१६ वर्षीया समीक्षालाई ज्युँदै जलाएर मारिएको घटना प्रती प्रदेश सरकार गम्भीर छ : मन्त्री केसी
10-July-2018

टोपराज शर्मा
बुटवल ।

प्रदेश नं ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले रुपन्देही रुद्रपूरकी बालिका समिक्षा ठकुरीको रहस्यमय मृत्युको घटनालाई प्रदेश सरकारले गम्भीरतासाथ लिएर अनुसन्धान कार्य अगाडि बढाएको बताएका छन् ।

मंगलबार बसेको प्रदेश नं ५ को प्रदेश सभा बैठकमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिंदै मन्त्री केसीले किशोरीको रहस्यमय मृत्युको घटनाको गहिराईमा पुगेर अनुसन्धान गर्न प्रदेश सरकारले मातहतका प्रहरी निकायलाई निर्देशन दिएको जानकारी गराए । ‘समीक्षाको मृत्युको अनुसन्धानलाई प्रहरी उपरीक्षक (एसपी) ले नै नेतृत्व गर्नुभएको छ’-मन्त्री केसीले सांसदहरुलाई आश्वस्त पार्दै भने ।

प्रदेश सभा बैठकको शुन्य समयमा बोल्दै महिला सांसदहरुले १६ वषिर्या किशोरी समीक्षा ठकुरीको रहस्यमय मृत्यु घटनाको बारेमा प्रभावकारी अनुसन्धान गर्न र सत्य तथ्य पत्ता लगाएर दोषिलाई कार्वाही गर्न माग गरेका थिए ।

समीक्षा ठकुरीको रहस्यमय मृत्यु महिला हिंसाको चरम उत्कर्षको उदाहरण भएको भन्दै सांसदहरुले महिला हिंसा घटनाका मुद्धा सहज रुपमा दर्ता समेत नहुने गरेको भन्दै त्यस्ता मुद्धा सहज रुपमा दर्ता गर्ने व्यवस्था मिलाउन समेत प्रदेश सरकारको ध्यानाकर्षण गराएका थिए ।

घटना घटेको लामो समयसम्म मुद्धा दर्ता नहुनु र विभिन्न सञ्चार माध्यमहरुमा समाचार प्रकाशन प्रसारण भए पछि मात्रै मुद्धा दर्ता गरिनु,स्थानीय तहका प्रतिनिधिहरु र स्थानीय प्रहरी प्रशासनले समेत घटनाप्रति चासो नदेखाउनु दुखद भएको सांसदहरुको गुनासो गरेका थिए ।

मंगलबारको बैठकमा सांसदहरुले कार्य व्यवस्था परामर्श समितिले निर्णय गरे बमोजिम सदन सञ्चालन गर्न माग गरेका छन् । प्रदेश सांसद रमा अर्याल र तारा जिसी ले कार्य व्यवस्था समितिले एउटा निर्णय गर्ने तर संसदमा अर्कै विषयमा छलफल हुने गरेको भन्दै कार्य व्यवस्था परामर्श समितिले तय गरे बमोजिम सदन सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

विगतमा कार्य व्यवस्था परामर्श समितिले तय गरे बमोजिमका एजेण्डामा छलफल हुने गरेको स्मरण गराउदै सांसद रमा अर्यालले पछिल्लो समय सरकार किन निरंकुश हुन थालेको हो भनि प्रश्न गरिन् ।

त्यसैगरी आजको बैठकमा विशेष समय लिएर बोल्दै नवलपरासीका सांसद बैजनाथ कलवार ले गौतम बुद्धको मावली स्थल रुपन्देहीको देवदह नभएर नवलपरासीको रामग्राम स्थित पण्डीतपुर भएको दाबी गरे ।

गौतम बुद्धको मावली स्थल इसा पुर्व ५०० वर्ष अगाडि कोलीय राजाद्धारा निर्मित रामग्राम स्तुप रहेको स्थान भएको विभिन्न सोध र अनुसन्धानले देखाएको दाबी गर्दै सांसद कलवारले विभिन्न समयमा भएका उत्खनन् र अनुसन्धान प्रतिवेदन समेत प्रदेश सभालाई हस्तान्तरण गरे ।

प्रदेश सभाको आजको बैठकमा यस अघिको बैठमा सांसदहरुले उठाएका प्रश्नहरुको भौतिक पुर्वाधार तथा विकास मन्त्री बैजनाथ चौधरी,उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीले जवाफ दिएका थिए ।

प्रदेश सभामा प्रदेशका मुख्य न्यायधिवक्ताको काम, कर्तव्य र अधिकार तथा अन्य सेवा र सर्तहरुको बारेमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश लोक सेवा आयोगको काम कर्तव्य र अधिकार सम्बन्धी विधेयकमाथी छलफल भएको थियो ।

बैठकमा सांसदहरु चेतनारायण अर्याल,तुलाराम घर्ती मगर,सहषराम यादव छलफलमा सहभागि भएका थिए ।

 

