पोखराबाट पनि स्तरिय र व्यवसायिक रुपमा सफल चलचित्र निर्माण हुन्छन् : पोखरेली निर्देशक
21-August-2017


उमा आलेमगर
पोखरा, ०५ भदौँ
पछिल्लो क्रममा नेपाली चलचित्र क्षेत्र उद्योगले छलाङ्ग मार्दै गइरहेको छ । कारण हो एक पछि अर्को हिट नेपाली चलचित्र । चलचित्र बजारमा अहिले एक पछि अर्को चलचित्रले सफलता हासिल गर्दै गइरहेको छ । नेपाली दर्शकको मन त जितेका नै छन् नेपाली चलचित्रले व्यवसायिक सफलता पनि हासिल गर्दै गइरहेको छ । 

बलिउड सुपरस्टार सलमान खान अभिनित “ट्युवलाईट” र शारुख खान अभिनित चलचित्र “जब ह्यारी मेट्स सेजल” बलिउड नगरीमा असफल त भयो नै नेपाली सिने उद्योगमा पनि धुम मच्चाउन सकेन । 
बलिउड चलचित्रलाई पाखा लगाउँदै चर्चा बटुलिरहेका नेपाली चलचित्र कतिले प्रदर्शनमा आएर धुम मचाएर गइसके भने कत्ति प्रदर्शनमा त कति  प्रदर्शनको तयारीमा छन् । 
अहिले यू—टुवमा चलचित्रका ट्रेलर्स, गीत संगीतले भियोर्स बढाउने ट्रेन्ड नै बसेको छ । तर जति नै चलचित्र सफल भएका छन्, ती काठमाण्डौँ केन्द्रित छन् । मोफसलबाट कमै मात्र चलचित्र निर्माण हुन्छ भने ती मध्ये पनि एकाध मात्र सफल हुन्छन् ।

फिल्म सिटीको रुपमा चिनिने पोखराबाट पनि थुप्रै  नेपाली चलचित्र निर्माण भएर प्रदर्शन पनि भैसकेका छ्न । 
एक ताका “तृष्णा”, “कन्यादान” जस्ता चर्चित फिल्महरु निर्माण भएको इतिहास पनि पोखरासँग छ । मोफसलमै भाषभाषीको चलचित्र निर्माण हुनेमा पोखरा एक नम्बरमा नै पर्छ । अहिले पनि भाषाभाषीको चलचित्र निर्माण हुने क्रम तिव्र छ तर नेपाली चलचित्र निर्माणमा कमी आएको महसुस गर्न सकिन्छ । 
पोखराबाट स्तरिय चलचित्र निर्माण हुन नकसेको तथा स्तरिय चलचित्र निर्माण भएर सफल भए पनि व्यवसायिक रुपमा सफल हुन नसकेको आरोप लाग्ने गरेको छ । तर पोखरेली निर्देशकहरु भने पोखराबाट स्तरिय र व्यवसायिक रुपमा सफल चलचित्र निर्माण नहुनेमा कुरामा सहमत छैनन् । 


निर्देशक नेत्र गुरुङले पनि यस कुरालाई ठाडै अस्विकार गर्छन् । काठमाण्डौँ भन्दा पोखरा केही कुराले कमी नभएको उनको दाबी छ । 
उनल् भने—काठमाण्डौँमा चलचित्र निर्माण गर्दा चाहिने स्रोत साधन र जनशक्ति पोखरामा पनि छन् । पोखरामा निर्माण हुने चलचित्रमा काठमाण्डौँबाट कलाकार ल्याएर अभिनय गराउन पनि सक्छौँ । पोखराबाट राम्रो चलचित्र नबनेका होइनन् । सफलताकै कुरा गर्ने हो भने पनि काठमाण्डौबाट निर्मित सबै चलचित्रले व्यवसायिक सफलता कहाँ हासिल गरेका छन् र ? 


पछिल्लो क्रममा पोखराबाट  भाषभाषीको चलचित्रहरु धेरै निर्माण भए पनि नेपाली चलचित्र मोफसलमा त्यत्ति निर्माण नभएको भने उनी स्विकार्छन् । चलचित्र “नाईके ” का निर्देशक समेत रहेका उनले काठमाण्डौका सिनेमा भनेपछि महत्व दिएर हेरिदिने तर मोफसलमै बनेको चलचित्र भनेपछि त्यत्रि महत्व नदिने समस्या रहेको बताउँछन् । 
यसलाई मिडियाले पनि बुझ्न जरुरी भएको भन्दै उनले स्थानियबाट उत्पादित चलचित्रलाई महत्व दिएर प्रचार गर्न आग्रह गरे । कति चलचित्र राम्रो मेकिङ्ग, राम्रो स्क्रिप्ट नभएर पनि असफल हुने गर्छन् तर पोखराबाट निर्माण गरिएका सबै चलचित्र असफल भने भएका छैनन्  ।  ‘धौँली’, ‘नाईके’, ‘पुरानो डुङ्गा ' जस्ता सफल फिल्म पनि पोखरामा निर्माण भएका हुन् । उनले भने ।  
उनले बलिउड सुपरस्टार सलमान खान अभिनित “ट्युवलाईट” र शारुख खान अभिनित “जब ह्यारी मेट्स सेजल” जस्तो चलचित्र असफल भएको रेकर्ड पनि हामीसँग भएको बताए । अहिले व्यवसायिक रुपमा सफल चलचित्रलाई मात्रै राम्रो मान्ने परिपाटीले पनि चलचित्र उद्योगमा प्रभाव पारेको उनको बुझाई छ । यदि व्यवसायिकता कै कुरा गर्ने भने चलचित्र ‘नाईके’ ले मध्यम व्यापार गरेको उनले बताए । 
मोफसलमा समस्या नभएका होइनन् तर समस्या पहिल्याउँदै राम्रो चलचित्र निर्माण गर्ने हो भने पोखराले राम्रो र सफल चलचित्र निर्माण गर्न सक्ने उनको ठोकुवा छ । मेकिङ्गमा पनि पोखरा काठमाण्डौँ भन्दा राम्रो छ । भोलिको दिनमा राम्रो टिम लिएर राम्रो स्क्रिप्ट बनाएर र होमवर्क गरेर लाग्यौँ भने काठमाण्डौँबाट निर्माण हुने चलचित्रलाई टक्कर दिने खालको चलचित्र पोखराबाटै निर्माण गर्न सकिने गुरुङको बुझाई छ ।

