वनसट्मा खिचिएको ‘जालो’ उत्कृष्ट फिल्म
3-June-2017


जकसन डटकम
पोखरा, २० जेठ

हिजो शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘जालो’ ले अहिले दर्शकहरुबाट प्रतिक्रिया बटुलिरहेको छ । फिल्म हेरेर दर्शहरुले सुखद प्रतिक्रिया दिएका छन् । वानसट्मा खिचिएको फिल्म भएका कारण पनि दर्शकहरुमा ’जालो’ कस्तो बनेको होला भन्ने जिज्ञासा थियो र त्यो जिज्ञासालाई ’जालो’ ले खुशीमा परिणत गर्न सफल भएको निर्देशक अराजकेशव गिरी बताउँछन् । फिल्म हेरेका दर्शकहरुले सिनेम्याटोग्राफर हरी घले लामाको कामको प्रशंसा गरेका छन् भने कलाकारहरुको कामको पनि तारिफ गरेका छन् । 
 
सस्पेन्स थ्रिलर फिल्म ’जालो’ मा बरिष्ठ कलाकार नीर शाह उद्योगपति हुन्छन् । नीर शाहको आर्थिक पाटो हेर्ने म्यानेजरकी छोरी हुन्छिन् मेनुका प्रधान । उनले नीर शाहको छोरा अनुप विक्रम शाहीलाई माया गरेकी हुन्छिन् र उनैसँग विवाह गर्ने सोचमा हुन्छिन् । तर, उनको यो कुरा पितालाई मञ्जुर हुँदैन । मेनुकाका पिताले स्तर नमिल्ने भन्दै आफ्नो मालिक (नीर शाह) को छोरासँग छोरीको विवाह गर्न राजी हुँदैनन् तर मेनुकाले यो कुरा मान्दिनन् । त्यसैले मेनुकाले आफ्नो परिवारसँग स्तर मिलाउनका लागि नीर शाहको ५ सय करोडको सम्पत्ति नष्ट गर्ने प्लान बनाउँछिन् र उनले नीर शाहकी छोरी मुना गौचनलाई नै अपहरण गर्छिन् । उनले गर्ने अपहरणको शैलीले फिल्म हेर्ने जो काहिँलाई आश्चर्यमा पार्छ । प्रत्येक १० देखि १५ मिनेटमा फिल्मको कथाले नयाँ मोड लिन्छ, जसले दर्शकहरुलाई पूरा फिल्म अवधिभर बाँधेर राख्न सफल भएको छ । 
 
पूरा फिल्म क्यामेरा अफ नगरि वानसट्मा खिचिएका कारण पनि ’जालो’ मा निर्देशक अराजकेशव गिरी र सिनेम्याटोग्राफर हरी घले लामाको काम प्रशंसनीय देखिन्छ । ४ घण्टासम्म क्यामेरा अफ नगरि लगातार वानसट्मा ’जालो’ र ’जालो रिर्टन्स’ खिचिएको थियो । ’जालो’ को अन्त्यमा ’जालो रिर्टन्स’ को पनि केही अंश देखाइएको छ । ’जालो रिर्टन्स’ भने संभवत अर्को बर्ष रिलिज हुनेछ । 
विश्व कीर्तिमान राख्ने दौडमा रहेको ’जालो’ अनुपविक्रम शाही, मेनुका प्रधान, रेमनदास श्रेष्ठ, निराजन प्रधान, मुना गौचन, नीर शाह, लक्ष्मी गिरी, भीष्म जोशी, प्रकाश श्रेष्ठ, मुक्तराम आचार्य, लक्ष्मी बर्देवालगायतले अभिनय गरेका छन्।

Events
Random Picks