक मुकुन्द भट्टमा निर्देशकीय क्षमता राम्रो देखिन्छ । राम्रो कथामा राम्रो काम गर्न सक्ने क्षमता आफूमा रहेको उनले पहिलो चलचित्रबाटै प्रमाणित गरेका छन् ।

१२ खरी डट कम बाट

Write a Comment

Events