बाल मन्दिरको भवन जीर्ण पठनपाठन गराउन समस्या
17-August-2018


जक्सन डटकम
डडेल्धुरा, भदौ १ भदौ 
करीब तीन दशक पहिले जिल्ला सदमुकामा निर्माण गरिएको एक मात्र बाल मन्दिर मर्मत सम्भार नहुँदा पूर्णरूपमा जीर्ण भएको छ । 
नेपाल बाल संगठनअन्तर्गत बाल मन्दिरका नाममा चार कोठा र एक  बैठक कक्ष रहेको भवनको भित्री भाग चर्किनाका साथै छाना पनि भत्किएको छ ।
अपाङ्गता भएका सुस्तमनस्थितिका विद्यार्थी अध्ययन गरिरहेका यस बाल मन्दिर जीर्ण भएपछि आवासीयरूपमा पठनपाठन गराउन समस्या भएको छ । बाल मन्दिरमा अहिले सुस्तमनस्थितिका छ विद्यार्थी अध्ययन गरिरहेका छन् । आवाससमेत यसै बाल मन्दिरमै रहेकाले भवन कतिखेर भत्किने भन्ने चिन्ताले सताएको शिक्षक प्रेमराज पाठकले बताए ।

बाल मन्दिरमा कक्षा पाँचसम्मको पढाई हुने गरेकोमा पछिल्लो समय विद्यार्थी नहुँदा श्री पूर्णागिरि आधारभूत विद्यालयको सहयोगमा शारीरिक अपाङ्गता र सुस्तमनस्थिति  बालबालिकाका लागि विशेष कक्षा सञ्चालन हुँदै आएको छ । भवन जीर्ण भएकाले ती विद्यार्थीलाई अन्यत्रै स्थानान्तरण गर्ने तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको भनाइ छ  ।

सरकारले बाल मन्दिरलाई प्रतिविद्यार्थी रु चार हजार आवासीय तथा व्यवस्थापन खर्च दिँदै आएको  छ । सुस्तमनस्थिति हो भन्नका लागि प्रमाणपत्र बनाउन सर्वसाधारणको सहज नभएकाले विद्यार्थीको सङ्ख्या कम भएको शिक्षकको भनाइ रहेको छ ।

जन्मजात समस्या भए पनि सिर्जनात्मक तथा व्यवहारिक शिक्षा दिएर असल शिक्षालयको रुपमा स्थापित गर्नसके ओझेलमा परेका अबोध बालबालिकाको भविष्य पनि उज्वल हुने  सम्बद्ध व्यक्ति बताउँछन्। रासस)

Write a Comment

Events
Random Picks