यदि सृष्टि र रचनाको कुरा हुँदैछ भने वीर्यभन्दा सुन्दर विम्ब अरु हुन सक्दैन
3-June-2017

'पैताला' लेखक गनेस पौडेल 

‘पैताला’का दुई किस्सा धेरै पहिले लेखिएका हुन् । १० वर्ष नै भयो कि ! प्रचण्ड समावेश भएको अन्तिम अध्याय ‘प्रसाद’ र ‘सुकारामको डायरी’ प्रचण्ड पहिलो पटक प्रधानमन्त्री हुँदा लेखेको थिएँ । संयोगले उनी प्रधानमन्त्री नै रहँदा यसको प्रकाशन हुन गयो । त्यसैले यसमा केही सम्पादन भएको छ । सुरुमा अलि बोल्ड भाषा प्रयोग थियो । प्रचण्डलाई व्यङ्ग्यात्मक तरिकाले प्रस्तुत गरेको थिएँ । समयक्रममा प्रचण्डको प्रताप पनि मधुरो हुँदै गयो । मलाई पनि उनीप्रति व्यङ्ग्यात्मक भइरहन मन लागेन । त्यसैले उनलाई बूढो बनाइदिएँ । भ्रम र आश्चर्यको मलिन कुहिरोभित्र राखेर प्रस्तुत गरिदिएँ ।

कथा लेख्दा म जहिले पनि पात्र र परिवेशलाई चित्रमा परिकल्पना गर्छु । प्लटको पहिलो कल्पना आउँदा दिमागमा पूरै कथा एउटा चित्रको स्वरूपमा आएको थियो । नीलो र बैजनी रंगको ब्याकग्राउन्डमा सेतो रंगले पोतिएको विशाल तैल–चित्र थियो त्यो । अति विशाल । त्यसमा पोखरा, मुस्ताङ, जनकपुर, ताप्लेजुङ, नेपालगन्ज, गुल्मी, मुगु सबै जिल्ला प्लट गरिएका थिए । अहिलेको गुगल अर्थले जसरी भूगोल देखाउँछ नि, लगभग त्यस्तै थियो त्यो चित्र । त्यही चित्रमा मैले मेरो पात्र जोस्मणि भौतारिँदै हिँडेको देखेको थिएँ । रन्थनिँदै हिँडेको देखेको थिएँ । जोस्मणि जहाँ पुग्थ्यो, उसको माथिपट्टि आकाशमा दुई थान गिद्ध र गिद्धको पछाडि तीन थान तिब्बती काग फिर्फिराउँदै उडेको देखेको थिएँ । मैले उपन्यासभर त्यही चित्र बनाउने कोसिस गरेको हुँ । 

मैले आजका मितिसम्म ध्यान गरेको छैन । त्यसो पनि होइन । मात्र दुई पटक ओशो क्याम्पमा डाइनामिक गरेको छु । मैले योगको कुनै कक्षा दिएको छैन । कुनै स्वअभ्यास पनि गरेको छैन । त्यसैले पनि जोस्मणिले पार गर्ने रावझोर भीरको अँध्यारो गुफाको किस्सा लेख्न मलाई अति गाह्रो भएको थियो । त्यो अध्यायको अनुभूति गर्न करिब एक हप्ता लगातार म आफैं गुफाबाट गुज्रेको कल्पना गरेर बस्थेँ, शायद एउटै आसनमा । त्यसपछि मात्र मलाई यो अध्याय लेख्न सक्छु भन्ने कन्फिडेन्स भयो र मैले त्यो अध्याय लेखेँ । म कहिलेकाहीँ आफैंलाई सोध्छु– गुफा रचनाको त्यो सात दिन मैले ध्यान गरिरहेको थिएँ वा कल्पना ?

ध्यान नगरेको भए पनि मैले कुण्डलिनी विधिचाहिँ ध्यानपूर्वक पढेको थिएँ । पहिलो पटक पढ्दा मलाई ईडा, पिङ्गला र सुसुम्ना स्त्रीको साकार स्वरूपमा मनमा आएका थिए । सुसुम्नाचाहिँ अलिक बूढी र नराम्री तर ईडा र पिङ्गलाचाहिँ सुन्दर तर अपाङ्गता भएका युवतीको आकारमा देखिएका थिए । कोहलपुरमा देखा पर्ने कुरूप महिला लोथिरा मेरो दिमागमा त्यो बेला उम्रिएको सुसुम्नाको इमेज हो । ईडा र पिङ्गलालाई मैले नर्वेजियन मिथ र कुरानसँग घोलघाल पारेर राख्दिएको छु । त्यसैले पनि शुद्धतावादी मिथोलोजिस्ट, तान्त्रिक वा धार्मिक मठाधीशहरूले यी किस्सालाई मन नपराउन सक्छन् । वा हुनसक्छ– झन् बेस्सरी मन पराउन पनि सक्छन् । मान्छेको मन पराइको कुनै ठेगान पनि त हुँदैन ।

