पोखरामा नेपाल भाषाको चलचित्र ‘टुयुमति’ प्रदर्शन हुने
7-June-2017

 

उमा आलेमगर
पोखरा, २५ जेठ

नेवा पत्रकार पुच तथा मिस नेवा पुच कास्कीको संयुक्त आयोजनामा नेवारी भाषाको चलचित्र ‘टुयुमति’ पोखरामा प्रर्दशन हुने भएको छ । नेवा छें भिमसेनटोलमा जेठ २७ गते शनिबार अपराह्न ३ बजे उक्त चलचित्र प्रदर्शन गरिने कार्यक्रम संयोजक तथा नेवा पत्रकार पुच कास्की अध्यक्ष सन्जय मल्लले बताए । चलचित्रका ५ जना टिम सहित उपस्थितीमा पोखरामा उक्त चलचित्र प्रदर्शन गर्न लागिएको हो । 

युवपुस्तालाई मौलिक भाषा र संस्कार प्रति आकर्षित गर्नका लागि पोखरामा पहिलो पटक नेवार भाषाको चलचित्रलाई सार्वजनिक प्रर्दशन गर्न लागिएको हो मल्लले भने । 

अनु श्रेष्ठको निर्माण तथा आर्यम नकमिको निर्देशनमा बनेको चलचित्रमा मनिष श्रेष्ठ, अर्नेश्वरी शिल्पकार, मर्टा, राजाराम पौडेल, ह्दय प्रसाद मिश्र, गणेशराम लछि, सुशिल प्रजापति, सविन शाक्य लगायतका कलाकारहरुको अभिनय रहेको छ । 

त्यस्तै चलचित्रमा मदनकृष्ण श्रेष्ठ, धिरेन शाक्य, राजेन्द्र खड्गी र हिसिला महर्जन अतिथी कलाकारका रुपमा अभिनय गरेका छन् । शहरिया नेपाली समाजको कथालाई बैदेशिक रोजगार संग सुन्दर ढंगले संयोजन गरि त्यसले नेपाली सभ्यता र संस्कारमा पारेको प्रभावलाई चलचित्र देखाउने खोजेको छ । चलचित्रको छायाकंन नेपाल र बेलायत दुबै ठाँउमा गरिएको छ । मिस नेवा पोखरा ११३७ तथा कार्यक्रमका सहसंयोजक अंशु शाक्यले आफ्नै मौलिक भाषा र संस्कारलाई उजागार गर्ने चलचित्र हेर्न निमन्त्रणा गर्दै, चलचित्रले समाजको यथार्थ झल्काउनुका अलावा युवा पिँढिलाई स्वदेशमै रहन प्रेरित गर्ने बताए । 

सोही दिन नेवा खलः कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको बिभिन्न वडामा विजयी भएका वडा अध्यक्ष र सदस्यहरुलाई सम्मान गरिने कार्यक्रम रहेको खल कास्की अध्यक्ष अशोक पालिखेले जानकारी दिएका छन् । 

 

Write a Comment