‘सके न्याय दिनुहोस्, नभए सुकेको घाउ नकोट्याउनुस्’
18-November-2018


जक्सन डटकम
काठमाडौँ, मंसिर २
उनी कुर्सीमा बसिरहेकी थिइन्। कपाल छरिएको थियो। परबाट हेर्दा अनुहार सामान्य लाग्थ्यो।
नजिकबाट नियाल्दा निशानहरू एकपछि अर्को भेटिन्छन्।
दाहिने कान च्यातिएको छ। नाक अलिकति थेप्चिएको। आँखा राम्ररी उघ्रिँदैनन्। टाउकामा टाँकाका खतैखत।
‘सरहरू आउनुभो, नानी पानी ल्याइदेऊ त !’ कुर्सीमा चुपचाप बसेकी उनलाई सासूले अह्राइन्।
उनी हतारिँदै भान्सा छिरिन्। आधा मिनेटमै दुई गिलास पानी लिएर आइन्।
‘बिस्तारै है नानी,’ सासूले भनिन्, ‘तिम्रो दाहिने हातले भर दिँदैन।’
‘लिनुस् त,’ उनले बिस्तारै पानी दिइन्। गएर फेरि कुर्सीमै बसिन्।
उनी हुन् ललितपुर गोदावरी–१ गोदामचौरकी २२ वर्षीया सुस्मिता (नाम परिवर्तन)। सामूहिक बलात्कारको चोट खपेर न्यायका निम्ति उनी लडेको आज एक वर्ष पूरा भएको छ। अदालतको आदेश उनको पक्षमा छ। तर आदेश पक्षमा भएर मात्र चोटमा मल्हम भने लाग्दो रहेनछ। दोषी पक्राउ नपरेकाले न्यायको रत्ति अनुभूति छैन।
सासू इन्दिरालाई छटपटी छ। न्याय नपाएको भनेर हारगुहार गर्छिन्।
मुद्दाको पहिलो चरणमा अपराध गर्नेहरू पुर्पक्षमा गएनन्। हिरासतबाटै छुटे। दोस्रो पटक अदालतले थुनामा राख्न आदेश त दिए, तर अभियुक्तहरू फरार छन्।
एघार महिना बितिसक्यो। अभियुक्त ‘फरार’ नै छन्।
घटनाबारे सोधीखोजी गरेपछि सुस्मिता आत्तिँदै बोलिन्, ‘मेरो नाम नलेख्दिनू ल।’
त्यो कालो रातपछि उनी अचेल कसैसँग खुलेर बोल्दिनन्।
सुस्मिताका श्रीमान र ससुरा एउटा सोलार कम्पनीमा काम गर्थे। सबैजना कम्पनीको क्वाटरमा बस्दै आएका थिए। उनी भने लगनखेलको एउटा डेरीमा काम गर्थिन्। सुखैले जीवन बिताइरहेको यो परिवारमा गत वर्ष मंसिर २ गते अन्धकार भित्रियो।
सुस्मिता बिहीबार माइत हिँडेकी थिइन्। शुक्रबार उनी काम गर्ने डेरीमा बिदा। मंसिर २ गते शनिबार लुभुस्थित माइतबाट सिधै डेरी गइन्।
साँझ घर फर्किँदै थिइन्। सासूले फोन गर्दा ‘आउँदैछु’ भनेकी थिइन्।
साँझ ६ बजेर २० मिनेटमा श्रीमानले फोन गर्दा उठेन।
श्रीमानलाई छटपटि भयो। झट्टै घरमा सुनाए।
‘घर आउँदैछु’ भनेकी उनी बीचमै कता हराइन्रु साँझपख केहीबेरमै सुस्मिता बेखबर बनेपछि वातावरण बिथोलियो। परिवार तनावमा पर्यो।
सुस्मिता खोज्न ससुरा र नन्द ज्वाइँ निस्किए। गोदावरी खोलाको पुल तरेर पारि पुगे। टौखेलसम्म पुगे। तर, बुहारी भेटिइनन्।
टौखेल चोकमा खटिएका दुई(तीन जना प्रहरीलाई हुलिया बताए। उनीहरूले भने, ‘भोलि १० बजे फोटो लिएर कार्यालय आउनू।’