कथाको अधारभूमि जनकपुरलाई बनाइएको हुँदा जनकपुरमा म सम्भावित सबै धर्मको परावर्तन देखिने कुनै पराकाल्पनिक पात्र र घटना बुन्न चाहन्थें तर सकिरहेको थिइनँ । मैले पूरै उपन्यास लेखिसकेँ तर उपन्यासका बीचमा हाल्नुपर्ने जनकपुरको एउटा अध्याय पूरै खाली थियो । किताबका सबै अध्याय लेखिसकेर अन्तिममा लेखिएको हो ‘वीर्यकुण्ड’को कथा ।

मलाई के लाग्यो भने यदि सृष्टि र रचनाको कुरा हुँदैछ भने वीर्यभन्दा सुन्दर विम्ब अरु हुन सक्दैन । अनि वीर्यकै बलमा वीर्यकुण्डको रचना गरेको हुँ । मुन्धुम र वाइबलमा व्याख्या गरिएको प्रथम–मानव रचनाको किस्सा, हिन्दू र बौद्धिस्ट तन्त्रमा उल्लिखित ईडा–पिङ्गला, मिथिलामै प्रचलित ठकवकको तान्त्रिक चित्र सबैलाई एउटै विम्बमा उनेर प्रस्तुत गर्न सजिलो थिएन । न त सुरक्षित पनि थियो । मलाई एउटा यस्तो बास्केट चाहिएको थियो, जसमा मैले कल्पना गरेका सबै धर्मका किस्साहरू विम्बात्मक रूपमा समेटिऊन् । त्यो बास्केट नै आखिरमा ‘वीर्यकुण्ड’ भयो । मेरो दिमागमा वीर्यकुण्डको इमेज आउँदा कुरानमा उल्लेख गरिएको पोखरी पनि ब्याकग्राउन्डमा सम्झना भइरहेको थियो । कुरानमा एउटा प्रसंग छ नि, थु अल–कर्नियनको ? पोखरीमा सूर्य डुब्दै गएर अस्त हुने कुरा छ नि त्यसमा ? मेरो दिमागमा त्यो मिथिकल सूर्यास्तको एउटा झन्झनाउँदो इमेज थियो । त्यही इमेजलाई डिस्टोर्ट गर्न मैले ‘वीर्यकुण्ड’को विम्बलाई सूर्यास्तबाट सुरु गरेर सूर्योदयमा अन्त्य गरेको हुँ । रातको एउटा एब्रप्ट इन्डिङ छ त्यसमा ।

मलाई के लाग्छ भने मान्छेको चरित्र मुश्किले १ प्रतिशतमात्रै निजात्मक हुन्छ । बाँकी ९९ प्रतिशत उसले बाँचेको भूगोल र समाजबाट निर्मित हुन्छ । म अहिले जे छु, जस्तो छु, त्यो हुनुमा मेरो समाजका सबै मान्छेको भूमिका छ । मलाई पहिलो पटक गुलेली चलाएर चरा मार्न सिकाउने सिकाउने विनोद कुँवर दाइ, हाम्रो घरमा लामो समय हली लगाएका बाहुन बा, मलाई पहिलो पटक स्कुल हपाएर साइकलमा बोकेर फेवातालमा लैजाने अरुण कार्की दाइ, पहिलो पटक सोमरस चखाउने दीपक भण्डारी दाइ, मेरा पुरेत बा र तान्त्रिक हजुरबा, मलाई पढाएका शिक्षक, सहपाठी साथीहरूको मात्रै होइन, हजारौं वर्षदेखि विकसित हुँदै आएको मानव समाजको जिनेटिक सम्झनाको प्रभाव पनि ममा रहेको हुन्छ । म भनेको खासमा म हुँदिनँ । म भनेको इतिहास र वर्तमानको समष्टि हो । त्यसैले पनि मैले अति सचेततापूर्वक मूल पात्र जोस्मणिको निजात्मक चरित्र निर्माणलाई बेवास्ता गरेको हुँ । उसको प्रत्यक्ष चरित्र निर्माणमा भन्दा पनि सापेक्षिक चरित्र निर्माणमा मैले ज्यादा समय खर्चेको छु । जोस्मणिले जो–जो पात्रलाई भेट्छ, ती–ती पात्रको कथामात्रै उपन्यासमा छ । मूल पात्र भनिएको जोस्मणिको कथै छैन, घटनामात्रै छन् । मूलाधार चक्रको अध्यायमा मात्रै जोस्मणिको सानो कथा छ । त्यो आधार–कथा भएकोले मात्रै राखिएको हो ।

