सफल होला श्वेताको कमब्याक ?
29-January-2018


जकसन डटकम
पोखरा, १६ माघ

दिवंगत अभिनेता श्रीकृष्ण श्रेष्ठसँगको वैवाहिक जीवन पलभरमै समाप्त भएपछि लामो समय नायिका श्वेता खड्का शोकमा डुबिन् । नयाँ जीवनको सुरुवातको पहिलो खुड्किलो मै ठूलो बज्रपात हुँदा उनले आफूलाई सम्हाल्नै सकेकी थिइनन् । ‘कहाँ भेटिएला’ बाट सुरु भएको श्री र श्वेताको प्रेम यात्रा ‘कोहिनूर’ सम्म आइपुग्दा विवाहमा परिणत भयो । दुवैले निकै मिठा(मिठा सपना बुनेका थिए । सँगै बाँच्ने सँगै मर्ने कसम खाएका थिए । सुःख—दुःखमा साथ(साथ रहने वचन बोलेका थिए । तर भगवानको लिला अपरम्पार छ । 

विवाहको एक महिना मै श्वेतालाई एक्लो बनाएर श्री सदा—सदाका लागि भगवानका प्यारा भए । श्रीमानको मृत्युको शोकबाट बाहिर निस्किएर उनी फेरि फिल्ममा फर्किने आश कमैले गरेका थिए । अन्ततः श्वेताले शोकलाई शक्तिमा बदलिन् र फर्किइन् फिल्ममा । उनले निर्माण र अभिनय गरेको फिल्म ‘कान्छी’ फागुन ४ गतेबाट प्रदर्शनमा आउँदैछ । उनको यो फिल्ममा नायक दयाहाङ राईसँग जोडी बाँधिएको छ । ‘कान्छी’ ले आफ्नो कमब्याक सफल बनाउनेमा उनी विश्वस्त छिन् । श्वेता भन्छिन्, ‘फिल्म राम्रो बनेको छ । दर्शकको साथ उत्साहजनक पाउनेमा ढुक्क छु ।’  ‘चरि चट्ट परी’ र ‘यो जिउ दाउमा लाउने’ बोलको गीतकै कारण यतिबेला फिल्म राम्रो हाइपमा छ । गीतसंगीत उत्कृष्ट भएकै कारण धेरै फिल्मले बिजनेशमा बाजी मारेको रेकर्ड फिल्म क्षेत्रमा छ । 

त्यसैले पनि ‘कान्छी’ को व्यापारिक सफलताको लागि यी दुई गीतले ठूलो अर्थ राखेको छ । हालसालै सार्वजनिक भएको ट्रेलरले पनि फिल्मलाई थप प्रतिक्षीत बनाएको छ । ‘कान्छी’ लाई ’कोहिनूर’ फेम निर्देशक आकाश अधिकारीले निर्देशन गरेका हुन् । यो फिल्ममा अनु शाह, प्रज्जवल सुजल गिरी र तेश्रोलिङ्गी अभियान्ता भूमिका श्रेष्ठको पनि अभिनय छ । शैलेश खड्का निर्माता रहेको फिल्ममा रविन खड्का सह—निर्माताको रुपमा रहेका छन् । ग्रामीण भेगकी कान्छीको कथा बोल्ने फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, शम्भूजित बाँस्कोटा, अर्जुन पोखरेल र राजनराज सिवाकोटीको संगीत रहेको छ ।

Write a Comment