पद्मावत एक काव्य–दृष्य
31-January-2018

(फिल्म समीक्षा )

महेश भण्डारी

बलिउड गंगा सागर हो । कति डुबे, कति बगे । हिसाब किताब छैन । कति आए, कति गए । अन्दाज सम्भव छैन । सिनेमाको यही महासागरमा एउटा ब्राण्डको नाम हो संजय लिला बंशाली । ब्राण्ड भन्ने चिज कस्तो हो भने, यसलाई बनाउन गाह्रो । जोगाउन झन् गाह्रो । त्यसलाई उकास्न झन् झन् गाह्रो । निरन्तरको संघर्ष, मौलिकता र उत्कृष्टताले बन्छ एउटा ब्राण्ड । एक पटक बनेको ब्राण्ड (वा परिचय) कै भरमा बाँकी जिन्दगीलाई अतिथी र बरिष्ठ बनाएर बिताइदिनेको हुल छ साहित्य, कला र सिनेमाको क्षेत्रमा । “पद्मावत” हेरेपछि थाहा लाग्छ बंशाली त्यस्ता अल्छी ब्राण्ड होइनन् ।


हिन्दी सिनेमाले सानैदेखि खिचेको हो मेरो ध्यान । म ओशोको तस्वीर र आवाजको फ्यान थिएँ । यदि म उनको फ्यान हुदैनथेँ भने सायद हिन्दी बुझ्ने प्रयास पनि गर्दिनथेँ होला । भारतीय बिस्तारवादको नाराले दिमाग ७ कक्षामा नै बिगारेको थियो । राजनीतिभन्दा माथि छ प्रेम सायद । ओशो प्रेमले भाषाप्रति पूर्वाग्रही हुनबाट मलाई जोगायो । ओशोको प्रवचन बुझ्न हिन्दी सुधार्नुपर्ने महशुस भयो । त्यसपछि हिन्दी पुस्तक, पत्रिका, गीति क्यासेट र मुभीले मेरो जीवनमा उल्लेख्य स्थान पाए । साथी गनेससँग ३ पटक “डर” भन्ने मुभी हेरेपछि यो ज्यान शाहरुख खानको जबरजस्त फ्यान भयो । मुभीमा शाहरुख नेगेटिभ रोलमा थिए अर्काको प्रेमिका÷श्रीमती मन पराउने, पिछा गर्ने र दुःख दिई रहने । मलाई शाहरुख नै प्रिय लाग्यो । सन्नी देवल मन परेन । पछिसम्म पनि सन्नीले मेरो मन तानेनन् । “डर” कै प्रभाव हुनु पर्छ । मन हुरुक्क हुनु पर्ने त पोजिटिभ क्यारेक्टरतर्फ पो हो । झन् त्यही क्यारेक्टर अन्य फिल्ममा देख्दा पनि मन नपर्ने हुन थाल्यो । 


फिल्म बनाइन्छ मात्रै होइन । फिल्मले बनाउँछ पनि । प्रेम बनाउँछ । घृणा बनाउँछ । शान बनाउँछ । सौन्दर्य चेत बनाउँछ । 


सबैभन्दा पहिले कथा चार हरफमा भन्छु । चित्तौडमा राजा छन् रानी छन् । दिल्लीको सुल्तानलाई ती रानी मन पर्छ । रानीकै खातिर चित्तौडमा आक्रमण गर्छ, जित्छ । तर राज्य जितेर पनि रानी पद्मावतीलाई जित्न नसकेको कथा हो ‘पद्मावत’ । सिनेमाको काव्यिक सार यत्ति हो ः युद्ध जित्नु र युद्धको उद्देश्य प्राप्त गर्नु अलग स्वाभिमानका बिषय हुन् । 


फिल्म “पद्मावत” भित्रकी पद्मावती संजयलीला बंशालीको कल्पनाकी पात्र हुन् । उनीबारे चलेका किंबदन्ती र कहानीमा एकरुपता छैन । इतिहास फरक छ । १५ औँ शताब्दीमा निस्केको मलिक मोहम्मद जायसीको महाकाव्य “पद्मावत”को आधारमा बनाइएको भए पनि बंशालीको कल्प–शिल्पले यसलाई बिलकुल नवीन कथ्य दिएको छ । पद्मावती रानीको लागि बंशालीले दिएको यो आकार सम्भवतः सबैभन्दा सुन्दर हुनु पर्छ । काव्य र किंवदन्तीभन्दा पनि सुन्दर ।


