वर्षाले देशभरको जनजीवन प्रभावित, भक्तपुरमा ३ काे मृत्यु, विभिन्न राजमार्ग बन्द
12-July-2018

बुधबारदेखि जारी वर्षाका कारण राजधानीसहित देशैभरको जनजीवन प्रभावित भएको छ। भक्तपुरमा अविरल वर्षापछि घरमाथिको ढिस्को खस्दा एकै परिवारका तीन जनाको ज्यान गएको छ।

भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ७, मजुवा टोलका ७० वर्षीय हिराबहादुर लामा, उनकी श्रीमती ६५ वर्षीया पानमाया लामा र उनीहरूकै नातिनी अढाई वर्षकी सम्पदा लामाको मृत्यु भएको हो।

टहरो घरमा सुतिरहेका घरमाथिको ढिस्को खसेर थिच्दा घटनास्थलमै उनीहरूको मृत्यु भएको भक्तपुरका प्रहरी उपरीक्षक हिमालय श्रेष्ठले नेपालखबरलाई जानकारी दिए। बालिकाकी बुवाआमा चाहिँ सोही ठाउँमा रहेको अर्काे पक्की घरमा सुतेकाले बचेको उनले बताए।

केही व्यक्ति घाइते भएर अस्पतालमा उपचार गराइहेको प्रहरीले जनाएको छ। उद्धार जारी रहेकाले धनजनको क्षतिबारे थप विवरण आउन बाँकी रहेको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

वर्षाका कारण वाग्मती र हनुमन्ते खोलामा अाएकाे बाढीका कारणा काठमाडौं र भक्तपुरका केही ठाउँ डुबानमा परेका छन्। हनुमन्ते खोलाको बाढीले भक्तपुर र मध्यपुर डुबानमा परेका छन्। जगाती र बाराही क्षेत्रका वस्तीमा बाढीको पानी पस्दा स्थानीय बासिन्दाकाे  विजाेग भएकाे छ।

यस्तै मध्यपुरथिमिका राधेराधे र कमेरोटार जग्गा एकीकरण आयोजना भित्रका पूरै बस्ती डुबानमा परेको छ। राधेराधे र त्यस क्षेत्रका बस्तीका साथै भाटभोटेनी सुपर मार्केटदेखि स्यामसुङ कम्पनीसम्मको क्षेत्र पूरै डुबानमा परेको छ।

जमीनबाट चारफिट माथिसम्म पानी जमेको छ। यहाँका पसल र व्यवसाय सबै बन्द भएका छन्। 

मध्यपुरथिमिमा अरनिको राजमार्ग खण्डका दुवै क्षेत्र डुबानमा परेका छन्। चारदोबाटोबाट बालकोट जाने बस्ती र गठ्ठाघरको तल्लो भेग डुबानमा परेको छ।

मध्यपुर अस्पताल क्षेत्र र आसपासका घर पनि डुबानमा परेको स्थानीय बासिन्दाले जानकारी दिएका छन्।

मनोहरा खोलामा आएको बाढी बस्तीमा पसेपछि जडीबुटीस्थित सुकुम्बासी बस्ती पूरै डुबानमा परेको छ। घर बाहिर निस्कन पनि नसक्ने र घरभित्रै बस्न पनि नसक्ने अवस्थामा परेको स्थानीय बासिन्दाले बताएका छन्।

विभिन्न राजमार्ग बन्द


अविरल वर्षापछि खसेका पहिराेका कारण अरनिको, बीपी राजमार्ग, पोखरा-बागलुङ लगायतका सडक भएका छन्।

अरनिको राजमार्गअन्तर्गत काभ्रेको बेनपास्थित पुन्यमाता खोलामा पानीको बहाव बढ्दा बनेपा हुँदै भक्तपुर चल्ने सवारीसाधन बिहीबार बिहानैदेखि रोकिएका छन्।

काभ्रेकै काभ्रे भञ्ज्याङ, मंगलटार, कालढुंगा र माम्टीमा पनि लेदो माटो सहितको पहिरो झरेका कारण बिपी राजमार्ग बिहानैदेखि बन्द भएकाे छ। पहिरोकै कारण सिस्नेरी (फाखेल-कुलेखानी) सडकखण्ड पनि ठप्प भएकाे छ।

भक्तपुरका दुवाकोट, दक्षिणी बेल्ट,राधेराधेबाट निकोसेरा जाने आउने सडक, लिवाली, सल्लाघारी, ब्रम्हयाणी, नगरकोट जाने नयाँबाटो लगायतका क्षेत्र पनि जलमग्न भएका छन्।

लिवाली जलमग्न हुँदा जगातीबाट कमल विनायक जाने सडक बिहीबार बिहान साढे ४ बजेदेखि नै बन्द भएकाे छ।

पहिरोका कारण मदन भण्डारी राजमार्गअन्तर्गत हेटौंडा-कुलेखानी सडकखण्ड पनि बिहानैदेखि बन्द भएको छ।

सिस्नेरीको सूर्यडाँडामा बिहीबार बिहान पहिरो खसेपछि हेटौंडाबाट काठमाडौं आउँदै गरेका तथा काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेका सवारीसाधन सडकमै रोकिएका छन्। यात्रुको बिजोग भएको छ।

पहिरो हटाउन प्राविधिकसहित डोजर त्यसतर्फ पठाइसकिएको र मौसम अनुकूल भएमा मध्याह्न १२ बजेसम्म यातायात सञ्चालनमा ल्याइने मकवानपुरका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताएका छन्।

उता पर्वत खण्डमा पहिरो खसेपछि बुधबार रातिदेखि पाेखरा-बागलुङ सडक बन्द भएको छ। पर्वतको मोदी गाउँपालिका–५, बाजुङमा पर्ने भ्याप्ले खोलानजिकै माथिबाट लेदो झरेका कारण सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जनाएकाे छ।

नेपाल खबर बाट

Write a Comment

Events
Random Picks