पोखरेलीले रुचाए दाईजोप्रथा विरुद्धको ‘भोर’
6-April-2018

नेपाली फिल्म ‘भोर’ को पोखरामा ‘स्पेशल शो’ भएको छ । यसअघि सतिप्रथासम्बन्धि फिल्म झोला बनाएर चर्चामा आएको निर्माण यूनिटले नै तयार पारेको फिल्म ‘भोर’ लाई पोखरेली दर्शकले रुचाएका छन् । विहिबार पोखरा ‘मिडटाउन सिनेमाज’मा भएको ‘स्पेशल शो’ मा आएका अधिकांश दर्शकहरुले दाईजो प्रथासम्बन्धि बनेको फिल्मको तारिफ गरे ।

विशेष गरि फिल्मले दिन खोजेको सन्देश नै सबैभन्दा उत्कृष्ट भएको दर्शकहरुको भनाई थियो । फिल्म प्रदर्शनपछि भएको अन्तरक्रियामा फिल्मका निर्देशक यादवकुमार भट्टराईले फिल्मले दर्शकमा सकारात्मक सन्देश दिन सकेकोमा आफुहरु सफल भैसकेको दाबी गरे ।  फिल्मको व्यवसायिक पाटोलाई मात्रै सफलताको रुपमा आँकलन गर्न नहुने तर्क पनि उनले अगाडि सारे ।

उनले आफ्नो अघिल्लो फिल्मको उदाहरण दिँदै भने, ‘व्यवसायिक रुपमा जस्तो भएपनि यसअघि हामी सतिप्रथा विरुद्धको फिल्मबाट दर्शकमाझ सफल भएका थियौँ । अहिले जुन सामाजिक कुरीतिको रुपमा रहेको दाईजोप्रथा विरुद्ध हामीले फिल्ममार्फत बोलेका छौँ, त्यो कुरालाई पनि दर्शकले साथ दिनेमा हामी विश्वस्त छौँ ।’ भट्टराईले भने ।

फिल्म ‘भोर’ तराईको एउटा निम्न वर्गिय परिवारले आफ्नो छोरीको विवाह गराउँदा दाईजोको लागि भोग्ने पीडाको कथा हो । तर यो त्यतिमा मात्रै सिमित छैन पुरै दाईजो नदिँदा ससुरालमा गईसकेपछि पनि एउटी युवतीले कस्तो खाले दर्दनाक नियती भोग्नुपर्छ भन्ने कुरा फिल्मले आफ्नो विषयमा समेटेको छ । दाईजो दिन नसक्नुको पीडा र दाईजो नदिँदा आउने समस्याको विषयलाई फिल्मले कुरीतिको रुपमा अथ्र्याएको छ ।

मिडिया फर कल्चर प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको कथा झोलाकै कथाकार कृष्ण धरावासीले लेखेका हुन् । राज तिमिल्सिना र रामगोपाल थापा निर्माता रहेको फिल्ममा रामनारायण ठाकुर, अनितारानी मण्डल, राजेश सक्सेना, परमेश झा, बिएन पटेल, डली सरकार, पुजा कर्ण लगाएतका कलाकारहरुको अभिनय रहेको छ । यो फिल्म आगामी बैशाख २१ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने निर्माण यूनिटले जनाएको छ ।

see more photos : http://jukson.com/event/787/new-nepali-movie-bhor-pokhara-premiere-photo-gallery

Write a Comment