घर फर्के। श्रीमान् पनि आए। सुस्मिताको पत्तो कसैले भेटेन। रात तनावमै बित्यो। कोही निदाएनन्। भोलिपल्ट झिसमिसै सुस्मिताको खोजीमा परिवार निस्कियो।
खोज्दै जाँदा बिहान ७ बजे अलि टाढाबाट पुलमुनि मुढोजस्तो ‘केही चिज’ देखियो।
तर त्यो मुढो थिएन। सुस्मिता नै लाशजस्तो भएर ढलिरहेकी थिइन्।
टाउकोबाट बगेको रगत सुकेर कट्कटाएको थियो। मुखभरि रगत। दाहिने हात भाँचिएको। दाहिने कान च्यातिएको। कम्मरमुनि लुगा थिएन। वरपरको जमिन मडारिएको। घटनास्थलका यी सबै प्रकृतिले ‘सामूहिक बलात्कार’को जनाउ दिन्थे।
मंसिरको दोस्रो रात। जाडो छिप्पिएको मौसममा रातभर ढल्दा सुस्मिताको शरीर कठ्यांग्रिसकेको थियो। जिउँदो या प्राणबिहीन भन्ने पनि यकिन थिएन।
आत्तिँदै परिवारले सुस्मितालाई लिएर घर आए। यतिबेलासम्म प्रहरी घरमै आइपुगेको थियो। प्रहरीकै भ्यानमा पाटन अस्पताल लगियो। ढुकढुकी बाँकी रहेछ। अत्यन्त चिन्ताजनक अवस्था भएकाले अस्पतालले अन्यत्रै लैजान सुझायो। सकभर न्युरो अस्पताल लैजान डाक्टरले भनेका थिए। गोजीमा पैसा नभएको परिवारले निजी अस्पताल ताक्न सकेन। प्रहरीसँगको सल्लाहमा टिचिङ अस्पताल पुर्याए।
टाउकाको एक ठाउँमा ३२ टाँका लगाइयो। अर्को ठाउँमा सात टाँका। भाँचिएको हात प्लास्टर गरियो। च्यातिएको कान सिलाइयो।
सुस्मिताको होस भने सात दिनपछि मात्र खुल्यो। उनले बलात्कारीहरू सम्झिँदै बर्बराइन्– आफ्नै गाउँठाउँका रघु सिलवाल, विशालध्वज कार्की र पवन कुँवर।
उनको यही किटानी बोलीका आधारमा सातदोबाटो प्रहरीले आरोपी पक्रियो। जबरजस्ती करणी र ज्यान मार्ने उद्योगमा मुद्दा चलायो।
तर, जिल्ला अदालत ललितपुरले पुस २६ गते ुपर्याप्त प्रमाण नभेटिएकोु भन्दै साधारण तारेखमा छोडिदियो। अस्पतालबाट डिस्चार्ज भएर घरमा आराम गरिरहेकी सुस्मिताका शरीरका घाउहरू सुक्दै थिए। पूरा परिवार न्यायको आशमा थियो। अदालतको आदेशले न्याय त परको कुरा, घाउमा झनै नुन छर्किदियो।

सासू इन्दिराका अनुसार प्रतिवादीहरू छुटेपछि गाउँमा बसिसक्नु भएन। पीडक पक्षले ‘हाम्रा छोरा–चेलालाई बलात्कारी आरोप लगाई थुनेकोु भनेर तर्साउन थाले।
'यताउता, घरगाउँ डुल्दा पीडकहरू आँखा तरेर हेर्थे,' इन्दिराले सुनाइन्, 'पीडक परिवारले यस्तो जघन्य अपराधविरूद्ध बोल्नुको सट्टा ‘हिसाब–किताब’ हुन्छ भन्न थालेपछि म अधैर्य हुन थालेँ। पीडकहरू खुलमखुल्ला भए। कहिले तिमीहरू र छोरालाई पनि मारिदिन्छौं भन्दै धम्की सन्देश गाउँलेमार्फत पठाउन थाले। यस्तो परिस्थितिमा मैले बुहारीलाई घरमा राख्न सकिनँ।’
सुस्मितालाई माइत लुभु पठाइदिइन्। छोरालाई पनि उतै बस्न भनिन्।
