दूधमा कपडा धुने सोडा ??
14-June-2018


जक्सन डटकम 
पोखरा, जेष्ठ ३१ 
उपभोक्ताले खाने दूधमा कपडा धुने सोडा तथा साबुनमा प्रयोग हुने रसायन मिसाइने गरेको खुलासा भएको छ । गर्मीयाममा दूध फाट्नबाट जोगाउन दूध संकलन गर्ने सहकारीका व्यवस्थापक तथा ठेकेदारले यस्ता हानिकारक वस्तु मिसाउने गरेको पाइएको हो । काठमाडौं उपत्यकाभित्र ३० वटा दुग्ध प्रशोधन उद्योग छन्। यीमध्ये २५ वटा डेरी उद्योगका ४२ वटा ब्रान्डका दूध पाउचको नमुना खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको केन्द्रीय प्रयोगशालामा जाँचिएको थियो। तीमध्ये ४० वटामा स्वास्थ्यलाई हानि पुर्याउने वासिङ सोडा र साबुन बनाइने रसायन भेटिएको हो।

नमुना जाँचका क्रममा ‘न्युट्रलाइजर’ का रूपमा सोडियम बाइकारबोनेट, सोडियम हाइड्रोअक्साइड ९कास्टिक० र सोडियम कारबोनेट गरी तीनवटै रसायन ९क्षार० को मिसावट हुने गरेको देखिएको छ। ‘यी तीन रसायनमध्ये जे पनि प्रयोग भएका हुन सक्छन्,’ विभागका प्रवक्ता पूर्णचन्द्र वस्तीले भने।

दूधमा स्वास्थ्यलाई हानि पुर्याउने अखाद्य वस्तु मिसावट हुने गरेको गुनासो आएपछि कृषिमन्त्री खनालले सोमबार राजधानीका ४ वटा डेरीमा छापा मारेका थिए। त्यसअघि नै उनले २५ वटा डेरी उद्योगका ४२ ब्रान्डका दूध पाउच संकलन गरेका थिए।

मन्त्री खनालले दूध उत्पादनमा उपभोक्ता स्वास्थ्यको ख्याल नै नगरिएको र भयावह अवस्था रहेको बताए। ‘सबै मापदण्ड ठीक भएका कुनै पनि दूध देखिएनन्,’ कान्तिपुरसँग कुरा गर्दै उनले भने, ‘म नयाँ मापदण्ड बनाउँदै छु। के–के गर्नुपर्ने हो, निर्देशन दिइसकेको छु। अब त्यसै छाडिँदैन।’

उनले उद्योग मन्त्रालयसँग मिलेर नयाँ मापदण्ड बनाइरहेको र अब अनुमतिपत्र रद्द गरेरै कारबाही गरिने बताए। दूधमा देखिएको मिसावट देख्दा देश नै नभएको जस्तो महसुस भएको उनको भनाइ छ। ‘यस्तो पनि राज्य हुन्छ, देशै होइनजस्तो भएको छ मलाई,’ मन्त्री खनालले भने।

राजधानीको एक ठूलो डेरी उद्योगको प्रयोगशालाका प्राविधिकका अनुसार, दूध संकलन हुने चिस्यान केन्द्र, सहकारीमा संकलक र ठेकदारहरूले दूधको अम्लीयपना घटाउन अल्कलाइन रसायनका रूपमा यी तत्त्व प्रयोग गर्दै आएका छन्। ‘सहकारीका व्यवस्थापकले टाढा–टाढाबाट दूध संकलन गर्छन्।

एकैपटक ढुवानी गर्न नसकिने भएकाले दूध फाट्नबाट जोगाउन कास्टिक सोडाका रूपमा रासायनिक तत्त्व मिसाउने गरेको पाइन्छ,’ नाम नखुलाउन चाहने ती प्राविधिकले भने।

उनका अनुसार, काठमाडौं भित्रिने दूधमा कास्टिक सोडाबाहेक चिनी, नुन तथा युरियाको पनि मिसावट भएको देखिन्छ। पशुले खाने दानामार्फत युरिया दूधमा देखिने गरेको छ। रसायनबाहेक दूधबाट सर्ने रोग क्षयरोगका जीवाणु, कोलिफर्म, इकोलाई आदि पनि भेटिने गरेको उनले बताए।

खाद्य प्रविधि विभागको फुड स्ट्यान्डर्ड निर्देशिकाले दूधमा पानी पनि मिसाउन रोक लगाएको छ। ‘दूधमा दुग्ध पदार्थ, दूध पाउडरबाहेक कुनै पनि रसायन चिनी, नुन, पानी मिसाउन पनि पाइँदैन। यो ऐनविपरीत मानिन्छ,’ एक प्राविधिकले भने। तर, विभागले गर्ने नियमन भने अत्यधिक फितलो छ। सबैतिर यसको पहुँच देखिँदैन।

नेपाल डेरी एसोसिएसनका निवर्तमान अध्यक्ष सुमित केडिया उपभोक्ताले खाने दूधको गुणस्तर सुधारका लागि चेतनामूलक कार्यक्रम गरिनुपर्ने बताउँछन्। ‘किसानदेखि उपभोक्तासम्मको पूरै सप्लाई चेनमै सुधार आवश्यक देखिन्छ,’ केडियाले भने।

उनका अनुसार, गाउँबाटै कास्टिक सोडा मिसाएर आएको दूधलाई प्रशोधन उद्योगमा सुधार्न सकिन्न। ‘किसान तहमै दूधमा अम्लीयपना नबढोस् भनेर सोडा प्रयोग गरिन्छ। त्यो उद्योगभित्र आउँदा नियन्त्रण गर्न सकिँदैन। यो अत्यधिक हानिकारक वस्तु हो भनेर चिस्यान केन्द्र तहमै चेतना हुनुपर्छ।’

उपभोक्ता संरक्षण ऐनले मिसावट भएको कमसल उपभोग्य वस्तुबाट मानव स्वास्थ्यलाई नै खतरा पुग्ने देखिएमा १४ वर्षसम्म कैद र ५ लाख जरिवाना तोकेको छ। तर, खाद्य प्रविधि विभागले अखाद्य वस्तु फेला परेमा खाद्य ऐनअनुसार डेरी उद्योगीलाई १० हजार रुपैयाँसम्म जरिवाना तिराउने गरेको छ।

 साभार : कान्तिपुर 

 

 

Write a Comment