‘तिमीसँग’ को टीजर र रिलिज डेट सार्वजनिक
17-June-2017


जकसन डटकम
पोखरा, ०३ असार

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहद्धारा अभिनित फिल्म ‘तिमीसँग’ को टीजर र रिलिज डेट सार्वजनिक भएको छ । हालैमा निर्माणपक्षले फिल्मको टीजर सार्वजनिक गर्दै ‘तिमीसँग’को रिलिज डेट पनि घोषणा गरेको हो । संवाद समाबेश नगरिएको टीजरले नायिका साम्राज्ञी, नायकद्धय आकाश श्रेष्ठ र नाजिर हुसेनको प्रेमभाव बोल्छ । टीजर हेर्दा सजिलै के अनुमान लगाउन सकिन्छ भने फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ । 
 
नायिका करिश्मा मानन्धर पनि टीजरमा अटाएकी छिन् । फिल्मको एक गीतमा करिश्माले ठुम्का लगाएकी छिन् । फिल्मलाई शिशिर रानाले निर्माण र निर्देशन गरेका हुन् । फिल्मको कथा पनि शिशिरकै हो । फिल्ममा रोशन भट्टराईको एक्सन, कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी र सुशिल क्षेत्रीको छायांकन छ ।
 
अचम्म त के छ भने साम्राज्ञी अभिनित अर्को फिल्म ‘ए मेरो हजुर २’ ‘तिमीसँग’ रिलिजको ठिक एक हप्ता पछाडि रिलिज हुँदैछ । ‘ए मेरो हजुर २’ ले भाद्र १६ मा रिलिज गर्ने घोषणा गरिसकेको अवस्थामा यसको एकहप्ता अगाडि एउटै स्टार अभिनित फिल्म ‘तिमीसँग’ रिलिज गर्नुले भाद्र महिनाको लडाईलाई थप रोचक बनाएको छ । अब साम्राज्ञीले ‘तिमीसँग’ रिलिजको एकहप्ता वित्दै गर्दा आफू अभिनित अर्को फिल्म ‘ए मेरो हजुर २’ सँग भिडन्त गर्नुपर्नेछ । यसले दुवैपक्षलाई सुखद अनुभुती भने गर्न दिने छैन् ।

Write a Comment

Events
Random Picks