भैरहवा मालपोत अनलाइनमा
14-November-2018


जक्सन डटकम
भैरहवा,कात्तिक २८   
मालपोत कार्यालय भैरहवाले आजदेखि अनलाइनबाट सेवाग्राहीलाई सेवा प्रदान गर्न शुरु गरेको छ । 

आज एक कार्यक्रमको आयोजना गरी मालपोत कार्यालयले अनलाइन सेवाबाट आफ्ना काम शुरु गरेको जानकारी दिएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागका महानिर्देशक मुक्तिप्रसाद आर्चायले सो अनलाइन सेवाको सुभारम्भ गर्दै सरकारले लिएको रणनीतिअनुसार अगाडि बढेको बताए । 

राजश्व तथा सेवा प्रवाह र अभिलेखको सुरक्षा गर्नका लागि मालपोत कार्यालयले अनलाइन सेवा विस्तारमा रहेको बताउँदै महानिर्देशक आर्चायले अबका केही वर्षमा नेपालका सबै मालपोत डिजिटल सेवामा प्रवेश गर्ने जानकारी दिए । सिद्धार्थनगर नगरपालिकाका प्रमुख हरिप्रसाद अधिकारीले समयको मागअनुसार जनसरोकारका कार्यालयहरु परिमार्जित हुनुपर्ने भन्दै अनलाइन सेवालाई नगरपालिकाले सहयोग गर्ने बताए । 

मालपोत कार्यालय भैरहवाका प्रमुख शिवप्रसाद रेग्मीले जनतालाई छिटो र सरलरुपमा सेवा दिन आफू र आफ्नो टोली तयार भएको बताए । (रासस)

Write a Comment

Events
Random Picks