जिप्रका कास्कीको छतबाट हामफालेर आत्महत्या प्रयास
4-September-2015

पोखरा, १८ भदौ । अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक थुनुवा युवाले हाम फालेर आत्महत्याको प्रयास गरेका छन् । एक अमेरिकी विदेशी महिला बेपत्ता रहेको घटनाबारे अनुसन्धानको लागि हिरासतमा रहेका कास्की धिताल ३ का ३२ बर्षिय नारायणप्रसाद पौडेलले शुक्रवार दिउँसो आत्महत्याको प्रयास गरेको कास्की प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालयको माथिल्लो तल्लामा रहेको सोधपुछ कक्षबाट हामफालेका उनको अवस्था गम्भिर छ । टाउकोमा गहिरो चोट र दुवै खुट्टा भाँचिएको उनको अहिले पोखराको मनिपाल शिक्षण अस्पतालमा उपचार भैरहेको छ । ‘टाउकोको शल्यक्रिया गर्नुपर्ने चिकित्सकले बताएका छन्’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायव उपरिक्षक गोविन्द अधिकारीले भने – दुवै खुट्टा पनि  फ्याक्चर भएकाले उपचारकै क्रममा छौं ।’                            

यही अगष्ट ६ तारिखदेखि बेपत्ता अमेरिकन नागरिक २५ वर्षकी दहलिया यहियाको बिषयमा सोधपुछको लागि प्रहरीले विहिवार पक्राउ गरी हिरासतमा राखेको थियो । शुक्रवार सोधपुछ कक्षमा खाना खान हत्कडी खोलेका बेला पौडेल झ्यालबाट हामफालेको अधिकारीले जानकारी दिए । शौचालय जान्छु भनेपछि प्रहरीले उनलाई हत्कडी खोलेर  छतमा रहेको शौचालय जान भने पछि उनी हामफालेको अधिकारीले जानकारी दिए । ‘खाना पस्किसकेको थियो उनी भागै नबसी ट्वाईलेट जान्छु भन्न थाले । लगत्तै दौडेर हामफालिहाले ।’ अधिकारीले भने । 

सिकागोकि ति रोटरियन महिला भुकम्प प्रभावित क्षेत्रमा राहत वितरमा सक्रिय थिईन् । उनको आफन्त मो यहियाले ईमेलमार्फत पोखराका सञ्चारमाध्यमलाई जानकारी गराउँदै खोजीमा सहयोग गर्न आग्रह गरेका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ । तर उनको हत्या भएको निश्कर्षमा प्रहरी पुगिसकेको स्रोत बताउँछ । ‘अनुसन्धानका क्रममा पौडेल खुल्दै थिए, अचानक हामफाले ।’ उनलेभ ने– अहिले नै सबै भन्नसक्ने अवस्था छैन ।’ उनको कपडा पौडेलको घरमा फेला परेकाले पनि प्रहरीलाई अनुसन्धानमा सहज भएको हो । 

घटनापछि कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर राउत ,पश्चिम क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरिक्षक पंकज श्रेष्ठ, गण्डकी अञ्चल प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक वलराम शर्मा पौडेल जिल्ला प्रहरी परिसरमा पुगेका थिए ।  

Write a Comment

Events
Random Picks