अरुण तेस्रोको सुरुङमा पुरिएका ४ को ३९ घण्टा पछि जीवितै उद्धार
17-June-2018


जक्सन डटकम 
पोखरा, असार ३
अरुण तेस्रोको सुरुङ खन्ने क्रममा पुरिएका ४ जनाको आइतबार जीवितै उद्धार गरिएको छ ।मकालु गाउँपालिकाको फ्याक्सिन्दामा पुरिएका उनीहरुको ३९ घण्टा पछि जीवितै उद्धार गरिएको हो । सुरुङको प्रवेशद्वारामा पहिरो झरेपछि उनीहरु शुक्रबार राति पौने ९ बजेबाट सम्पर्कविहीन थिए । सुरुङमा गरिएको व्लास्टिङ सफा गर्ने क्रममा उनीहरु पहिरोमा पुरिएका थिए । सुरुङभित्र २ नेपाली र २ भारतीय कामदार पुरिएका थिए ।

कालिकोट सिउना गाउँपालिका(४ का प्रदीप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका(१ का प्रेम परियार, भारत झारखण्डका बुधन मुण्डा र भारत विहारका नन्द किशोरको आइतबार बिहान ११ बजे सकुशल उद्धार गरिएको हो । शाही र परियार कामदार थिए भने मुण्डा अपरेटर र नन्द किशोर ईलेक्टोनिक मिस्त्री थिए । पहिरो करिब ६० मिटर माथिबाट खसेको थियो । पहिरो पन्छाउने क्रममा सुरुङको मुखमा भएको ठूलो ढुंगा विस्फोट गराएपछि पुरिएकाहरुको आवाज बाहिर सुनिएको थियो । त्यसपछि डोरीको सहायताले उनीहरुलाई बाहिर निकालिएको थियो ।

उनीहरुको अवस्था सामान्य रहेको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताए । पुरिएकाहरु जीवितै हुने आशंका पछि घटनास्थलमा चिकित्सक समेतको टोली तयारी अवस्थामा राखिएको थियो । शनिबार बिहानबाट उनीहरुको उद्धार भए पनि भीरबाट धेरै माटो र ढुंगासहितको पहिरो झरेकाले कठिनाई भएको थियो । घटनास्थलमा रौताहा कम्पनी समेतका ६ वटा स्काईभेटर र डोजर प्रयोग गरिएको थियो । उद्धारका लागि प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासिन्दा खटिएको डीएसपी श्यामकुमार सारुमगरले बताए ।

घटनास्थल सदरमुकाम खाँदबारीबाट ५० किलोमिटर टाढा पर्छ ।

Write a Comment