‘यत्रो बीस–पच्चीस वर्ष यही समाजसँग मिलेर बसेका थियौं। मेरा श्रीमानले समाजमा कुनै काम पर्दा भ्याइनँ भन्नुभएको थिएन,’ इन्दिरा भन्छिन्, ‘यो घटना भएपछि त गाउँले छिमेकीले हेर्ने दृष्टिकोण नै बदले।’
इन्दिरा र उनका श्रीमान डराउँदै बस्थे। घर बाहिर–भित्र गर्दा होस् पुर्याउँथे। एक महिना यसरी नै बित्यो।
अर्को महिना माघ २५ गते उच्च अदालत पाटनले मुद्दा उल्टायो। जिल्ला अदालतको आदेश ‘बेरित’को ठहर गर्दै उच्च अदालतले पीडकहरूलाई थुनामै राख्ने आदेश दियो। यो आदेशसँगै पीडकहरू फरार भए। अहिलेसम्म पक्राउ परेका छैनन्।
एक महिना, दुई–तीन गर्दै १० महिना बितेको छ। दिनसँगै खिस्रिक्क पर्दै गएको अनुहार लिएर यो परिवार न्याय आश गरिरहेको छ।
सुस्मिता घटना सम्झेर बिहान–बेलुकै आँशु झार्छिन्। पूरा तन्दुरुस्त नभएको शरीर लिएर बसिरहेकी उनका आँशु छचल्किँदा सासूको मन थामिँदैन।
परिवारको यो पीडा हिजोआज झनै बढेको छ। पीडकहरू गाउँमै हिँडडुल गरिरहेको ‘हल्ला’ गाउँमा छ।
‘घरमै छन् रे। पख न देखाइदिन्छौं भन्दै खबर पठाउँछन् घरमा। हामी अन्यायमाथि अन्यायमा बाँचिरहेका छौं,’ इन्दिराले दुःख बिसाइन्, ‘धेरै दुःख लाग्छ, हाम्रो अस्तित्व के होरु हाम्रो आवाज कसले सुन्नेरु कहिलेसम्म डराएर बस्ने ?’
स्थानीयका अनुसार अभियुक्तहरूमध्ये विशालध्वज कार्की टोले 'गुन्डा' हुन्। उनीसँग गोदामचौरको समुदाय नै त्रसित छ। उनको नामसँग अवैध असुली, कुटपिट र धाकधम्की जोडिन्छ।
‘यस्ता मान्छेको के भर, हामीले प्रहरीलाई भन्ने आँट पनि गरेका छैनौं,’ इन्दिराले भनिन्।
हुन पनि यतिका महिनासम्म पीडित परिवारको अवस्था बुझ्न प्रहरी पुगेको छैन। सोधीखोजी गर्दैन। कानुन कार्यान्वयन निकायको यो मौनतामा परिवारले बोल्ने ठाउँ देखेको छैन।

‘हामी पीडितलाई न्याय देऊ भनेर रोइरहेका छौं। पीडक परिवारले हामीलाई नथून भनेर रोइरहेको होला,’ इन्दिराले भनिन्, ‘प्रहरीलाई दोहोरो समस्या होला। तर हाम्रो पीडा त आफ्नै ठाउँमा छ नि१’
पत्रकार भने घरमा आउँछन्। सोधीखोजी गर्छन्। उनलाई झनै पीडा हुन्छ।
भन्छिन्, ‘सक्नुहुन्छ भने न्याय दिनुहोस्, नभए सुकेको घाउ कोट्याउन नआउनुस्।’
यति भन्दाभन्दै इन्दिराका आँशु थामिएनन्। छेउमै रहेकी सुस्मिता एकैपलकमा भक्कानिन्।
सुस्मितालाई पोहोर दसैंअघि मात्र इन्दिराले बुहारी बनाएर भित्र्याएकी हुन्। सुस्मिता त्यहाँको गाउँ छिमेकीसँग विस्तारै परिचित हुँदै थिइन्। उनलाई खासै फुर्सद नि हुन्थेन गाउँतिर आउजाउ गर्न। बिहान घरबाट निस्किने, साँझ फर्किने।
