अपहरण भएको भनिएका डा यादव पक्राउ
26-September-2018


जक्सन डटकम
लहान,असोज १० 
सिरहाको लहानबाट हिजो साँझ अपहरण भएको भनिएका डा सुभाष यादवलाई गएराति ११ बजे प्रहरीले फेला पारेको छ । सप्तरीको मल्हनिया–२ निवासी डा यादवलाई प्रहरीले सर्लाहीको नवलपुरमा फेला पारेको हो । 

अर्की युवतीसँग प्रेम विवाह गरेको थाहा पाएर उनकी श्रीमती र ससुरालीले त्यो सम्बन्ध छुट्याउनका लागि डा यादवलाई विगत एक महिनादेखि लहानमै राखिरहेका थिए । हिजो साँझ बजार घुम्न निस्किएका डाक्टर जीपमा चढेर एकाएक फरार भएपछि अपहरणको हल्ला चलेको थियो । 

सम्पर्क हुन छोडेपछि उनका आफन्तले अपहरणमा परेको हुनसक्ने भन्दै प्रहरीमा खबर गरेका थिए । अपहरणमा परेको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले डा यादवलाई सर्लाहीको नवलपुरमा चेकजाँचका क्रममा फेला पारेका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए । यादवसँगै उनलाई भाग्न सहयोग गर्ने एक सहयोगीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ । (रासस)

Write a Comment

Events
Random Picks