लाहुरे तालिम संगै पढाइको लागी पोखरामा एकेडेमीको स्थापना
2-July-2018


जक्सन डटकम
पोखरा, असार १८
सन् १८१५ मा गोर्खा रेजिमेन्टको स्थापना गरी गोर्खालीहरुलाई इष्ट इण्डीया कम्पनीमा भर्ना गरेदेखी गोर्खा भर्तीको इतिहास आरम्भ भएको देखिन्छ । यसरी हेर्दा गोर्खा भर्तीको इतिहास दुइ सय वर्ष लामो छ । दुई सय वर्षको इतिहासमा गोर्खा भर्तीको क्रममा शुरुवातमा घरघरबाट ब्रिटिशले लग्ने गरेका थिए । उक्त समयमा कति संख्यामा गोर्खाली सेनामा भर्ना भए त्यसको एकिन डाटा छैन । हाल ब्रिटिश गोर्खामा ३५ सय, सिंगापुरमा २ हजार, भारतिय सेनामा ६० हजार कार्यरत रहेका छन । लाखौको संख्यामा रिटार्यड जिवन विताइ रहेका छन । 
गोर्खा भर्तीमा सन् २००० देखी शैक्षिक योग्यता मापन गरी एस एलसी उतीर्ण युवाहरु लाई छनौट गर्ने प्रकृया शुरु भयो । सन २००० अगाडी शैक्षिक योग्यता ५ कक्षा र ८ कक्षा उतीर्ण भएकालाई गोर्खा भर्तीमा लिने गरिन्थ्यो । त्यस अघि नेपालमा युवाहरु त्यति मात्रामा शिक्षित पनि थिएनन । सन् २००० पछि नेपालका युवाहरुमा शैक्षिक स्तर पनि बढ्दै जान थाल्यो र युवाहरुपनि पढ्ने र भर्तीमा सहभागी हुने क्रम वढ्दै जान थाल्यो । 
कोटा निर्धारण भएर भर्ती छनौट प्रकृया भएतापनि अधिकांश युवाहरुले आफ्नो पढाइमा भन्दा आफ्नो भविष्य लाहुरे भर्तीमा छ भनेर लागी पर्दै आएका छन । यो प्रकृया अगाडी वढिरहदा अधिकांशले पढाइनै छाडेर भर्तीमा दौडिदा, नत पढाइले निरन्तरता पाउने न त भर्ती नै हुने गर्दा अधिकांश युवाहरुको भविश्यनै अन्यौलमा परेको तितो यथार्थ छ । भर्ती देखाउने चाहने अधिकांश युवाहरुले  एसईई पश्चात माध्यामिक तहको अध्ययन संगै भर्तीमा सहभागीता हुदा पढाइ पनि बिग्रने र भर्ती पनि नहुने हुदा उनीहरुको भविश्यनै अन्यौलमा परेर अन्तत खाडी मुलुक जान बाध्य भएका उदाहरणहरु छन । 
हरेक वर्ष नेपालबाट ब्रिटिस आर्मीमा ३ सय २० र सिंगापुर प्रहरीमा सय जनाको कोटा निर्धारण  गरी युवाहरुलाई भर्ती गराएर लैजाने गरेका छन । त्यसैगरी भारतिय सेनामा भने वार्षिक १२ सय देखी १६ सयको हाराहारीमा युवाहरुलाई भर्ती मार्फत लैजाने गरेको छ । यसरी हेर्दा ब्रिटिस र सिंगापुरमा १० हजार र भारतीय सेनामा २५ हजारको हाराहारीमा युवाहरु भर्तीका लागी आफ्नो पढाइलाई नै वेवास्था गरी लाहुेरे भिड्ने गरेका छन । यो तथ्यांकले के देखाउछभने वार्षिक १६ सयको हाराहारीमा युवाहरु भर्ती छनौट प्रकृयाबाट ब्रिटिश, सिंगापुर र भारतिय सेनामा भर्ती भएर जान्छनभने अन्य युवाहरुको भर्तीमा लाग्दा पढाइनै अधुरो हुने गर्दछ । १८ देखि २१ वर्षको अवधिलाई भर्ती हुने उमेरका रुपमा लिइने गरिन्छ । यो उमेर समुह कक्षा ११ देखि स्नातक तहको दोश्रो वर्ष सम्म अध्ययन गर्ने समुहमा पर्दछन । 
यो उमेर समुहभित्रका केही युवाहरुले भर्ती भएर आफ्नो भविष्य वनाउलान तर भर्तीमा लागेर पढाइनै वर्वाद गरेका युवाहरुको बारेमा नत अभिभावकले चासो दिने गरेका छ, त न कोही भर्ती ट्रेनिङ सञ्चालकहरुले । यसैलाई मध्येनजर गरी भर्ती देखाउन चाहने युवाहरुको पढाइ नबिग्रोस र पढाइले निरन्तरता पाओस भनी भर्ती देखाउने युवाहरुलाई लक्षित गरेर पोखरामा  लाहुरे ट्रेनिङ संगै कलेज सञ्चालन हुने भएको छ । नेपाल डिफेन्स एकेडेमी (एनडीए) ले आगामी शैक्षिक सत्र २०७५÷७६ लाई लक्षित गरेर गोर्खा भर्तीमा सहभागी हुने युवाहरुलाई लक्षित गरी कक्षाहरु सञ्चालनमा ल्याउन लागेको हो । सञ्चालनमा आउन लागेको एकेडेमीमा लाहुरे हुन चाहने युवाहरु जो भर्ती तालिम र पढाइ एकै ठाउबाट गर्न सक्नेछन । एसईइ पश्चात माध्यामिक तह कक्षा ११ र १२ र स्नातक तहमा अध्ययन गर्दै भर्ती देखाउन चाहने युवाहरुले यो एकेडेमीबाट अध्ययन र लाहुरे तालिम गर्न सक्ने एकेडेमीका सञ्चालक मिनराज गुरुङले वताए । 
एकेडेमीमा विज्ञान, ब्यवस्थापन, होटल म्यानेजमेन्ट, मानविकी, शिक्षा संकाय र सैन्य विज्ञानका विषयहरुमा अध्ययन हुनेछन । कक्षा एघारमा पोखरा बाहिर भर्ना भइ पढाइ छाडेर लाहुरे तालिममा सहभागीहरुलाई समेत कलेज स्थानान्तरण गराइ तालिम र पढाइलाई निरन्तरता दिन एकेडेमीले सहयोग गर्ने समेत जनाइएको छ । एकेडेमीमा भर्ना हुन चाहनेहरुका लागी भर्ना फारम वितरण भइरहेको समेत एकेडेमीले जनाएको छ । एकेडेमीमा भर्ना हुन चाहने इच्छुक युवा युवतीहरुले नेपाल डिफेन्स एकेडेमी एण्ड पोखरा तालिम केन्द्र अमरसिंह चोकमा सम्पर्क गर्न सक्नेछन । यस कार्यक्रमले गोर्खा भर्ती र युवा भविष्यलाई केही हदमा भएपनि राहत दिने एकेडेमीले अपेक्षा गरेको छ । 

 

Write a Comment

Events
Random Picks