चित्तौडका राजा रतनसिंह (शाहिद कपुर) ले पद्मावती (दीपीका पादुकोन) लाई जंगलमा भेट्छ । पद्मावतीको तीर रतनसिंहको छातीमा लाग्छ । उपचारको लागि विशाल गुफामा सेवा गरेकी पदमावती र रतनसिंहको ‘एब्रप्ट अफेयर’ अस्वभाविक देखिए पनि दृष्यको विराटता र संवादको मिहिनताले दर्शकले शंका गर्न बिर्सन्छन् । संगीत, तन्त्र र ज्योतिष विद्याका ज्ञाता राजगुरु राघवचेतनको सुशुप्त लिविडोलाई फायर गर्न सक्ने पद्मावतिको रुप नै बिनासको मुल कारण हो । ‘तर दोष रुपमा होइन यसलाई हेर्नेको नियतमा हुन्छ’ भन्ने पद्मावतीको स्पष्टोक्ति पनि कम्ता तार्किक छैन । 


राघवचेतनले गरेको पद्मावतीको सुन्दरताको एकतर्फी वर्णनले कामातुर भएको सुल्तान अलाउद्दिन खिलजीको चरित्रचित्रणमा बंशालीले कुनै कसर छोडेका छैनन् । खिलजी कथाको यस्तो खलचरित्र हो जसले दर्शकलाई बरोबर खिचिराख्छ । फिल्मको सारलाई अलाउद्दीन खिलजीको एउटै डायलगले समेट्छ ः “एक जंग हुश्न के नाम...।” पुरा फिल्म यही डायलगको केन्द्र वरिपरी घुम्छ । सनकी सुल्तान सुन्दर पद्मावतीलाई पाउनका लागि जंग (लडाई) सुरु गर्छन् । तर लडाई राजपुत र खिलजी वा उनीहरुका सेनाबीच मात्रै हुँदैन । हरेक पात्र आफ्नै लडाइँमा हुन्छन् । रानी पद्मावती आफ्नो मर्यादा बचाउनका लागि लडाइँ गर्छिन् । राजा रतनसिंह चित्तौडको रक्षा र राजपुतको शान बचाउनका लागि लडाइँ लड्छन् । सुल्तान खिलजीकी रानी मेहरुन्निसा आफ्नै पतिका बिरुद्ध लडाइँ लड्छिन् । यो सगोलमा लडाइँको कहानी हो ।


निर्देशक बंशाली विषयवस्तु छुन्छन् र आरामले छोड्दिन्छन् । मानौँ उनी सलाईको काँटी सल्काउँछन् मात्र । कति जल्ने कसलाई जलाउने जिम्मा दर्शकको हातमा हुन्छ । फिल्मले कहिँ पनि भन्दैन सुल्तान अलाउद्दिन समलिङ्गी हुन् । पर्दामा उनलाई स्त्रीलम्पट देखाइएको छ । तर किंवदन्तीमा सुल्तानको समलिङ्गी स्वभावबारे चर्चा छ । बंशालीले यसलाई साकेंतिक छनक दिए, समलिङ्गी गुलाम राखेर । हेर्नेलाई कुनै भद्दा र अस्वाभाविक लाग्दैन । गुलामको इन्ट्रीपछि दर्शकले पाउने टेस्ट हाँसो र आश्चर्यले पूर्ण छ ।