मंसिर २ गते साँझ पनि त्यही क्रम थियो। सासूलाई 'आउँदैछु' भनेर फोनमा कुराकानी टुंग्याएपछि सुस्मिता हिँड्दै थिइन्। बाटामा अपरिचित व्यक्तिहरू पछि लागे। आफ्नो गाउँ–ठाउँमै भएकाले फिक्री मानिनन्।
गोदावरी खोलानजिकै पुगेपछि भने उनको सातो गयो। पछ्याउनेमध्येको एक जनाले उनलाई हुत्याइदियो। उनी डिलमुनि झरिन्।
डिलमाथि आँखा पुर्याउन नपाउँदै धकेल्ने मान्छे हाम्फाल्यो। सुस्मिताले हारगुहार माग्दा उसले मुख थुनिदियो।
र भन्यो, ‘ए यो त ... बुढी पो रहिछ।’
उसले आफूसँग भएका साथीहरूको नाम लिएर के-के भन्यो।
‘पछि टाउकोमा ढुंगाले हाने। मैले होस गुमाएछु। अस्पतालमा होस खुल्दा बल्ल आफूमाथि के-के भयो भन्ने थाुभो,' सुस्मिताले भनिन्। होस गुमाउनुअघि सुनेका नाम नै उनले प्रहरीलाई बताएकी थिइन्।
प्रतिनिधिसभा निर्वाचन नजिकिएकाले प्रहरी प्रशासन र राज्यका निकाय त्यतै केन्द्रित थिए। सुस्मितामाथि भएको अन्याय यहीँनिर ओझेल पर्यो। महिला अधिकारकर्मीहरू धाउन थालेपछि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नै कार्यालयमा सुस्मितालाई डाके।
सुस्मिता उपचार हुँदै गरेको शरीरसहित आफन्तसँग टिचिङ अस्पतालबाट प्रधानमन्त्री कार्यालय पुगिन्। देउवाले न्याय हुने विश्वास दिलाए। औषधि-उपचारबापत तीन लाख रुपैयाँ दिने बताए।
‘यो कुराको समाचार गोरखापत्रमा छापियो। तर हामीले उपचार खर्च पाउन सकेका छैनौं,’ इन्दिराले भनिन्।
यता सुस्मिताको अहिले पनि उपचार भइरहेको छ। औषधिकै सहारामा छिन्। दाहिने हात राम्रोसँग चल्दैन। टाउकोको चोट र त्यो घटनाले मष्तिष्कमा गहिरो आघात छ। डाक्टरले दुई वर्षसम्म अौषधि खान भनेका छन्।
‘मरेर बाँचेकी छ। खै उसको पीडा कसले सुनिदिने,’ इन्दिरा भन्छिन्।
यसो भन्दै गर्दा उनको परिवारले सरकारसँग अनुरोध पनि गरेको छ– पीडक थुना परून्। अदालतको आदेश कार्यान्वयन होस्। यसरी अपराध गर्नेहरूबाट घरिघरि धम्की सुन्न नपरोस्।
प्रहरीले सोधीखोजी नगरेको भन्ने पीडित परिवारको आरोपमा प्रहरीको केही भनाइ छैन। भन्छ– हामी अभियुक्त खोजिरहेका छौं।
‘परिवारको कुरा के हो हामीलाई जानकारी भएन। हामी मुद्दाको फलोअप गरिरहेका छौं,’ ललितपुर परिसर प्रमुख एसएसपी रबिन्द्रसिंह धानुकले भने।
यो घटना हुँदा आफू ललितपुर जिल्ला प्रहरीमा नभएको भन्दै धानुकले मुद्दा शाखाका डिएसपी नारायण चिमोरियासँग बुझ्न अनुरोध गरे।
चिमोरियासँग बुझ्न खोज्दा उनले भने ‘म आउनुभन्दा अगाडिको मुद्दा रहेछ। म बुझेर मात्र यसबारे भन्न सक्छु।’
यो भनाइबाट स्पष्ट हुन्छ, गोदामचौकको सामूहिक बलात्कार घटना मुद्दाबारे प्रहरी अधिकृतहरू अद्यावधिक छैनन्।

साभार : सेतोपाटी

Write a Comment

Events
Random Picks