मार्सी चामलको भात: धेरै बेर अघाउने, छिटो भोक लाग्दैन।
9-July-2018


जक्सन डटकम 
पोखरा, असार २५
सत्ता–व्यापारी साँठगाँठ झल्काउन मार्सी चामल विम्ब बनेको छ।
तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालले २०७४ फागुन ६ गते एउटै टेबलमा खाना खाइरहेको तस्बिर सार्वजनिक भएको थियो। चरेस थालमा मार्सी भातसहितको दिवाभोज झापाका मेडिकल कलेज व्यवसायी दुर्गा प्रसाईंले आयोजना गरेका थिए। उनले दुई शीर्षनेतालाई पार्टी जमघट र कार्यालय परिसरबाट टाढा भक्तपुरको निजी निवास ल्याएर भात खुवाउँदै सहज माहोल बनाइदिए, जसले एकीकरण गाँठो फुकाउन भूमिका खेल्यो।
यतिले मात्र मार्सी चामलको चर्चा हुने थिएन, एकीकरणपछि बनेको नेपाल कम्युनिस्ट पार्टी सरकारले तिनै दुर्गा प्रसाईंसहित अन्य केही निकट व्यापारीलाई पोस्ने गरी हतपत चिकित्सा शिक्षा विधेयक नल्याएको भए।
डा। गोविन्द केसीसँग भएका सम्झौता उल्लंघन गर्दै सरकारले अघि बढाएको यो विधेयकले झापास्थित प्रसाईंको बिएन्डसी अस्पताल, मनमोहन स्मृति अस्पताल, काठमाडौं नेसनल र मेडिसिटीलाई मेडिकल कलेज सम्बन्धन दिन बाटो खोल्नेछ।
सत्ता–व्यापारी साँठगाँठसँग जोडिन पुगेको मार्सी चामल आफैंमा भने लामो इतिहास बोकेको फाइदाजनक अन्नबाली हो।
जुम्लामा मात्र खेती हुँदै आएको यो चामलको इतिहास झन्डै सात सय वर्ष पुरानो मानिन्छ। चौधौं शताब्दी आसपास जुम्लाका इष्टदेवता चन्दननाथ बाबाले भारतको जम्मू कश्मिरबाट मार्सी धान भित्र्याएको स्थानीय किम्बदन्ती छ।
यही किम्बदन्ती आधारमा अहिले पनि बाली काटेपछि चन्दननाथ बाबा मन्दिरमा चढाउने चलन छ। राजतन्त्रबेला दरबारमा पनि यही चामल भित्रिन्थ्यो। राणा प्रधानमन्त्री चन्द्रशमशेर लगायत अन्यले मार्सी चामलको भात खुब मन पराउँथे भनिन्छ।
संसारमा रातो रङको चामल दस प्रजातिभन्दा बढी छन्। जुम्लाको मार्सी चामल तिनैमध्ये एक हो। यस निम्ति वातावरण माइनस चार डिग्री सेल्सियससम्म चिसो हुनुपर्छ। त्यही भएर यो समुन्द्र सतहबाट करिब २ हजारदेखि २ हजार ३ सय मिटरसम्म उचाइमा खेती हुन्छ।
नेपालबाहेक भुटान, भारत, पाकिस्तान लगायत देशका हिमाली क्षेत्रमा यो धान पाइन्छ।यस्तै प्रकृतिको अर्को चामल भारतको केरला, श्रीलंकासहित केही अफ्रिकी मुलुकहरूमा पाइन्छ। गर्मी वातावरणमा फल्ने यो प्रजातिको धान पनि रातो रङकै हुन्छ।
नेपाल कृषि अनुसन्धान परिषद ‘नार्क’ का वैज्ञानिक रुद्र भट्टराई भने मार्सी धानको उत्पत्ति नेपालमै भएको बताउँछन्। उनका अनुसार मार्सीको शाब्दिक अर्थ पानी जम्ने ठाउँ हो। त्यस्तो ठाउँमा फल्ने हुनाले मार्सी धान भनिएको उनको भनाइ छ। यो धानले अत्यधिक चिसो सहन सक्छ।
मार्सी धान दुई महिनाको ब्याड तयार गरेर हिलोमा रोपिन्छ। यो धान पाक्न करिब १० महिना लाग्ने भट्टराईले जानकारी दिए।
