मधेशीमाथि गोली चलाउन नमानेका तीन प्रहरीलाई हिरासतमा राखी यातना
19-August-2015

सप्तरी १ भदौ  मंगलबार विहान सप्तरीको भारदहमा प्रर्दशनकारीहरुमाथि गोली चलाउन नमानेका तीन जना मधेशी प्रहरीलाई प्रहरीले हिरासतमा राखि यातना दिएको छ । मधेशी मुलका प्रदर्शनकारीहरुमाथि कमाण्डले गोली हान्न आदेश दिए पनि मधेशी मुलका तीनै जना प्रहरीले गोली हान्न मानेका थिएनन् । उनीहरुले अरु प्रहरीले गोली हान्दा बन्दुक माथी तिर उठाइ दिएका थिए । मधेशी मुलका हवलदार गुलटेन मेहता अर्का हलवदार रोशन चौधरी र प्रहरी जवान बुद्धसेन मण्डलले मधेशी प्रदर्शनकारीमाथि गोली हान्न मानेका थिएनन् । उनीहरुलाई डीएसपी नारायण चिमोरियाको नेतृत्वमा गएको टोलीले मरणासन्न हुने गरी कुटपिट गरेको छ । तिनै जना मधेशी प्रहरीलाई हाल भारदह प्रहरी चौकीमा हिरासतमा राखिएको छ । उक्त प्रहरी चौकीमा कार्यरत प्रहरीले हुलाकी न्यूजलाई दिएको जानकारीअनुसार प्रहरीको कुटाइबाट घाइते भएका तिनै जना प्रहरीलाई उपचार गर्न दिइएको छैन । ती प्रहरीहरुलाई पत्रकार अथवा अन्य व्यक्तिहरुसँग पनि भेट गर्न दिइएको छैन । अन्य प्रहरी जवानले हुलाकी न्यूजलाई आग्रह गर्दै तत्काल मानवअधिकारकर्मीलाई प्रहरी कार्यालयमा पठाउन तथा ति प्रहरीहरुको अवस्था सार्वजनिक गराउनका लागि पहल गरिदिन आग्रह गरेका छन् ।  कसरी भयो घटना  भारदहमा मधेशी मोर्चाका कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रर्दशनमा थिए । गाडि रोकाउन खोज्दा समान्य विवाद भएको थियो । त्यसपछि प्रहरी हबलदार गनेश श्रेष्ठले ट्राफिक बस्ने बक्स पल्टाउँदै भागेका थिए ।  ट्राफिक बक्सभन्दा केही मिटर पर रहेका प्रदर्शनकारीहरु मुख दर्शक बने । हबलदार श्रेष्ठ भाग्दै गर्दा अन्य प्रहरीहरु अगाडि बढे । प्रहरीले आश्रुग्याँस प्रहार गर्न थाले पछि आन्दोलनकारीहरु अगाडि बढ्न थाले ।   त्यसपछि गोली हान्न आदेश भयो । अन्य प्रहरीहरुले गोली हान्न खोज्दा ति तीन जना मधेशी प्रहरीहरुले बन्दुक माथी तिर तेर्साइ दिएका थिए । करिब ३ राउण्ड हवाई फायर भएको थियो । त्यसपछि ति प्रहरी जवानलाई तछाडमछाड गर्दै अन्य प्रहरीहरुले प्रर्दशनकारीमाथि १७ राउण्ड गोली प्रहार गरे । जसमा पहिलो गोली राजिव राउतको कोखामा लागेको थियो । र, उनी त्यही ढलेका थिए ।  बाँकी गोली अन्य ७ जनालाई लाग्यो । गोली लाग्नेहरु भारदह एकका ४२ वर्षीय सुरेन्द्र मण्डल, दिपनारायण विश्वस, गोपाल मण्डल, विजय ठाकुर, १४ वर्षीय बालक अपक कुमार साह, २० बर्षीय सत्यनारायण राउत रहेका छन् । प्रहरीले ३२ राउण्ड आश्रुग्याँस प्रहार गरेका थिए । प्रर्दशनकारीले प्रहरी चौकीमा आक्रमण गरे : डीएसपी डीएसपी नारायण चिमोरियाले पत्रकारहरुलाई बोलाएर घटना बारे आफै जानकारी दिन खोजे । दिउँसो दुई बजेको आसपासमा पत्रकारहरुलाई बोलाएर चिमोरियाले प्रर्दशनकारीहरुले प्रहरी कार्यालयमाथि आक्रमण गरेको आरोप लगाए । उनले प्रदर्शनकारीहरुले भारतीय बन्दुक प्रयोग गरी प्रहरीमाथि गोलीसमेत चलाएको आरोप लगाए । पत्रकारहरुले प्रदर्शनकारीले गोली चलाउँदा खोइ त प्रहरी घाइते भएको प्रश्नमा डीसएपी चुप लागे ।

 

Source : http://www.yatradaily.com

Write a Comment

Events
Random Picks