एक साता पछि स¥यो ‘ऐश्वर्य’
29-August-2017


जकसन डटकम
पोखरा, १३ भदौँ

कात्तिक २ गतेलाई रिलिज कन्फर्म गरिएको रमेश उप्रेतीको अभिनय र निर्माण रहेको फिल्म ’ऐश्वर्य’को रिलिज एक साता पछाडि सरेको छ। सोमवार फिल्म निर्माता र वितरकसँगको छलफलबाट ’ऐश्वर्य’को रिलिज एक साता पछाडि सार्ने सहमती भएको हो । अब यो फिल्म कात्तिक ९ गते अर्थात् छठ पर्वको दिनबाट अल नेपाल प्रदर्शनमा आउने निर्देशक दीवाकर भट्टराईले जानकारी दिए । 

मिडियासँग कुराकानी गर्दै निर्देशक भट्टराईले भने, ’नेपाली दुई फिल्म र बलीउडका दुई फिल्म कात्तिक २ गतेबाट एकसाथ प्रदर्शनमा आउने भएपछि हामी एक साता पछाडि सरेका हौं । नेपाली फिल्मसँग अर्को नेपाली फिल्म जुध्नु दुःखद कुरा हो । एकै मितिमा धेरै फिल्म जुध्दा घाटा त सबैलाई नै हुन्छ । हामीले इगोमा कसैलाई हराउनका लागि फिल्म बनाएका होइनौं । धेरै फिल्म रिलिज हुँदा हल संख्या र फिल्मको व्यापार पनि कमजोर हुने भएका कारण प्रोडक्शन हाउस र वितरकसँगको छलफलबाट ’ऐश्वर्य’को रिलिज डेट कात्तिक ९ गतेलाई फाइनल गरेका हौं ।’ 

फिल्म ‘ऐश्वर्य’मा रमेश उप्रेती, दीपिका प्रसाई, केकी अधिकारी , प्रशान्त ताम्राकार , केशव भट्टराई, अर्जुन श्रेष्ठ, निर्मल शर्मा, तेन्जु योन्जन, अर्जुन जंग शाही , सुनिता ठाकुर लगायतको अभिनय रहेको छ । फिल्ममा किरण राणा उप्रेती र अर्जुन श्रेष्ठ निर्माता रहेका छन् भने निर्मल शर्मा सह( निर्माता रहेका छन् । फिल्ममा सम्पादन दिर्घ खड्का , संगीत अर्जुन पोखरेल र बिराज गौतम , कलर राजेन्द्र मोक्तान , द्वन्द हिमाल केसीको रहेको छ ।

कात्तिक २ गते दुई नेपाली फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ सँगै बलीउड स्टार आमिर खान अभिनित ‘सेक्रेट सुपरस्टार’ र अजय देवगन अभिनित ’गोलमाल ४’ पनि प्रदर्शनमा आउँदैछ । ‘तिमी रोएको पल’ बोलको गीतबाट निकै चर्चामा रहेको फिल्म ‘ऐश्वर्य’ एक हप्ता पछाडि सर्दा नेपाली फिल्म ‘रुद्रप्रिया’ र ‘रानी’ लाई भने ठूलो राहत मिलेको छ ।