रंगमञ्चका कलाकारले ‘नालापानी’ खेल्ने
12-January-2018


जकसन डटकम
पोखरा, २९ पुस

सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अङ्ग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंलाई आधार बनाएर फिल्म ‘नालापानी’ निर्माण हुँदैछ । प्राचार्य रामराजा कुँवर र प्रा. डा.धन बहादुर कुँवरले लेखेको ऐतिहासिक पुस्तक ‘वीर बलभद्र कुँवर’मा आधारित रहेर यो फिल्म निर्माण हुन लागेको हो । हाल यस फिल्मको लागि कलाकारहरुको अडिशन भईरहेको छ । 
 
अडिशनको क्रममा हालै मात्र रंगमञ्चका कलाकारहरुको अडिशन लिईएको छ । काठमाण्डौको कान्तिपुर फिल्म एकेडमीमा रंगमञ्चका कलाकारहरु र कलाकारिता पढ्दै गरेका विद्यार्थीहरुको अडिशन भएको हो । यसअघि नेपाल आर्मीका जवानहरुको समेत अभिनयका लागि अडिशन भएको थियो । निर्देशक रिमेश अधिकारीले ‘नालापानी’मा अधिकांश कलाकार रंगमञ्च क्षेत्रका रहने बताएका छन् । फिल्मको चाँडै वर्कशप सुरु हुँदैछ । नेपालको इतिहासले नै एउटा गर्व गर्न लायकको वीरताको गौरवपूर्ण तथ्य समेटेर  ‘नालापानी’ निर्माण हुने निर्माता मनोज शाक्यले बताए । 

झण्डै ९ करोडको लागतमा निर्माण हुने बताइएको फिल्म ‘नालापानी’मा अर्जनजंग शाही, नवल खड्का, मनोज शाक्य, पुजना प्रधान, ईशान बिजु श्रेष्ठ, हिक्मत थपलिया, जनक बर्तौला, विशाल श्रेष्ठ, गीता अधिकारी लगायतका कलाकारहरुको अभिनय रहनेछ । फिल्मका कास्टिङ् निर्देशक राजेन्द्र रिमाल र जनक खकुरेल हुन् । फिल्ममा मजोन शाक्य निर्माताको रुपमा रहेका छन् । फिल्मको लेखन रिमेश अधिकारी र कृष्ण आचार्यले गरेका हुन् । रोशन श्रेष्ठ फिल्मका द्वन्द्व निर्देशक हुन् ।

Write a Comment