यो फिल्मलाई राजपुतहरुले किन विरोध गरे ? यसको सजिलो जवाफ छैन । बिरोध गर्नुपर्ने त मुसलमान समुदायले हो । एउटा सुल्तानलाई यस्तो क्रुर, फोहरी र सन्काहा सायदै फिल्ममा देखाइन्छ होला । बेलुका सुहगरात छँदै छ । बाहिर बिहेको बाजा बजिरहेका छ । ऊ यति कामुक छ कि दरबारकै अर्की कन्यासँग भोग गरिरहेछ । बोलाउन पुगेको भारदारलाई उल्टै मारिदिन्छ । ऊ आफ्नै काकासँग काकाको छोरीको हात माग्न डराउँदैन । पछि काकालाई नै मार्छ । काकाको छोरालाई समेत मारेर बंश बिनास गर्छ । ऊ राजा हो । बोल्दा, खाँदा, हिँड्दा राजाको जस्तो शान, शालिनता र व्यवहार देखिँदैन । एउटा फटाहा पण्डितले पद्मावतीले रुप र गुणको वर्णन गरेको भरमा ऊ एकोहोरिन्छ र चित्तौडबिरुद्ध महिनौँ युद्ध गर्छ । फिल्मले राजपुतको इज्जत बढाई गरेको छ भने मुसलमान सुल्तानको खिल्ली उडाएको छ ।

फिल्म हेरेपछि मेरो मनमा यी प्रश्नहरू उब्रिए ः
१)     कुनै पनि सिर्जना आँफैमा सुन्दर छ भने त्यो कसले लेख्यो वा बनायो भन्ने खासै महत्वपूर्ण हुँदैन । ‘अथर इज डेड’ जो भनिन्छ। मुना मदन अरु कसैले लेखेको भए पनि उत्तिकै प्रिय हुनु पर्छ भन्ने मान्यता हो यो । सोचौँ त, ‘पद्मावत’ फिल्मको निर्देशनमा संजयलीला बंशालीको नाम नभएर अरु कसैको भएको भए के यो फिल्म उत्तिकै राम्रो मानिन्थ्यो त ?


२. मानौँ पद्मावती भन्ने पात्र यो संसारमा थिँदै थिएनँ । अझ मानौँ किंवदन्ती पनि चलेको थिएन । तर ठ्याक्कै यही कथा कसैको परिकल्पनामा फिल्म बनाइएको भए, फिल्ममा देखाइएको सामूहिक अग्नी दहन पाच्य हुन्थ्यो वा हुन्थेन ? मलाई लाग्छ पाच्य हुन्थेन । यो कार्यलाई कायरता र अमानवीय भएको भनेर विरोध गरिन्थ्यो । चलचित्रलाई इतिहासको किस्साले जोगाउने छुट छैन । बाहुबली सत्य घटना हो वा परिकल्पनामात्रै हो, दर्शकलाई त्यसको मतलब हुँदैन । तर, बहुबली आँफैमा उत्कृष्ट कथा र प्रस्तुती हो । इतिहाससँग जोडेर हेर्दा पनि सुन्दर कृति लाग्छ । नजोडेर हेर्दा पनि सुन्दर कृति लाग्छ । इतिहाँस नपढिकन फिल्ममात्रै हेर्दा पनि आँखामा सुक्ष्म कण पनि अल्झिनु हुँदैन ।


३. अहिले बजारभरी बिरोध छ ‘पद्मावत’को । यसले उल्टै चलचित्रको प्रचारमा सहयोग गरिरहेको छ । यो विरोध नभएको भए मान्छेको ध्यान उत्तीकै यो फिल्मले तान्थ्यो कि तान्दैनथ्यो ? मलाई लाग्छ तानिन्थेन । विरोध बरदान बन्यो बंशालीका लागि ।


यी आलोचनाका प्रश्नहरू हुन् । तर आलोचनाको आह्वान गर्ने भनेको पनि सौन्दर्यले नै हो । बंशालीका सिनेमाहरूमा यस्ता आलोचनाहरू अस्वभाविक होइनन् । 


फिल्म जिन्दगीभन्दा फराकिलो हुन्छ । जिन्दगीभन्दा साँच्चै फराकिलो छ ‘पद्मावत’ । जिन्दगीको स्वाद, जिन्दगीको रङ, जिन्दगीको स्वरलाई औसत जिन्दगीभन्दा पर लग्दालग्दै पनि जिन्दगीलाई जिन्दगी कै रुपमा बचाइराख्न सक्ने कला कसैले सिकोस् त बंशालीबाट सिकोस् । जिन्दगीका मसिना पाटालाई आफ्नो ईच्छा अनुसार केरमेट गर्न र नयाँ आकार दिनमा बंशाली माहीर छन् । ‘पद्मावत’ले उनको यो खुबी प्रष्ट देखाउँछ ।

 

Write a Comment