पोखरा अन्तराष्ट्रिय फिल्म फेष्टिबलमा आदिवासी चलचित्र सम्बन्धी बहस
4-February-2018


जकसन डटकम
पोखरा, २२ माघ

पोखरामा जारी अन्तराष्ट्रिय चलचित्र महोत्सवमा तेस्रो दिन “आदिवासी चलचित्रको चरित्र र कथा वाचन शैली” विषयक बहस सम्पन्न भएको छ । बहसमा आदिवासी जनजातिका विषयमा लामो समयदेखि वकलत गर्दै आउनु भएका अधिवक्ताद्धय सुरेन्द्र थापामगर र जुनाकुमारी गुरुङ तथा चलचित्र निर्देशक नविन सुब्बा र विजयरत्न तुलाधरले सहभागिता जनाउनुभएको थियो । 
बहसमा बोल्नुहुदै चलचित्र निर्देशक नविन सुब्बाले आदिवासीका चलचित्रहरु नेपाली चलचित्र भन्दा खास भिन्न हुनुपर्नेमा त्यसो नभई नेपाली चलचित्रकै नक्कल गर्ने प्रचलन बढी रहेको बताउनुभयो । उहाँले आदिवासी चलचित्रहरु सामुहिक भावनाबाट निर्माण गरिनुपर्ने र सबैको भावनालाई समेटनुपर्ने भन्दै चलचित्रको स्क्रिप्ट लेख्द समेत सामुहिक रुपमा छलफल गरेर लेखिनुपर्ने बताउनुभयो । 

यस्तै पत्रकार तथा चलचित्र निर्देशक विजयरत्न तुलाधरले आदिवासी चलचित्र सम्बन्धी राज्यको सोच नै बाधक भएको भन्दै राज्यले आदिवासी चलचित्रप्रति गरिदै आएको विभेद हटनुपर्ने बताउनुभयो । साथै आदिवासी चलचित्रहरुको अभिलेख राख्ने क्रम एकदमै कम रहेको भन्दै निर्माण भएका सबै आदिवासी चलचित्रहरुले अभिलेख राख्ने बानी बसाल्नुपर्ने बताउनुभयो । 

अधिवक्ता जुनाकुमारी गुरुङले आदिवासीका चलचित्रहरुले महिलाहरुलाई आफनो जातिय पोषाकमा प्रस्तुत गर्ने हँुदा यसले महिलाको मात्र सम्मान नभई जातिय पहिचानलाई समेत बडवा दिएको बताउनुभयो । अर्का अधिवक्ता सुरेन्द्र थापामगरले राज्यको परिभाषाले आदिवासीहरुलाई राम्री र राम्रो हुनबाट बञ्चित गरेको भन्दै अब राज्यले हरेक जातजाति र भाषा संस्कृतिलाई उत्तिकै सम्मान गर्नुपर्ने बताउनुभयो । 

वि.सं. २०४४ सालमा नेवारी भाषाको पहिलो चलचित्र सिलु निर्माण भएपछि आदिवासीहरुको भाषा, संस्कृति र रहनसहनमा आधारित रहेर चलचित्र निर्माण गर्ने क्रम शुरुभएको हो । हाल गुरुङ, मगर, तामाङ, नेवार, राइ, माझी, राजवंशी, जिरेल, मुगाली लगायत १३ वटा भाषामा आदिवासी चलचित्रहरु निर्माण भएका छन । 

कार्यक्रममा पोखरा लगायत देशका विभिन्न स्थानबाट महोत्सवमा सहभागि चलचित्रकर्मीहरुको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन गुरुङ फिल्म एशोसियशन नेपालका संस्थापक अध्यक्ष माओत्से गुरुङले गर्नुभएको थियो । 

 

 

Write a Comment

Events
Random Picks