जुम्ली मार्सी वैशाख–जेठदेखि रोप्न सुरु गरिन्छ र पुस–माघतिर काटिन्छ। चिसो हावापानीमा फल्ने भएकाले तयार हुन धेरै समय लाग्ने उनले जानकारी दिए। यसको बोटको लम्बाइ करिब एक मिटर हुन्छ।
‘धान पाक्न धेरै समय लाग्ने भएकाले यसमा स्टार्च नामक पोषक तत्व बढी हुन्छ,’ उनले भने, ‘त्यही स्टार्चले मार्सी चामलको भात खाए धेरै बेर अघाउँछ, छिटो भोक लाग्दैन।’
उनका अनुसार जुम्ली मार्सीमा आइरन, स्टार्च, सेलेनियमको मात्रा अरू धानको भन्दा धेरै हुन्छ। त्यस्तै अरूभन्दा लस्सेदार र स्वादिलो पनि हुन्छ।
मार्सी चामलको मूल्य जुम्लामा प्रतिकिलो १ सय २० देखि १ सय ३० रुपैयाँसम्म पर्छ। काठमाडौंमा भने २ सय ५० रुपैयाँसम्म पर्ने जुम्लाका खाद्यान्न विक्रेता अंगराज भारतीले बताए।
राजधानीको डिल्लीबजारस्थित जैविक ९अर्गानिक० खाद्यान्न बिक्री गर्ने खेती बजारले यसको मूल्य प्रतिकिलो २ सय २० रुपैयाँ तोकेको छ।जैविक उत्पादनप्रति बढ्दो रुचिले मार्सी चामलको माग बढेको व्यवसायी बताउँछन्।
सुकेधारास्थित श्रीदेउती अर्गानिक कृषि वस्तु तथा मह उद्योगका सञ्चालक पन्नालाल साउदका अनुसार फागुनदेखि असारसम्म करिब १ हजार ५ सय किलो बिक्री भयो। गत वर्ष यही अवधिमा ६ सय किलोभन्दा बढी बिकेको थिएन।
‘यसको माग त पहिलेदेखि थियो, यो वर्ष दोब्बर छ,’ उनले भने, ‘खुद्रा बिक्रेताबाट अर्डर आएको आयै छ, आपूर्ति गर्न सकेको छैन।’
ओली र दाहालले खाएको चर्चापछि केही दिनयता माग अझ बढेको उनले बताए।
‘मार्सी चामलबारे कहिल्यै नसुनेकाहरू पनि कस्तो हुँदो रहेछ भनेर खोजीखोजी आउन थालेका छन्,’ उनले भने, ‘यही मौकामा उत्पादन बढाउन पाए राम्रो बजार लिन सक्थ्यो।’
‘पहिले पहिले पनि जुम्लाको मार्सी चामल र चाखुरो चराको टाउको दरबार आउँथ्यो रे। ओली र प्रचण्डले मार्सी चामलको भात खाएको समाचार बाहिरिएपछि रुचि ह्वात्तै बढेको छ,’ उनले भने।
माग र चर्चा बढिरहेकाबेला उता यसको उत्पादन भने कम हुँदै गएको नार्कले जनाएको छ।
‘थोरैमा पनि चार वर्षमा बिउ फेर्नैपर्छ, नत्र उत्पादन घट्छ,’ भट्टराईले भने, ‘हाम्रो खेती गर्ने तरिका पनि पुरानो छ, प्रविधि कमी छ। रोग प्रकोप पनि बढ्दो छ।’
नार्कले यो प्रजातिको धान बचाउन हाइब्रिड गरेर सिफारिस गरेको छ, जसलाई चन्दननाथ १ र चन्दननाथ २ भनिन्छ। यसको रङ रैथाने मार्सीभन्दा हल्का सेतो हुन्छ।
अन्तर्राष्ट्रिय स्तरमा यो धान चिनाउन फिलिपिन्समा रहेको ुइन्टरनेसनल राइस रिसर्च इन्स्टिच्युटमा पठाइएको भट्टराईले जानकारी दिए।
‘अन्तर्राष्ट्रिय सिड स्टोरमा राख्दा अरू देशले यो जातको धान हाम्रो हो भनेर दाबी गरेका छैनन्। प्रयोगशाला र उपकरण नभएकाले हामीले पनि दाबी गर्न सकेका छैनौं,’ उनले भने।

 

Write a Comment

Events
Random Picks