'एक्सन आर्ट’मा भ्रुणहत्यादेखि मानविय संवेदनाका कुरा
16-June-2015

विश्वका अन्य देशमा फैलँदै गएको ‘एक्सन आर्ट’ नेपालमा पनि केही समयदेखि अभ्यास हुन थालेका छन् । त्यस्तै प्रस्तुति ललितकलाको फरकफरक विद्यामा काम गर्दै आएको ‘बिन्दु–अ स्पेस फर आर्टिस्ट’ नामक संस्थाले आइतबार राजधानीको होटल ह्यातको ‘तारा गाउँ’ म्युजियममा ‘लाइभ पर्फमेन्स आर्ट २०१५’ आयोजना गर्‍यो ।

‘पर्फमिङ आर्ट पनि आर्टको एउटा फर्म हो’ भन्ने बुझाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा करिब एक दर्जन जना कलाकारले लाइभ प्रस्तुति दिएका थिए ।

‘लाइभ पर्फमिङ आर्ट’ मा निश्चित विषय, समय, शैली, स्थान लगायतका नियम नतोकी प्रस्तुत गर्ने कलाको एक विद्या मानिन्छ । यस विद्यामा कलाकारले आफ्नो ढंगले मुर्तिकला, संगीत, नाटक, कविता, पेन्टिङ लगायत अन्य भौतिक सामग्रीको सहायताले मानविय संवेदनालाई व्यक्त गर्ने गर्दछन् । नेपालमा व्यावसायिक नभइसकेको यो विद्यालाई अन्य विद्याको तुलनामा बुझ्न गाह्रो मानिन्छ ।

यस्तै बुझ्न गाह्रो प्रकृतिको प्रस्तुति गर्दै सुन्दर लामाबाट कार्यक्रमको सुरुवात भयो । लामाले ‘पराकम्पन’ शिर्षकमा रंग, कविता र नाटकिय शैलीलाई प्रयोग गर्दै मानिस जतिसुकै ठूलो स्थानमा पुगे पनि धरातलमै फर्कनुपर्छ भन्ने भावको प्रस्तुति दिएका थिए । उनका अनुसार उनको प्रस्तुतिले मानविय कुण्ठा, आस्था, र हरेक चिज अपुर्ण हुन्छन् भन्न खोजेको हो ।

त्यसैगरी दोस्रो प्रस्तुतिमा दिपमाला महर्जनले ‘पिस अफ केक’ शीर्षकमा केकमा ६ वर्षदेखि ७० वर्षसम्म उमेर लेखेर ६ वर्षदेखि ७० वर्ष उमेरसम्मका महिला बलात्कृत हुँदै आएको बिम्ब प्रस्तुत गरिन् । उनले केकलाई नारी संकेत मानेको बताइन् । केकलाई टुक्रा पारेर सुरुमा पुरुषलाई मात्र बाँडेकी उनले हरेक बिहान पढिने बलात्कारका समाचार आफूलाई केकका टुक्राजस्ता लाग्ने भएकाले प्रस्तुतिको नामै ‘पिस अफ केक’ राखेको बताइन् ।

 

कार्यक्रममा रिति महर्जनले प्रस्तुतिको सुरुवाति ठूलो कपडामा आफू नाच्दै गरेकोबाट सुरु गरेकी थिइन् । तर, विस्तारै उनले त्यसलाई पट्याउँदै÷पट्याउँदै पैताला पनि मुस्किलले अट्ने गरि पट्याइन् । ‘एडजसमेन्ट’ शिर्षकको उक्त प्रस्तुतिलाई उनले मानिस जस्तै परिस्थिति र स्थानमा पनि बाँच्नुपर्छ भन्ने सन्देश दिइन

कार्यक्रममा विदेशी कलाकारको पनि प्रस्तुति रह्यो। जापानी कलाकार सेइजी सेमोदाले टेपले टाँसेर खातै पत्रिकालाई ढाडमा लगेर भ्यागुताजस्तो उफ्रिने शैली प्रस्तुत गरे। आफ्नो प्रस्तुतिले शान्ति देखाउन खोजेको बताए । उनले विश्वमा एक्सन आर्टको विस्तार भइरहेकाले नेपालमा पनि विस्तारै प्रभाव जमाउने विश्वास राखे ।

कार्यक्रमका अन्य प्रस्तुतिहरुमा शशी महर्जनले ‘रिलेसन मेमोरी’ शीर्षकमा क्यासेटको रिलले साथीहरुलाई बाँधेर मानिसहरुमा सम्बन्ध मृत्यु पश्चात पनि नसकिने देखाइन्।

त्यसैगरी, सौरगंगा दर्शनाधारीले ‘टेन्ट’ ऐनाको प्रयोगबाट मानिसले अपरिचियहरुसँग पनि मिलेर बस्नुपर्ने सन्देश बोकेको प्रस्तुति दिइन्। पृथ्वी श्रेष्ठले ‘भ्रुणहत्या’मा अण्डा र रातो रंगको प्रयोगबाट दिनानुदिन बढ्दै भ्रुणहत्या जस्तो अपराध बढ्दै गइरहेको देखाए ।

 

कार्यक्रमका आयोजक समेत रहेका श्रेष्ठले आफूहरुले गरेको कार्यक्रमले कला प्रदर्शनका लागि निश्चित स्थान कुर्नुपर्ने मान्यता लाइभ आर्टले भत्काउने बताए । उनले भने,‘लाइभ आर्टले परिवर्तन, अभियान र ओपन स्पेशलाई एकैसाथ प्रतिनिधित्व गर्ने भएकाले नेपालका कलापारखीमा पनि यसको महत्व बढ्दै जानेछ भन्ने विश्वास छ ।’

 

source:http://kala.setopati.com/news/1249/

 

Events
Random Picks