महिला हिंसालाई हाँसोको कारण बनाइन्छ भने सहन्नः ऋचा शर्मा
27-November-2017

नायिका ऋचा शर्माले महिला हिंसालाई हाँस्ने कारण बनाइन्छ भने त्यसलाई आफूले नसहने प्रतिक्रिया दिएकी छन्। एक अन्तक्रिया कार्यक्रममा ‘छक्का पञ्जा २’ को दृश्यलाई लिएर शर्माले दिएको अभिव्यक्तिलाई फिल्मका निर्माता, निर्देशक र कलाकारले सामाजिक सञ्जालमार्फत आपत्ति जनाएपछि शर्माले यस्तो बताएकी हुन्।


‘मैले कुनैपनि चलचित्र हेर्ने दर्शक मुर्ख हुन् भनेर कहिल्यै बोलेकी छैन तर जिन्दगीको कुनैपनि मोडमा होस् वा चलचित्रमा महिला हिंसाको विषयलाई हाँस्ने कारण बनाइन्छ भने म त्यस विषयमा आफ्नो विचार राख्न किन्चित डगमगाउने छैन चाहे संसारले नै मलाई बिरामी सावित गरोस्’, सामाजिक सञ्जाल फेसबुकमा शर्माले लेखेकी छन्।

नायिका शर्माले केहिदिन अघि एक कार्यक्रममा ‘छक्का पञ्जा २’ हेर्ने दर्शकलाई मुर्ख भनेको भन्दै फिल्मकी निर्देशक दिपाश्री निरौला, निर्माता दिपकराज गिरी लगायतले सामाजिक सञ्जालमा शर्मालाई ‘शिघ्र स्वास्थ्य लाभको कामना’ भन्दै कटाक्ष गरेका थिए।

फिल्म निर्माण पक्षको प्रतिक्रियापछि शर्माले दर्शकलाई मुर्ख नभनेको भन्दै लेखेकी छन्,‘म कलाकार हुँ, दर्शक हुँ तर सबैभन्दा बढि एक महिला हुँ। फिल्ममा एक महिलालाई तारन्तार थप्पड हानेको दृश्यमा मैले ताली बजाउन सकिन भनेकी हुँ। किनभने, अहिलेको समयमा बिहेकै लोभमा कुनै महिलाले यति धेरै थप्पड खाँदैनन्, यदि महिला हिँसामाथि बनेको फिल्म भए ठिकै थियो। तर, यो त कमेडी सिनेमा हो।’

उनले फिल्म निर्माण पक्षलाई गल्ती सुधार्न तयार हुनुपर्ने सुझाव समेत दिएकी छन्। ‘फिल्म मेकरले कहिलेकाँहि आफूलाई सच्याउनु पनि पर्छ, सच्चिनु आफ्नो कद सानो बनाउनु होइन’, शर्मा लेख्छिन्,‘भूँइ र समयसित नजोडिएको मेकर जति नै अग्लो भएपनि उसको जग बलियो हुँदैन।’

शर्माले महिलामाथिको हिंसा नसहने बताइन्। ‘यस विषयमा स्टाटस मार्फत नै स्पष्ट गरेकी छु त्यसैले अहिले धेरै कुरा गर्न चाहन्न’, उनले भनिन्,‘महिलामाथि चलचित्र वा दैनिक जीवन जहाँ हिंसा हुन्छ त्यसलाई सहने पक्षमा म छैन, तर एउटा कार्यक्रममा मैले बोलेको कुरालाई बंग्याइएको छ, मैले दर्शकलाई कतैपनि मुर्ख भनेकी छैन।’

नेपालखबर बाट 

Events
Random Picks