नेपथ्य लन्डनको ओ टु एकेडेमीमा प्रस्तुत हुदै ।
6-August-2015

कीर्तन अधिकारी,

काठमाडौं: 'भुइँचालो त एउटा निहुँमात्र हो, हामीलाई हिजो पनि दुःखै थियो आज पनि दुःख छ र भोलि पनि दुःखै हुन्छ', गायक अमृत गुरुङले सुस्केरा हाले। 
 
वैशाख १२ को भूकम्पको भोलिपल्ट उनी अस्ट्रेलियाको मेलबर्नमा कार्यक्रम प्रस्तुत गर्ने तयारीमा थिए। नेपालमा भूकम्पले ठूलो विनाश निम्त्याएको खबर पाए। त्यस्तो दुःखमा कसरी कार्यक्रम गर्ने? ठूलो खर्चका साथ तयारी गरिएको कार्यक्रम स्थगित गर्न पनि सम्भव थिएन। अन्य कन्सर्टमा छमछमी नचाउने गीत गाउने नेपथ्यले त्यो दिन दुःखपीडासँगै सम्बन्ध राख्ने किसिमका गीत सुनाए।

भूकम्पले उनको मनमा गाडिएको पीडा अझै निको भएको छैन। 'यसको घाउ चाँडै निको हुँदैन, ९० सालको भुइँचालोको पीडा नै निको नभएको अवस्थामा अर्को भुइँचालो गयो, अर्को पुस्ता पनि भुइँचालोको पीडाबाट मुक्त हुन सक्दैन', मंगलबार दिउँसो अन्नपूर्णसँग गफिँदै उनले भने। त्यसो भनेर अब सधैं मन दुखाएरै बसिरहने कुरा पनि आउँदैन।
 
अस्ट्रेलियाबाट फर्किएर पूर्वनिर्धारित कार्यक्रमअनुसार जापानमा कन्सर्ट दिए। त्यहाँ पनि भुइँचालो आलै थियो। विश्वका जुनसुकै देशमा भएका नेपाली नाच्नेगाउने मनस्थितिमा थिएनन्। त्यहाँ पनि श्रोताले गीत सुने तर नाचेनन्। 
 
त्यसपछि दुबईमा पनि त्यस्तै कन्सर्ट थियो। भुइँचालो अलि पुरानो भइसकेकाले त्यहाँचाहिँ नेपथ्यले आफ्ना चर्चित गीतसमेत सुनाएर दर्शक श्रोतालाई नचायो ।
'सधैं दुःख मानेर भएन नि, जीवन त जिउनु पर्‍यो, काम गर्नु पर्‍यो', अमृतले भने, 'अब हाँसौं, माया साटासाट गरौं, घाउ पुुर्दै जाऔं र दुःखसँग जुधेर पार लगाउनुपर्छ।' त्यसैले अब लन्डनमा हुने कन्सर्टमा नेपथ्यले दर्शक नचाउँदैछ। 
 
दुई वर्षअघि लन्डनको ऐतिहासिक विम्बली एरिनामा कार्यक्रम प्रस्तुत गरेको नेपथ्यले आगामी अगस्ट ८ मा लन्डनकै अर्को प्रतिष्ठित ब्रिक्सटनको ओ टु एकेडेमीमा गाउँदैछ। यो हलमा बब डिलन, मडोना, आइरन मेडन, सेक्स पिस्टल्स र युबी फोर्टीजस्ता ख्यातिप्राप्त ब्यान्डले गाइसकेका छन्। यही कन्सर्टको तयारीमा व्यस्त अमृतले भने, ‘डर लागिरहेको छ, कलाकार मञ्चमा पुगेर बाजा बज्न नथालुन्जेल डर लागिरहेको हुन्छ।'
 
पैदल यात्रा अमृतको विशेषता हो । भैंसेपाटीबाट हिँडेरै कालिकास्थान आइपुगेका अमृत देशका कुनाकाप्चामा हिँडेरै पुगेका छन् । हिँडाइकै क्रममा भेटिएका थुप्रै सहयात्रीको सुस्केरा र गुनगुनाइलाई थुप्रै गीतको आधार बनाएका छन्।
 
हालै उनले सिन्धुपाल्चोक र दोलखाको पैदल यात्रा गरे। यसपटक उनले त्यहाँ गीत भेटेनन्। किनभने उनले यात्रा गरेका ठाउँहरू भुइँचालोले थिलथिलो बनाएको थियो। 'मैले केही गर्न सकिँन', उनले भने, 'स्थानीयसँग हिँडेँ, उनीहरू बस्ने ठाउँमा बसेँ, दुई वचन बोलेँ, त्यसबाहेक केही गर्न सकिएन।' नेपथ्यले भूकम्पलगत्तै विदेशमा गरेका कन्सर्टबाट संकलन गरेको ४० लाख रुपैयाँ भूकम्पपीडितका लागि उपलब्ध गराइसकेको छ।
 
नेपथ्यको दसौं एल्बमको तयारी सकिइसकेको छ। 'मेरो तर्फबाट काम सकियो', अमृतले भने, ‘यसलाई बजारमा ल्याउने काम उत्पादकको।' नयाँ एल्बमका केही गीत विदेशका कन्सर्टमा सुनिइसकेका छन्। 
 
यसपटकको लन्डन कन्सर्टमा पनि आगामी एल्बमका चारवटा गीत सुनाउने योजना रहेको उनले बताए।नेपाल र बेलायतको सम्बन्धमा महत्‍वपूर्ण भूमिका निर्वाह गरेको पक्ष हो, गोर्खा सैनिक। जनबोलीमा लाहुरे भनेर चिनिने गोर्खा सैनिकको विषय समेटिएको नयाँ एल्बमको गीत पनि उनले गाउँदैछन्।
 
'नैनाताल... नैनाताल
घुमिआयो रेल
आँखामा लाउने कालो गाजल
बुलबुलेमा तेल... नैनाताल'
लाहुरे परिवेशमा हुर्किएका अमृतले यो गीत आफ्ना बाबुकाका र मामाहरूको मुखबाट सुनेका रहेछन्। नेपाल र बेलायतबीचको सम्बन्धको दुई सय वर्ष पुगेको अवसरमा आयोजना गर्न लागिएको कन्सर्टमा गोर्खा सैनिकप्रति नै समर्पित गर्दै यो गीत सुनाउने उनले बताए।
 

Write a Comment