शिल्पाको ‘वीराङ्गना’को औपचारिक रुपमा निर्माण घोषणा
3-July-2017


जकसन डटकम
पोखरा, १९ असार

‘लज्जा’बाट नेपाली फिल्ममा पाइला राखेकी नायिका शिल्पा पोख्रेलको मुख्य भूमिका रहने नयाँ फिल्म ‘वीराङ्गना’को औपचारिक रुपमा निर्माण घोषणा गरिएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बिच फिल्मको घोषणा गरिएको हो । फिल्ममा नायिका शिल्पा पोख्रेल एक लडाकु महिलाको भूमिकामा प्रस्तुत हुँदैछिन् । 
 
शिल्पाका अलावा फिल्ममा अनुप विक्रम शाही, पृथ्वीराज प्रसाई, धीरेन शाक्य, सुनील दत्त पाण्डे, सुशील पोख्रेल लगायतका कलाकारहरुको मुख्य भूमिका रहनेछ । गएको वर्ष प्रदर्शनमा आएको फिल्म ’वृन्दावन’का निर्देशक राजबहादुर सानेले यो फिल्म निर्देशन गर्न लागेका हुन् । फिल्मको कथा पनि निर्देशक सानेकै हो । 


 
फिल्मको विषयमा जानकारी दिँदै निर्देशक सानेले भने, ’नेपाली लडाकु नारीहरुको वीरता र बहादुरीलाई फिल्ममा देखाउन लागेका हौं । फिल्ममा तालिम प्राप्त घोडा र बाँदरको पनि अभिनय रहनेछ ।’ यसअघि सानेले फिल्म ’वृन्दावन’मा पनि बाँदरलाई मुख्य भूमिकामा प्रस्तुत गरेका थिए । यस्तै, नायिका शिल्पा पोख्रेलले फिल्मको कथावस्तु मनपरेका कारण ’वीराङ्गना’मा काम गर्न लागेको बताइन् । उनले फिल्ममा सशस्त्र प्रहरीको भूमिकामा निर्वाहा गर्दैछिन् । 
 
फोर्थ आई मुभिज प्रा.लिको ब्यानरमा निर्माण हुने यो फिल्मलाई बाबुराम दास, श्याम बहादुर थापा र रघु परियारले निर्माण गर्न लागेका हुन् । फिल्मका कार्यकारी निर्माता किशोर झा हुन् । फिल्ममा श्रीकृष्ण श्रेष्ठको द्धन्द्ध निर्देशन, कविराज गहतराजको कोरियोग्राफी, हरि घले लामाको छायांकन र दीपक शर्मा र पुरुषोत्तम न्यौपानेको संगीत रहनेछ ।

Write a Comment

Events
Random Picks