सुनको प्लेटमा खाना खाएको समाचारबारे अमिताभको प्रष्टिकरण
23-July-2015

मुम्बई, श्रावण ७ । केही समय अघि बलिउड सुपरस्टार अमिताभ बच्चनको एउटा तस्वीर सोशल मिडियामा सार्वजनिक भएको थियो, जसमा उनी खाना खाइरहेका देखिन्छन् ।

उक्त तस्वीरका साथ केही भारतीय संचारमाध्यमले दाबी गर्दै लेखेका थिए– अभिताभले भारतका प्रख्यात सुनचाँदी व्यवसायी कल्याण ज्वेलर्स परिवारका साथ खाना खाएका हुन् । 

यतिमात्र होइन, डिनरमा प्रयोग गरिएका प्लेट लगायतका भाँडा सुनबाट बनाइएको दाबी पनि समाचारमा गरिएको थियो ।

‘डिनर सेट’ को मूल्य ६५ करोड भारतीय रुपयाँभन्दा बढी रहेको संचारमाध्यमहरुले जनाएका थिए ।

‘६५ करोडभन्दा बढी मूल्य पर्ने सुनको डिनर सेटमा अमिताभले खाना खाएको’ भन्ने समाचारको चर्चा बढिरहँदा अभिताभले प्रष्टिकरण दिएका छन् ।

उनले सोशल मिडियाबाटै उक्त समाचारको खण्डन गर्दै भनेका छन्, ‘आजको समयमा यदि स्पष्टिकरण दिइएन भने त्यो कुरालाई सत्य मानिन्छ ।’ उनले कल्याण ज्वेलर्स परिवारका साथ नभई आफ्नो दिवंगत मित्र तथा तमिल सुपरस्टार शिवाजी गणेशनको परिवारका साथ डिनर गरेको प्रष्ट पारेका छन् ।

डिनर शिवाजीका छोरा प्रभु गणेशनले आयोजना गरेका थिए । उनले पनि उक्त समाचारप्रति असन्तुष्टि जनाउँदै विज्ञप्ति जारी गरेका छन् । उनले भने, ‘डिनरमा सुनको प्लेट प्रयोग गरिएको होइन, म मिडियामा आएका समाचारको निन्दा गर्दछु ।’

प्रभुका अनुसार आफ्नो पिताको निधनपछि अमिताभ बच्चन गणेशन परिवारलाई सान्त्वना दिन पहिलोपटक आएका थिए । ‘हामीलाई सान्त्वना दिन अमिताभ बच्चन हाम्रो घर आउनु भएको थियो, उहाँ हाम्रो घरमा आउनु पुरै परिवारका लागि विशेष रह्यो, उहाँले हामीसँग समय बिताउनु भयो, त्यस अवसरमा शाकाहारी भोजनको व्यवस्था गरिएको थियो र केराको पत्तामा राखिएको कपर कलरको प्लेटमा खाना पस्किएको थियो ।’ उनले ती प्लेट सुनको नभएको दाबीसमेत गरे ।

उनले भने, ‘हामी निकै भावुक क्षणमा थियौं, त्यसैले मेरो निवेदन छ, यसमाथि अब थप मजाक नगरौं ।’ -एजेन्सी

Write a Comment

Events
Random Picks