प्रदीपको चुरीफुरी
13-October-2017

प्रदीप खड्का अभिनीत प्रेमगीत २ हिट भयो । नयाँ फिल्म लिलीबिलीबाट २३ लाख रुपियाँ पारिश्रमिक लिए । यही फिल्मको प्रेस मिटमा चार जना बडीगार्डसहित उपस्थित भए । शंकै छैन, प्रदीप ‘टक अफ द टाउन’ बनेका छन् । तर, यत्तिमै सीमित भएन चर्चा । प्रेमगीत २ का निर्माता सन्तोष सेनले ५३ लाख रुपियाँ पर्ने कार उपहार दिएपछि त उनीतिर पूरै फिल्मवृत्तको ध्यान तानिएको छ ।

कतिपयले यसलाई आत्मरतिमा रमाउने मेलोका रुपमा टिप्पणी गरेका छन्, कतिले सस्तो प्रचारबाजी । त्यस्तै, उनको स्टारडमको प्रभाव मान्ने पनि उत्तिकै छन् । जे होस्, प्रदीपले आमअभिनेता, अझ अनमोल केसीभन्दा आफूलाई माथि उभ्याउने प्रयास गरेकै छन् । त्यति मात्र होइन, राष्ट्रपतिलाई जस्तै आफूलाई पनि सुरक्षागार्ड दिएर ‘सम्मान’ गरिएको भन्नसमेत बाँकी राखेनन् । तर, यो चुरीफुरीलाई टिकाइराख्न सक्षम होलान् त उनी ? शंकै छ । यस्तै प्रवृत्तिका कारण रमेश उप्रेती, धीरेन शाक्यदेखि आर्यन सिग्देलसम्म पाखा लागेको तीतो यथार्थ जो छ ।