सम्बन्धित समाचार

रुपन्देहीमा सनसनीपुर्ण घटनाः १६ वर्षीया समीक्षालाई ज्युँदै जलाएर मारियो

बुटवल । समीक्षा भर्खर १६ को उमेरमा पाइला टेकेकी  थिइन । कक्षा १० पढ्दै गरेकी गर्दा  उनकाे बुबाले अर्को विवाह गरे ।बुबाकाे विवाहपछि अामाले सम्बन्ध विच्छेद गरेर हिँडिन् ।

बाबुले अर्को विवाह गरेपनि उनकाे सैतेनी अामा अहिले विदेशमा छन् । बुबा, हजुरवुवा-आमा , फुपू र सौतेनी आमाको छोरासँग बस्दैँ अाएकी थिइन् ।  घरमा परिवार भित्र उनको सम्बन्ध खासै राम्रो थिएन । यही क्रममा असार ९ गते बिहान करिब ३ बजेको समयमा उनी घरमै जलेको अवस्थामा फेला परिन्। त्यसपछि बुटवल हुँदै विभिन्न अस्पतालमा उनलार्इ पुर्‍याईयो । तर उनी  बाँच्न सकिनन् ।

रुपन्देहीको कञ्चन गाउँपालिका वडा नम्बर ५ , पिपरचाँपाकी १६ वर्षीया किशोरी समीक्षालाई आफ्नै बाबुले मट्टितेल तेल छरेर जलाउँदै हत्या गरेको आरोप लागेको छ । असार १० गते बिहान करिब ३ बजेको समयमा शरीरमा आगो लगे पछि समक्षलाई बुटवलको एक अस्पताल पछि पाल्पाको प्रभास अस्पताल र पछि किर्तिपुरको एक अस्पतालमा उपचारका लागि लगिएको थियो सोही क्रममा उनको असार २0 गते मृत्यु भएको थियो ।

मृतककी आमा माया थापा ठकुरीले इलाका प्रहरी कार्यालय सालझण्डीमा शुक्रवार किटानी जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो । मायाले मृतकका बुबा तेजबहादुर, हजुरआमा हरिकेला र फुपूहरू मधु ठकुरी थापा र अमृत ठकुरी थापाविरुद्ध किटानी जाहेरी दिएकी हुन् ।

समीक्षा स्थानीय पिसल्याण्ड भूपूसैनिक पब्लिक बोर्डिङ स्कुलमा १० कक्षा पढ्दै थिइन् । मावली घरमा बस्दै आएका उनी केही महिना अघि मात्र बाबुको घरमा आएकी थिइन् । समीक्षा जन्मिएको ९ महिना हुँदा उनका बुबाले दोस्रो बिहे गरेसँगै उनकी आमालाई कुटपिट गरेपछि आमा-छोरी माइत बस्न थालेको आमा माया थापाले बताइन् ।

‘घरमा बस्न थालेपछि कहिले कुटे, कहिले खान दिएनन् । कहिले स्कुलको फिस तिर्दिएनन् भनेर सधैँ रोएर फोन गर्थी’ समीक्षाकी आमा मायाले भनिन्, ‘घटना हुने दिन पनि बजारबाट साँझ फर्किँदा घर भित्र नपस् भनेर गालीगलौज गरेका रहेछन् ।’

मायाका अनुसार ९ कक्षा पास गरेपछि ‘मम्मी अब म बाबाको घरमा बसेर पढ्छु, तपाईँले मात्र खर्च धान्न सक्नुहुन्न’ भनेर समीक्षा बुवासँग बस्न थालेकी थिइन् । तर, परिवारका सदस्यले कुटपिट गर्ने, खाना खान नदिने, दुर्व्यवहार गर्ने र सौतेलो भाइले ज्यान मार्ने धम्की दिने गरेको स्थानीय अगुवा वम दर्लामीले बताए ।

‘समीक्षा हरेक विषयमा चासो राख्ने स्वभावकी थिइन्, उनले आमामाथि भएको हिंसा र अत्याचार बुझेकी थिइन्, जान्नेबुझ्ने भएपछि आमामाथि भएको हिंसा र अन्यायको बदला लिन घरमै बसेर लड्छु र अंश लिन्छु भन्न थालेपछि मार्ने योजना अनुसार मट्टितेल छर्केर आगो लगाइएको हो’ दर्लामीले भने ।

रुपन्देही प्रमुख श्याम ज्ञवालीले भने घटनाको प्रकृतिले हत्या जस्तो देखिएको तर, परिवार वा कसले भन्ने नसकिने बताए । उनले भने, ‘केही उपचारपछि धेरै कुरा आउन सक्छ भन्ने थियो तर, उनको मृत्यु भयो । तर, हामीले गम्भीर रूपमा लिरर अनुसन्धान गरिरहेका छौँ ।’

बुटवल इलाका प्रहरी प्रमुख डिएसपी डिलबहादुर मल्लले घटनाबारे गम्भीर छानबिन भई रहेको र छिट्टै सत्य तथ्य बाहिर ल्याने बताए । उनले भने–‘ ती किशोरी र परिवार बिच सम्बन्ध शौहार्दपुर्ण नभएको पाइएको छ । उनको मृत्युबारे अनुसन्धान भई रहेको छ अव छिट्टै सार्वजनिक गरिने छ । ’

Write a Comment

Events
Random Picks