अस्पतालको फार्मेसीले मेडिकलको सिन्डिकेट तोडियो
29-May-2018

जक्सन डटकम 
पोखरा, जेष्ठ १५ 
जिल्ला स्वास्थय कार्यालय अर्घाखाँचीले सन्धिखर्क अस्पताल फामेर्सीको शुभारम्भ गरेपछि मेडिकलहरुको सिन्डिकेट तोडिएको छ ।
बिरामीहरुले बाहिर मेडिकल तथा क्लिनिकहरुमा गएर महंगोमा किन्नु पर्ने औषधि सस्तो मूल्यमा अस्पतालको हाता भित्रै पाइने भएको छ । 
अधिकतम खुद्रा मूल्यको ५ प्रतिशत छुटमा  अस्पतालको हाता भित्रै औषधि पाइने भएपछि स्थानीयलाई फाइदा हुने भएको छ । पाँच प्रतिशत छुटमा अस्पतालभित्रै औषधि पाइने भएपछि औषधि पसलेहरुको सिन्डिकेट पनि तोडिने भएको छ । मेडिकलमा भन्दा सस्तो मूल्यमा औषधि प्रदान गर्नका लागि मन्त्रालयको निर्णय बमोजिम फार्मेसी सञ्चालनमा ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष उमेश घिमिरेले बताउनुभयो  । 
अस्पताल फार्मेसीको शुभारम्भ गर्दै सन्धिखर्क नगरपालिकाका  मेयर कमलप्रसाद भुसालले सन्धिखर्क अस्पतालमा पाइने निःशुल्क औषधिको व्यवस्था गर्न नगरपालिका तयार रहेको बताउनुभयो । उहाँले मानिसको स्वास्थ्यमाथि खेलवाड नगर्ने र औषधिको लागि बजेट कमी भएमा नगरपालिकालाइ थाहा दिनु पर्ने र औषधिको लागि प्रयाप्त बजेट नगरपालिकाले छुट्टाउने बताउनुभयो । 
कार्यक्रममा उपमेयर ठाकुरकुमार विकले स्वास्थ्य क्षेत्रको विकासबिना समुन्नत नगरपालिका बन्न नसक्ने बताउँदै अस्पतालबाट दिइने सेवालाई प्रभावकारी बनाउन र नमुना अस्पताल बनाउनेतर्फ सबै लाग्नु पर्नेमा जोड दिनुभयो  । 
सहायक प्रमुख जिल्ला अधिकारी शंकर भुसालले मेडिकलवालाहरुबाट सर्वसाधारण ठगिएको बताउँदै फार्मेसी सञ्चालनमा आएपछि ठगिनु नपर्ने बताउनुभयो । बिरामीको उपचारमा कुनै कमी हुन नदिनका लागि सबै लाग्नु पर्ने उहाँको भनाई छ । 
अस्पतालका प्रमुख डाक्टर जगन्नाथ तिवारीले असार मसान्तसम्म एमआरपी मूल्यको ५ प्रतिशत छुटमा औषधि दिने निर्णय भएको र साउनबाट अझ धेरै प्रतिशत छुटमा औषधि वितरण गर्ने योजना रहेको बताउनुभयो  । 

 

Write a Comment

Events
Random Picks