११ घन्टापछि नारायणगढ–मुग्लिन सडक खुल्यो
4-July-2018


जक्सन डटकम
पोखरा, असार २० 

नारायणगढ–मुग्लिन सडकखण्डमा खसेका दुई ठूला पहिरो पन्छाएपछि आज दिउँसो साढे ४ बजेबाट सडक सञ्चालनमा आएको छ। 

बिहान ५ः३० बजेदेखि पहिरोका कारण अवरुद्ध सडक ११ घण्टापछि सञ्चालनमा आएको हो। नारायणगढ मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव खनालका अनुसार दुईतर्फी सवारी आवागमन हुने गरी सडक खुलाइएको हो। 

सो सडकखण्डको टोपेखोला र कालीखोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो। सो सडकको टोपे खोलामा बिहान ५ः३० बजे र कालीखोलामा ८ः३० बजे पहिरो खसेको थियो। दुवै ठाउँमा दुई–दुई वटा एक्साभेटर र लोडर प्रयोग गरेर पहिरो पन्छाउने काम गरिएको हो। 

मुग्लिनबाट ३।१२ किलोमिटरको दूरीमा कालीखोला पर्दछ भने टोपेखोला ३।३ किलोमिटर दूरीमा रहेको छ। पहिरोले पूरै सडक ढाकेको थियो। ती दुवै ठाउँमा दुई सातायता लगातार पहिरो खस्ने गरेको छ। यो सडक विस्तारका क्रममा भित्तो काटिएपछि पहिरोको समस्या बढेर गएको हो। पहिरो पन्छाएसँगै बिहानदेखि नै रोकिएका सवारी साधन आफ्नो गन्तव्यतर्फ लागेका छन्। 

Write a Comment