कृषि चुन वितरण
24-September-2018

जक्सन डटकम
सल्यान,असोज ८ 
माटोमा ६५ प्रतिशतभन्दा बढी अम्लीयपन देखिएपछि कपुरकोट गाउँपालिकाले किसानलाई कृषि चुन वितरण गरेको छ । 

विशेष गरी तरकारी खेती भएको खेतबारीमा अम्लीयपन बढी देखिएको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय माटोको उर्बराशक्ति घट्दै गएकाले माटो उपचारका लागि ७५ प्रतिशत अनुदानमा कृषि चुन वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भीमबहादुर सेनले जानकारी दिए । कृषि चुन खरीद गरी किसानको २५ प्रतिशत लागत सहभागितामा ५४५ क्विन्टल कृषि चुन कृषि शाखामार्फत वितरण गरिएको हो । 

“किसानले अझै चुनको माग गरिरहेका छन्,” कृषि शाखाकाका प्रमुख पदम तिमिल्सिनाले भने । पछिल्लो समय गाउँपालिकाले किसानको खेतबारीको माटोको अवस्था पत्ता लगाउन माटो परीक्षण शिविर सञ्चालन गर्दै आएको छ । कृषि चुनको प्रयोगले बिग्रिएको र उत्पादन घटेको माटोमा सुधार आई उत्पादन बढ्छ भनेर किसानलाई सम्झाएपछि किसानले कृषि चुनको प्रयोग गर्न थालेकोे तिमिल्सिना बताउछन्। माटोको अवस्था हेरेर एक रोपनीमा ३५ देखि ५० किलोको दरले कृषि चुन प्रयोग गरिँदै आएको छ । रासायनिक मल तथा विषादीको प्रयोग तथा बाली चक्र नअपनाउँदा माटोमा अम्लीयपन बढ्न गई उर्बराशक्तिमा ह्रास आउने गरेको छ । (रासस)

Write a Comment

Events
Random Picks