यसरी हेर्दा जोस्मणि भनेको जोस्मणि होइन । उसले बाँचेको भूगोल, समाज र इतिहासको समष्टि हो । उसकी श्रीमती सारिका, छोरी आराध्या, अलेक्जेन्डर वालेट, पूर्वज निकुञ्ज, ईडा र पिङ्गला, मौनी बाबा, माक्सोती, सुकाराम तान्त्रिक, बूढो प्रचण्ड आदिको मिस्कट चरित्र हो । यिनै पात्रहरूको कथाले जे जस्तो प्रभाव जोस्मणिको जीवनमा पारेका छन्, त्यही नै जोस्मणिको चरित्र हो । त्यही प्रभाव नै खासको जोस्मणि हो ।

धेरै पाठकहरूले मलाई सोध्ने गर्छन्, “के पैतालाले सिक्वेलको माग गरेको हो ?”

उपन्यासको कथा ओपन इन्डिङ भएको हुनाले यस्तो प्रश्न आएको हुनुपर्छ । प्रश्न सुनेर म हाँस्छु अनि ‘हो’ भनिदिन्छु । पाठकको प्रश्नको खास कारण के हो भने हामीकहाँ रहस्य–कथा पढ्ने खास बानी नै भएन । हामी कथामा सुखद होस् या दुखद्– एउटा अन्त्य चाहन्छौँ । तर मिस्टिक न्यारेसनको मुख्य कुरा नै अन्त्य नहुनु हो । कम्तीमा अन्त्यको ज्ञान नहुनु हो । जस्तो कि हाम्रै समाजमा हेरौँ न । माओवादी युद्धमा बेपत्ता भनिएका नागरिकको कथा मिस्टिक कथा हो । हामी सबैलाई लगभग थाहा छ, तिनीहरू मरिसकेका छन् । तर पनि कतै आई पो हाल्छन् कि भन्ने आशा पनि छ । त्यस्तै मिस्टिक घटना हुन् दासढुंगा र दरबार हत्याकाण्ड । इतिहासमा यस्ता घटनाहरूको लिस्ट लामै छ ।

मान्छेको ज्ञान र विश्वासको निर्माण के भयो (घटना), कसले घटायो (व्यक्ति), कहाँ घट्यो (स्थान), कहिले घट्यो (समय) आदि चार आयाममा मात्रै सीमित छ । यीमध्ये कुनै एकको अनुपस्थितिमा पनि हामी हाम्रो ज्ञान अपूरो/अधुरो भएको महसुस गर्छौं । उता जब कसरी भयो/कस्तो भयो (शैली/प्रक्रिया), किन भयो (कारण) तिर हामी जान्छौं, रहस्यको यात्रा सुरु भइहाल्छ । जब हामी हाम्रा उत्तरमा अधुरा हुन्छौँ, अनि कल्पनाले त्यसलाई पूरा गर्छौं । यो मानवीय स्वभाव हो । यस्ता रहस्यपूर्ण घटनालाई कथामा ट्रिट गर्दा यथार्थवादी भएर प्रस्तुत हुनु जोखिमपूर्ण हुने गर्छन् । यस्ता घटनालाई प्रश्न गर्दा वा सम्बोधन गर्दा स्वैरकल्पनाको प्रयोग गर्नुपर्छ । यस्ता प्रश्न इतिहास, धर्म, संस्कृति, कला, सौन्दर्य चेतना आदि जेमा पनि गर्न सकिन्छ । पैतालाका मूल प्रश्न आध्यात्मिकता, विज्ञान र धर्मका खातिर उभ्याइएका छन् ।

१२ खरीबाट साभार 

Write a Comment

Events
Random Picks