यस्तै निर्देशक घनश्याम लामिछानेले मोफसलमा पहिलेको चलचित्र भन्दा ( दुईचार वटा बाहेक ) अहिले धेरै राम्रो चलचित्र निर्माण हुने क्रम बढेको बताउँछन् । ‘धौँली’, ‘नाईके’, ‘पुरानो डुङ्गा '  जस्ता सफल चलचित्र पोखराबाट निर्माण भएको उनले बताए । तर  मेकिङ्ग हराएको जस्तो महसुस हुने गरेको भन्दै उनले पोखराले लिडिङ्ग गर्न नकसेको उनको भनाई छ । 
ब्यबसायिक सफलतालाई मात्र सफलता मान्ने हो भने चलचित्रले व्यवसायिक नाफा कमाउन नसक्नु हाम्रो कमजोरी भएको स्विकार गरे । पोखराबाटै निर्माण भएको चलचित्र “धौँली” व्यवसायिक रुपमा नाफामुखी नभएपनि चलचित्र राम्रो बनेको दाबी गर्दै उनले भने— मनोरञ्जनात्मक र मायाप्रेमका त जसले पनि बनाउँछ, छुट्टै किसिमको चलचित्र बनाउने हाम्रो उद्देश्य थियो । 


लामिछानेले केन्द्रलाई नै धक्का दिने खालको चलचित्र बनाउन सक्यो भने पोखरालाई पनि राम्रो हुने बताए । त्यसका लागि हामी निर्माताहरु लागि रहेका छौँ । अहिले शोक रहरले मात्र फिल्म ईन्डष्ट्रिजमा आउनेको संख्या ह्वात्तै बढेको भन्दै उनले भने— लुक्स् राम्रो भएको तर अभिनय राम्रो नभएको आउँछन्, कत्ति आफ्नो कमपनीले उत्पादन गरेको फिल्म मात्र खेल्ने, आफ्नो रेट १० लाख १५ लाख भन्दै आफैले तोक्ने, त्यसताले चलचित्र र चलचित्र उद्योगलाई केही योगदान गर्दैन, तिनिहरु आए पनि काम छैन, नआएर पनि काम छैन हामीलाई । 

निर्देशक माओत्से गुरुङ पनि पोखराबाट स्तरिय र व्यवसायिक रुपमा सफल चलचित्र निर्माण नहुनेमा सहमत छैनन् । चलचित्रको सफलताको लागि व्यापार नै ठूलो कुरा नभएको गुरुङ बताउँछन् । 
यदि व्यापारकै कुरा गर्ने हो भने चलचित्र ‘पुरानो डुङ्गा’ व्यवसायिक रुपमा सफल भएको उनले बताए । पोखराबाट ‘धौँली’, ‘नाइके’, ‘पुरानो डुङ्गा’ जस्तो सफल चलचित्र निर्माण भएको उनको दाबी छ । 


‘प्रेमगीत—२’ जस्तो हिट चलचित्र पनि पोखराकै निर्माता सन्तोष सेनले निर्माण गरेको उनले बताए । एकाध असफल चलचित्र होलान् तर सबै चलचित्रलाई एउटा नजरबाट हेर्नु पनि हुदैँन । चलचित्र सफल भएन मात्रै भन्दा पनि कसरी राम्रो र सफल चलचित्र बनाउने त्यो तिर ध्यान दिन सके उपयुक्त हुने गुरुङको भनाई छ । एउटा चलचित्रलाई कसरी राम्रो बनाउने भन्ने सम्पूर्ण जिम्मेवारी निर्देशकको हुने उनको बुझाई छ । 
चलचित्रलाई राम्रो बनाउन राम्रो स्क्रिप्टको पनि त्यत्तिकै भूमिका हुने उनले बताए । पछिल्लो क्रममा अभिनय नै नबुझिकन शोक र रहरले मात्र पनि यो क्षेत्रमा छिर्दा चलचित्र गुणस्तरियता हराउने हुदाँ नयाँ आउने पिढीले राम्रोसँग अभिनय बुझेर र सिकेर आउन गुरुङको सुझाव छ । त्यसको लागि अभिनय  सिकाउने ट्रेनिङ्ग, वोर्कसप गर्न आवश्यक देखिन्छ । जसले अभिनय गर्ने कलालाई निखार्छ । यसको व्यवस्थाको लागि राज्यले अभिनय सिक्नको लागि एउटा स्कुल खोल्न पहल गर्नुपर्ने गुरुङले बताए ।