कर्तव्य ज्यान मुद्वाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ
22-May-2018

जक्सन डटकम  
जेष्ठ ८, पोखरा 
झण्डै २० वर्षपछि कास्की प्रहरीले  अमिरबहादुर रानाभाटको हत्याका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।   
०५६ साल असोज महिनामा कास्की जिल्ला साविक मिजुरेडाँडा गाविस(८ माझटीमा बस्ने अमिरबहादुर रानाभाटलाई दिपक लामा समेतका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेका थिए । घटनामा संलग्न साविक मिजुरेडाँडा गाविस(४ घर भइ हाल मादी गाउँपालिका(३ बस्ने वर्ष ३८ का ठकुरी माहिलो भन्ने मनबहादुर शाहीलाई सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।
शाहीलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएका प्रहरी टोलीले निजकै घरबाट पक्राउ गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार उनलाई मंगलबार कास्की जिल्ला अदालतमा पेश गरिएको छ । सम्मानित सर्वोच्च अदालतबाट कर्तव्य ज्यान मुद्धामा शाहीलाई यसअघि नै २० वर्ष कैद सजायको फैसला गरेको थियो ।

 

Write a Comment