सन्दीपले अर्को आइपिएल सिजनका लागि पनि टिकट पक्का गरे
22-May-2018

जक्सन डटकम 
जेष्ठ ८, पोखरा
इन्डियन प्रिमियर लिग (आइपिएल) को आफ्नो पहिलो सिजनमा उत्कृष्ट प्रर्दशन गरेका नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने अर्को सिजनका लागि टिकट पक्का गरेर आज स्वदेश फर्कँदै छन्।
उनी साँझ सवा चार बजे काठमाडौं आइपुग्नेछन्। केही दिनपछि उनी बेलायतको लर्डसमा हुने वेस्ट इन्डिजविरूद्ध आइसिसी विश्व ११ को खेलमा सहभागी हुन जानेछन्। साउन तेस्रो सातादेखि उनी अनुबन्धित भएको क्यारेबियन प्रिमियर लिग सुरू हुनेछ। आइपिएलमा सन्दीपलाई दिल्ली डेयरडेभिल्सले तीन वर्षका लागि किनेको छ। तीन सिजनका लागि हरेक वर्ष २० लाख भारूका दरमा अनुबन्ध भएका सन्दीपले यसपालिको प्रदर्शनपछि अक्सन हुने हो भने सजिलै करोडमाथि पाउन सक्छन्। तर दिल्लीले उनलाई आफैंसँग राख्ने स्पष्ट संकेत गरिसकेको छ।
‘उनीजस्ता खेलाडीहरू खेलेको हेर्नु राम्रो हो। हामीसँग केही प्रतीभावान युवा छन्, सन्दीप तीमध्ये एक हुन्,’ दिल्लीका प्रशिक्षक तथा अष्ट्रेलियाका पूर्वकप्तान रिकी पोन्टिङले भनेका छन्, ‘हामीहरू उनको लामो र सफल आइपिएल करियरको प्रतीक्षामा छौं। उनले सारा करियर दिल्लीबाटै खेल्ने आशा छ।’

 

Write a Comment

Events