देहरादुनको प्याराडेमा ‘हिमोत्सव’
14-December-2017

शंकर रिजाल

काठमाडौं, २७ मंसिर ।

हिमालयको काखमा रहेको हाम्रो देश नेपाल र छिमेकी राष्ट्र भारतको संयुक्त प्रयासमा यो हिमोत्सव गर्न लागिएको हो । यो संयुक्त सांस्कृतिक कार्यक्रमको हिमोत्सवको आयोजना एम्प मिडिया एण्ड एड्भर्टाइजिङ प्रा.लि. नेपाल र सिग्नेचर इभेन्टोस् भारतद्वारा गरिएको हो ।

यो उत्सव डिसेम्बर महिनाको १५ देखि १७ तारिखसम्म हुनेछ । यो महोत्सव देहरादुनको प्याराडे ग्राउण्डमा हुन लागेको हो । आयोजक संस्थाद्वारा आयोजित “हिमोत्सव“ (हाम्रो उत्सवमा नेपाल र भारतका सांस्कृतिक नृत्य, वाद्यवादन, लोकगीत, लोकनृत्यका प्रस्तुति रहनेछन् । नेपालबाट ७५ जिल्लामा प्रचलनमा रहेका लोकभाकाका गीत र नृत्यलाई नेपालबाट गएका २५ जना कलाकारहरूले प्राचीन वाद्यसामग्रीका साथ प्रस्तुत गर्नेछन् ।

भारतीय भूमिमा गएर एकसाथ भारतीयहरूसँग एउटै मञ्चबाट यसरी आआफ्ना देशका संस्कृति झल्किने कार्य गर्न पाउनु दुबै देशका प्रस्तोता र दर्शकका लागि सुनौलो अवसर हो । दुबै देशका सांस्कृतिक कलकारहरूले एकआपसमा आआफ्नो संस्कृतिलाई साटासाट गर्न पाउने र साझेदारी बढाउन सक्ने अवस्थाको सिर्जना यस उत्सवले गर्ने गराउनेछ । यस उत्सवले पर्यटन, कला, संस्कृति, परम्परा, इतिहास र व्यापारको क्षेत्रमा एक देश र अर्को देशका बीच सामञ्जस्य प्रदान गर्नेछ ।

यस हिमोत्सवमा पचास हजारभन्दा बढी आप्रवासी नेपाली र भारतीयहरूले एउटै मञ्चबाट दुबै देशका संस्कृतिको अवलोकन गर्न पाउनेछन् । यस महोत्सवबाट प्रत्यक्ष रूपमा पाँच लाखभन्दा बढी मानिसले विज्ञापन, सामाजिक सञ्जाल, प्रचारप्रसार कार्यक्रम, पोस्टर आदिको माध्यमबाट जानकारी प्राप्त गर्नेछन् ।


यो हिमोत्सव आयोजकले अहिलेसम्म नेपाल र भारतमा विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । यसै सिलसिलामा यस हिमोत्सवको प्रचारका लागि ललितपुरको पुलचोकस्थित लबिम मलमा ‘लक्ष्य ब्यान्ड’ले बृहत् प्रस्तुति गरेको थियो, जसको टाइटल ‘हिमोत्सव’ नै राखिएको थियो ।

यसैगरी हिमोत्सवमा भाग लिने नेपाली कलाकारहरूले भारतको युएफए अवार्ड र प्यासिफिक मल, देहरादुनमा भव्य कार्यक्रमको प्रदर्शन गरेका थिए । यस कार्यक्रममा उत्तराखण्डका चिफ मिनिस्टर त्रिवेन्द्र सिंह रावत, बलिउड नायिका उर्वशी राउटेला, राजनीतिक र सामाजिक कार्यकर्ता, सांसद माला राज्यलक्ष्मी शाह र ठाकुर भवनाी सिंह पान्वरकोको उपस्थिति थियो ।

हिमोत्सवकै प्रचार कार्यक्रमको सिलसिलामा नेपाली प्रचार कमिटीले देहरादुनमा रहेको प्रद्युम्न शाहको समाधिमा पुष्पगुच्छा अर्पण गर्दै श्रद्धाञ्जली प्रदान गरेको थियो । उक्त श्रद्धाञ्जलीसभाको आयोजना पुरानो दरबारले गरेको थियो । गुठीका अध्यक्ष कुँवरसाब ठाकुर भवानी सिंह पानवरले यस हिमोत्सवले दुई देशबीचमा रहेको सांस्कृतिक समानता, मित्रता, ऐतिहासिक सम्बन्ध आदि अझ प्रगाढ तुल्याउने कुरा बताए । यस कारणले पनि देहरादेनवासी अभैm उत्साहित भएका देखिन्छन् ।

यस हिमोत्सव कार्यक्रमको सफलताका लागि नेपाल पर्यटन बोर्ड, नेपाल भारत मैत्री संघ, लबिम मल, स्मार्ट डोकोलगायतले सहयोग प्रदान गरेका छ ।

Write a Comment

Events
Random Picks