कर्फ्यु तोड्दै आन्दोलन गरेपछि जुम्ला तनावग्रस्त, १० प्रहरी र ५ आन्दोलनकारी घाइते
18-August-2015

जुम्ला, भदौ १ । स्वायत्त कर्णाली प्रदेशको माग गर्दै जुम्लामा भइरहेको प्रदर्शनले उग्ररुप लिएसँगै मंगलबार पनि कर्फ्यु आदेश जारी गरिएको छ ।

गत आइतबार साँझदेखि लगातार लगाइँदै आइएको कर्फ्यु आदेश मंगलबार पनि जारी रहेको हो । मंगलबार बिहान ६ बजेदेखि ८ बजेसम्म दुई घन्टाका लागि कर्फ्यु आदेश हटाएर पुनः लगाइएको स्थानीय प्रशासनले जनाएको छ ।

मंगलबार दिउँसो कर्फ्युको अवज्ञा गर्दै स्थानीयले प्रदर्शन गर्न खोजेपछि प्रहरी र आन्दोलनकारीबीच ठाउँ–ठाउँमा झडप भएको छ । झडपमा १० प्रहरी र ५ जना आन्दोलनकारी घाइते भएको जनाइएको छ । खलंगा बजार क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रदर्शनकारीले दिनहुँ कर्फ्यु तोड्नेदेखि हुलदंगा गर्ने र सरकारी भौतिक संरचनामा आगजनी गर्ने कार्य गरिरहेकोले कर्फ्यु फिर्ता लिन नसकिने प्रमुख जिल्ला अधिकारी दीपेन्द्रराज पौडेलले जानकारी दिए ।

गाउँमा प्रहरीचौकी घेर्नेदेखि साइनबोर्ड फयाक्नेसम्मको कार्य भएपछि गाउँमा रहेका प्रहरीचौकी खाली हुन थालेका छन् । १० दिनदेखिको बन्दको कारण जुम्लामा शैक्षिक संस्था, बजार, कलकारखानासहित हवाई सेवासमेत ठप्प बनेको छ ।

जिल्लामा खाद्यान्न अभाव देखिएको छ भने सरकारी कार्यालयदेखि जिल्लामा रहेको एकमात्र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको ओपिडि सेवासमेत बन्द रहेको छ ।

Write a Comment

Events
Random Picks