‘धनपति’ अंग्रेजी सव—टाइटलमा रिलिज हुने
20-June-2017


जकसन डटकम
पोखरा, ०६ असार

नेपाली दर्शकलाई मात्र होइन विदेशीहरुलाई पनि हलसम्म तान्न यो फिल्म अंग्रेजी सव—टाइटलमा रिलिज हुने भएको छ । विस्तारै नेपाली फिल्मप्रति बढ्दै गएको विदेशीको चासोलाई मध्यनजर गर्दै ’धनपति’ टिमले काठमाडौंको कुमारी हलमा मात्र अंग्रेजी सव—टाइटल राखेर फिल्म रिलिज गर्न लागेको हो । 
 
असार २३ गतेबाट अल नेपाल प्रदर्शनमा आउन लागेको फिल्म ’धनपति’ ट्रेलरबाट नै प्रतिक्षित बनेको छ । यसअघि ‘पशुपतिप्रसाद’ निर्माण गरेकै ब्यानर टुकी आर्टस् र दीपेन्द्र के खनाल प्रोडक्सनले संयुक्त रूपमा बनाएको ‘धनपति’ मा पनि ‘पशुपति प्रसाद’ कै खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् । सुरक्षा पन्त, आशान्त शर्मा, मनीष निरौला, सुरभी बर्तौला, हरिहर शर्मा, रवि गिरी, कमल देवकोटा, प्रकाश घिमिरेको पनि फिल्ममा मुख्य भूमिका छ । 
 
’फिल्मीखबर डटकम’सँग कुराकानी गर्दै निर्देशक दीपेन्द्र के. खनालले भने, ’नेपालमा लामो समयदेखि रहँदै आएका विदेशीहरुले नेपाली फिल्म हेर्न चाहेका कारण हामीले कुमारी हलमा मात्र अंग्रेजी सव(टाइटल राखेर ’धनपति’ रिलिज गर्न लागेका हौं । विभिन्न कुटनीतिक नियोगका कर्मचारीहरुलाई अंग्रेजी सव(टाइटल नभएपछि नेपाली फिल्म हेर्न निकै गाह्रो हुँदो रहेछ । युट्युब, फेसबुक लगायतका सामाजिक सञ्जालमा विदेशीहरुले अंग्रेजी सव(टाइटलमा फिल्म ’धनपति’ हेर्ने इच्छा व्यक्त गर्नुभएको छ । त्यसैले नै हामीले ’धनपति’ अंग्रेजीमा सव(टाइटल राखेर रिलिज गर्न लागेका हौं ।’ 
 
उनले नेपालको कला, संस्कृतिमा रुची राख्ने पर्यटकहरुले पनि नेपाली फिल्म हेर्न इच्छा व्यक्त गरेका कारण ’धनपति’लाई अंग्रेजी सव(टाइटलमा प्रदर्शन गर्न लागेको बताए । फिल्ममा सूर्य थोकरको एक्सन, आधासुरको संगीत, दिर्घ खड्काको सम्पादन, दीपेन्द्र के खनालकै छायांकन छ । ओम गुरुङ सहायक निर्माता रहेको फिल्ममा रजना नापित र समीर देवकोटा सह(निर्माताको रुपमा छन् ।

Write a Comment

Events
Random Picks