धर्म निरपेक्षको माग गर्दै पोखरामा शान्ति र्याली(फोटो फिचर)
13-August-2015

जक्सन डटकम,साउन २८ / देशका बिभिन्न स्थानहरुमा नेपाललाइ हिन्दु राष्ट्र माग गर्दै कार्यक्रमहरु भइरहेका बेला बिहीबार पोखरामा धर्म निरपेक्षताको माग गर्दै शान्ति र्याली निकालिएको छ ।र्यालीमा बिभिन्न जातजाती लगायत मुस्लिम, इसाइ,बौद्ध धर्मावलम्बीहरुले नेपाललाइ धर्म निरपेक्ष राष्ट्र घोषणा गर जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए । 

धर्म निरपेक्ष राष्ट्र नेपाल सरोकार समिती कास्कीद्धारा आयोजीत र्याली पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल, नयांबजार हुंदै पृथ्वी चोकमा पुगेर कोढा सभामा परिणत भएको थियो । कोण सभामा बोल्ने अधिकांश वक्ताहरुले नेपालमा भिन्नभिन्न धर्ममा आस्था राख्नेहरु रहेको बताउंदै सबै धर्मलाइ संबिधानमा समान रुपमा राख्नका लागी आह्वान गरेका थिए । 

कार्यक्रममा सम्बोधन गर्दै बौद्ध दर्शनका आचार्य, बौद्ध अर्घौ सदन रामघाटका प्रमुख लामा आचार्य थुप्तेन येसे गुरुङ(सिर लामा)ले सबै धर्म समुदायलाई समान अधिकार र सम्मानका लागि नयाँ बन्ने संविधानमा धर्म निरपेक्षता सुनिश्चित हुनुपर्ने बताए। उनले बौद्ध गुम्बा र लामा धर्म सापेक्ष राष्ट्रको पक्षमा छन भन्ने अर्नगल प्रचारमा विश्वास नगर्न आग्रह गर्दै मानव कल्याण र भेदभाव रहित समाजका लागि बुद्ध भगवानले प्रतिपादन गरेको पञ्चशीलको सिद्धान्त व्यवहारमा उतार्नुपर्नेमा जोड दिए ।

नदिपुरस्थित धर्मशीला बुद्ध विहारका भन्ते श्रद्धानन्दले धर्म निरपेक्षतामा मात्रै सबै धर्म सम्प्रदायले सम्मान भएको महसुस गर्ने भएकाले नयाँ बन्ने संविधानमा अन्तरिम संविधानमै व्यवस्था गरिएको धर्म निरपेक्ष राष्ट्र नेपाल कायम राख्नुपर्ने बताए ।

क्रिश्चियन समुदायका धर्म गुरु डाक्टर सामुयल संग्राम राईले नयाँ बन्ने संविधानमा धर्म निरपेक्षतामा माथि षडयन्त्र भईरहेकाले धर्म निरपेक्षता पक्षधर सबै धर्म सम्प्रदायको भावनामा चोट पुगेको बताए । नेपालमा हिन्दुहरुले सनातन धर्मको गलत प्रचार गरिएको बताउदै राम राज्य चाहनेले राम जन्मेको भारतको अयोध्यालाई राम राज्य घोषणा गर्न चुनौति दिए ।

तमु प्ये ल्हु संघ केन्द्रीय समितिका प्रमुख सल्लाहकार, बोन धर्मका तर्फबाट बोल्दै लेप्टेनेण्ट इन्द्रबहादुर गुरुङले नयाँ बन्ने संविधानले सबै धर्मको सम्मान गर्न धर्म निरपेक्ष राष्ट्र यथावत राख्नुपर्नेमा जोड दिए। प्ये संकलन, लेखन तथा प्रकासनका संयोजक समेत रहनुभएका उहाँले बोन धर्म नै गुरुङ लगायत आदिवासी जनजातिले अप्नाउदै आएको सबै भन्दा पुरानो धर्म भएको दावी गर्नुभयो ।

किराँत धर्म समुदायका गजेन्द्र सुब्बाले बोल्नुहुदै धर्म निरपेक्षता विनाको संविधान स्विकार नगर्ने बताए।

मुश्लिम  समुदायका मुहम्मद गफुर मियाँले धर्म निरपेक्ष यात्राको ऐक्यवद्धता जाहेर गर्दै धर्म निरपेक्षतामा नै सबै धर्म सँस्कृतिले समान अवसर प्राप्त हुने बताए । अहिले धर्म निरपेक्षता विरुद्ध नयाँ संविधान जारी गर्ने नाँउमा चलखेल भइरहेको छ भन्नुहुदै प्रतिगामी चलखेल नगर्न चेतावनी दिए।

स्वागत मन्तव्य व्यक्त गर्दै धर्म निरपेक्षता अभियानका अभियन्ता दीपक वाईवा तामाङले नयाँ बन्ने संविधानले सबै धार्मिक समुदायको पहिचान स्विकार गरी सम्मान गर्नुपर्ने बताए। 
धर्मोदय सभाका अध्यक्ष समेत रहनु भएका धर्म निरपेक्ष राष्ट्र नेपाल, सरोकार समितिका संयोजक कुलामान बुद्धाचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन तमु धिं नेपालका केन्द्रीय सदस्य समेत रहनु भएका सरोकार समितिका सचिव हुमबहादुर गुरुङले सञ्चालन गरेका थिए।

धर्म निरपेक्ष शान्ति यात्रा र धर्म निरपेक्ष सभा समापन पश्चात धर्म निरपेक्ष राष्ट्र नेपाल सरोकार समिति कास्कीका संयोजक कुलामान बुद्धाचार्य सहितको अगुवाहरुले कास्कीका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र संविधानसभाका सभाध्यक्ष सुवास चन्द्र नेम्वाङलाई आफ्नो माग पठायो ।

बौद्ध, बोन, क्रिश्चियन, मुश्लिम र किराँती धर्म समुदाय लगायत ४२ सामाजिक तथा नागरिक संघ संस्थाको ऐक्यवद्धतासहित धर्म निरपेक्ष राष्ट्र यथावत कायम हुनुपर्ने एक सुत्रीय माग रहेको ज्ञापन पत्र संयोजक बुद्धाचार्यले सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद रेग्मीलाई हस्तान्तरण गरेका हुन्।

Related Images
Events
Random Picks