नवौं मिस पोखरा २०१७ को आवेदन खुल्ला
14-July-2017

पोखरामै पहिलो पटक सौन्दर्य प्रतियोगिता सुरुवात गरेको पोखरा जेसिसले मिस पोखरा २०१७ को लागि आवेदन खुल्ला गरेको छ । शुक्रवारदेखि नवौ मिस पोखरा २०१७ को आवेदन खुल्ला गरिएको जेसिसले जनाएको छ ।

पत्रकार सम्मेलन मार्फत दिइएको जानकारी अनुसार १८ देखि २४ बर्ष उमेर समुहका ५ फिट ४ इन्च उचाई भएका अविवाहित युवतीले प्रतियोगिताको सहभागीताको फर्म भर्न सक्ने आयोजकले जनाएको छ । सुरुवाती चरणमा सहभागीताको आवेदन दिन कुनै शुल्क नलाग्ने कार्यक्रम संयोजक शिबप्रसाद सापकोटाले जानकारी दिए । सहभागीताको लागि आवेदन दिएका मध्येबाट छनौटमा परेका प्रतियोगिले भने निश्चित रकम तिर्नुपर्नेछ ।

सहभागीताको फर्म भरेका मध्येबाट छनौट गरी आगामी भदौ ६ गतेदेखि अभिमुखीकरण सहितको प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने र फाइनल प्रतियोगिता आगामी असोज २१ गते पोखरा सभागृहमा हुने सापकोटाले बताएका छन् । प्रतियोगिताको लागि छनौटमा परेका सहभागीलाई ब्यक्तित्व तथा नेतृत्व विकास तालिम, अभ्यास, ऐतिहासिक, सास्कृतिक तथा पर्यटकिय स्थलहरुको अबलोकन समेत गराइने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले स्वत :  मिस नेपालमा प्रवेश पाउने र स्कुटर सहितका अन्य पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको नवौ संस्करणमा ३५ भन्दा बढीले सहभागीता जनाउने अपेक्षा गरिएको छ ।

प्रतियोगिता सम्पन्न गर्न २४ लाख ८५ हजार खर्च लाग्ने र अनुमानित साढे २८ लाख रुपैया आम्दानीको लक्ष्य राखिएको छ । प्रतियोगिताको तयारी सुरु भएकाले प्रायोजक सम्झौता भने हुन बाँकी रहेको आयोजक संस्थाका अध्यक्ष शिबप्रसाद कोइरालाले जानकारी दिए ।

Write a Comment

Events
Random Picks