‘पिम्फ’को तेस्रो सिजन विहिबारदेखि शुरु ; निशुल्क फिल्म हेर्ने व्यवस्था
21-December-2017

पोखरा, ६ पुस । नेपालको सुदुरपश्चिम क्षेत्रको पृष्ठभुमीमा रहेर तयार पारिएको छोटो फिल्म ‘जालगेडी’को ‘स्क्रिनिङ’सँगै ‘पिम्फ’को तेस्रो सिजन शुरु भएको छ । पोखरा फिल्म सोसाइटीले प्रत्येक वर्ष आयोजन गर्दै आईरहेको पोखरा अन्तराष्ट्रिय पर्वतीय फिल्म फेस्टिभल (पिम्फ) तीन दिनसम्म चल्नेछ ।

नेपाल पर्यटन बोर्डको क्षेत्रीय कार्यालय पोखराका प्रमुख सुर्य थपलियाले उद्घाटन गरेको तेस्रो सँस्करणको पिम्फ अन्तरगत पहिलो दिन १४ वटा फिल्म स्क्रिनिङ भएको फेस्टिभलका सँयोजक सरोज सापकोटाले जानकारी दिए । दर्शकहरुका लागि आयोजकले फेस्टिभलमा निशुल्क फिल्म हेर्ने व्यवस्था गरेको छ ।

त्यसअघि फिल्म फेस्टिभलको उद्घाटन गर्दै थपलियाले फिल्ममार्फत यहाँको पर्यटन प्रबद्र्धनमा ठुलो योगदान हुन सक्ने बताए । उनले यहाँका फिल्मकर्मीहरुले विदेशी पर्यटकहरुलाई यहाँको प्राकृतिक सौन्दर्य, रहनसहन, भेषभुषा, भाषा र सँस्कृतिसँगै विभिन्न सामाजिक र आर्थिक पाटोहरु देखाउन सक्ने संभाव्यता देखाए । साथै फिल्मको माध्यमबाट पोखराको पर्यटन प्रबद्र्धनमा पोखरा फिल्म सोसाइटीले देखाएको अग्रसरता प्रशंसनीय भएको उनले सुनाए ।

त्यस्तै चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष रेम बिकले फेस्टिभल हरेक सेक्टरका मानिसहरुको लागि फलदायी रहेको बताए । उनले यहाँका फिल्मकर्मीहरुले त झन् फेस्टिभल छुटाउनै नहुने समेत बताए । विभिन्न मुलुकका फिल्मकर्मीहरुले निर्माण गरेको फिल्मले फिल्म अध्ययन गरिरहेका फिल्मकर्मीहरुलाई त अझै बढि लाभ हुने बताउँदै उनले पोखरा फिल्म सोसाइटीले गरेको प्रयास निकै राम्रो भएको प्रतिक्रिया दिए । साथै उनले पोखरालाई फिल्म सिटी बनाउने कुरालाई मुर्त रुप दिन पनि यस्तै प्रकृतिका थुप्रै फिल्म सम्बन्धि गतिविधि पोखरामा हुनुपर्ने धारणा व्यक्त गरे ।

जालगेडीसँगै इन सर्च अफ देवकी, पेम्बा रिटन्र्स टु गोली, माईला दाइ, सिक्किम सकर गल्र्स, पुलसिरी, साइकल साइकल, कालो गुँरास, अस्तित्व, रुवा, वध, कृष्ण लगाएतका छोटो फिल्महरु विहिबार स्क्रिनिङ भएका थिए । विहिबार स्क्रिनिङि भएका फिल्ममध्ये राजेशप्रसाद खत्री निर्देशित जालगेडी, देवकी विष्ट निर्देशित इन सर्च अफ देवकी र सञ्जोग बस्याल निर्देशित कृष्ण दर्शनको विशेष रोजाईमा प¥यो ।

फेस्टिभललाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आयोजकले शुक्रबार “नेपाली चलचित्रमा जनजातीको चित्रण” विषयमा खुल्ला अन्तरक्रिया कार्यक्रम समेत राखेको छ । तीन दिनसम्म चल्ने फेस्टिभलमा हिमाली जनजिवन, हिमाल आरोहण, साहसिक खेलकुद, अदम्भ्य सहासका कथाहरु, पर्यटन र आदिवासी जनजातीमा आधारित भएर निर्माण गरिएका चलचित्रहरु प्रर्दशन हुने आयोजकको भनाई छ ।

Related Images

Write a Comment

Events
Random Picks